कैलालीमा आत्महत्या गर्नेमा महिला बढी
प्रत्येक तीन दिनमा एकजना महिलाद्वारा आत्महत्या
खेमा बस्नेत
कैलाली, असोज ७ । कैलाली जिल्लामा महिला आत्महत्या दर बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार कैलालीमा औषत प्रत्येक ३ दिनमा एकजना महिलाले आत्महत्या गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार विगत ४ वर्ष यता कैलाली जिल्लामा ७ सय ९७ जनाले आत्महत्या गरेका छन् । ती मध्ये ४ यस ६६ जना महिला छन् ।
पुरुषको तुलनामा महिलाको आत्महत्या दर बढ्दो छ । ४ वर्षमा संकलित तथ्याङक अनुसार औषत ३ दिनमा एक जना महिलाले र प्रत्येक ४ दिनमा एक जना पुरुषले आत्महत्या गर्ने गरेका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०६८/६९ मा २०१ ,२०६९/७० मा २०२, २०७०/७१ मा २३१ र २०७१/७२ मा १ सय ६३ जनाले आत्महत्या गरेका थिए ।
यी मध्ये आव २०६८/६९ मा १ सय १९, २०६९/७० मा १०४, २०७०/७१ मा १३९ र २०७१/७२ मा १०४ जना महिला रहेका छन् । आत्महत्या गर्ने महिलामध्ये आर्थिक वर्ष २०६८/६९ मा झुण्डिएर ७४ जना र विष सेवन गरेर ४४ जना र आगो लगाएर १ जनाले महिलाले आत्महत्या गरेका छन् । त्यसैगरी २०६९/७० मा झुण्डिएर ५७, विष सेवन गरेर ४७ जनाले आत्महत्या गरेका छन् ।
२०७०/७१ मा झुण्डिएर ९०, विष सेवन गरी ४८ र आगो लगाएर १ जनाले आत्महत्या गरे भने २०७१/७२ मा झुण्डिएर ५६ र विष सेवन गरेर ४८ जना महिलाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको २ महिनामा ११ जना महिलाले आत्महत्या गरेका छन् ।
कैलाली जिल्ला प्रहरी कार्यालायका प्रहरी नायव निरीक्षक हरिसिंह धामीका अनुसार २० देखि ५० वर्षको उमेर समूहले बढी आत्महत्या गरेको देखिन्छ ।
‘चार वर्षको तथ्याङक हेर्दा २० देखि ५० वर्षको उमेर समुहले बढी आत्महत्या गरेको देखिएको छ’ अनुसन्धान अधिकृत समेत रहेका प्रहरी नायव निरीक्षक हरिसिंह धामीले भने ‘यी मध्ये महिला बढी रहेका छन् ।’ गरिबी, घरेलु हिंसा, असफल प्रेम सम्बन्ध, लगायतका कारण आत्महत्या गराउँनमा जिम्मेवार रहेको अनुसन्धान अधिकृत धामीको भनाई छ ।
ओरेक नेपाल कैलालीका संयोजक विनु रानाले घरेलु हिंसा जस्तै, मानसिक र शारिरीक यातना सामाजिक कारण जस्तै, अस्वस्थ प्रेम सम्बन्ध, चारित्रिक आरोप, गरिवी,अशिक्षा/जनचेतनाको कमी, मादक पदार्थ सेवन जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइएको बताउनुभयो ।
प्रकाशित मिति २०७२ असोज ७ गते बिहिवार
Comment Here!