सञ्जिला तामाङ
रामेछप ,असोज ७ । आफ्नै पत्नी इन्द्रा खत्रीलाई ढुङ्गाले हिर्काएर हत्या गर्ने रामेछाप नगरपालिका ४ डुम्रिबोटका रमेशकुमार विकलाई सर्वस्व हरण सहित आजिवन काराबासको सजाय भएको छ । जिल्ला अदालत रामेछापले उनलाई सर्वस्व हरण सहित जन्मकैदको फैसला सुनाइएको हो ।
जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटीको इजालशले बुधबार सो फैसला सुनाएको हो । अदालतले विकलाई सर्वस्वहरणसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार मनोजकुमार श्रीवास्तवले जानकारी दिए । श्रीमतीको हत्या गरेको अभियोमा उनकाविरुद्ध ०७२ भदौ २ गते मुद्दा दर्ता भएको थियो ।
नेपाली सेनामा कार्यरत विकले पत्नी इन्द्रा खत्रीको ०७२ साउन २२ गते साँझ मन्थली नरपालिका–१ को ठोक्रेखोला जंगलमा ढुङ्गाले अनुहारमा हिर्काएर कुटपिट गरी घाटीमा सलले बाँधेर हत्या गरेका थिए । उनले १४ महिनाकी छोरी रोजिना विकलाई जिउँदै निमोठेर जङ्गलमा फालीदिएका थिए । २३ गते दिउँसो वस्तु चराउन गएका गोठालाले जङ्गलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारेका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेकोमा प्रहरी टोली जङ्गलमा पुगी खोजी गर्दा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो ।
सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी गहरसिंह खत्रीकी छोरी इन्द्राले रामेछाप नगरपालिका ४ डुम्रिबोटका २६ वर्षीया रमेश विकसँग २०७० असार १३ गते विवाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला दोस्रो विवाह गरेका थिए ।
थप समाचार ….
प्रकाशित मितिः २०७२ असोज ७ गते बिहीवार
Comment Here!