महिला खबर
काठमाडौं, असोज ८ । फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल ओमेन नेपाल र गरिबी निवारणकोषको संयुक्त आयोजनामा काठमाडौंमा भएको दक्षिण एसियाली उद्यमी महिला सम्मेलनमा भाग लिन आएका बङ्गलादेश, भुटान, श्रीलङ्का, म्यानमार,नेपाल लगायतका देशहरूका उद्यमी महिलासँग महिला उद्यमशीलता, चुनौती र सम्भावना विषयमा उनीहरूसँग महिला खबर डट कमले गरेको कुरा कुराकानी ।
सर्वदेश स्वस्थ सेवा लिमिटेड श्रीलङका : निमानी शाह कान्ती कुमारी
श्रीलङकामा महिला हिंसाले जरो गाडेको छ । महिला हिंसाको कुनै सिमाना छैन्, सर्वत्र छ । घरभित्र आफनै बुबाबाट बलात्कृत भएका घटनाहरू समाजमा देखिरहेका छौं । यस्तो स्थितिमा महिला सशक्तिरणका लागि आर्थिक सशक्तिरण सबैभन्दा महत्वपूर्ण पाटो हो ।
उद्यमशीलता विकासमा हामी लागि रहेकाछौं, तर श्रीलङकामा उद्यमी महिलाका लागि सुरक्षा प्रत्याभूति नहुदाँ लगानीको वातावरणमा कठिनाई छ । महिलालाई व्यवसाय सुरुवात गर्न गाह्रो छ । घरपरिवारले साथ नदिँदा बीच मै छोड्नु पर्ने बाध्यता पनि छ ।
समाजले हेर्ने दृष्टिकोण सकारात्मक नहुदाँ घरपरिवारवाट सहयोग मिल्न यहाँका महिलालाई गाह्रो छ । लगानी र उद्यमशीलतासँग सम्बन्धित उचित नीति, नियमको अभावकाकारण पनि महिला उद्यमशीलताको क्षेत्रमा आउन सकिरहेका छैनन् । बजार व्यवस्थापनको पनि समस्या छ ।
उद्यमी महिलाका उत्पादनलाई समाजले सहज रुपमा स्वीकार्न सकिरहेका छैनन् । उत्पादन हेरेर खोट लगाउनेहरूको कमी छैन । तर, आलोचनाले हामीलाई कहिले विचलित गरेन । हामी अझ हौसिएका छौं ।
तारायाना फाउण्डेसन भुटान : चिम्मी वाङ्दी
म भुटानको तीन सय गाँउमा महिला उद्यमशीलता विकास कार्यक्रममा काम गरिरहेकी छु । महिला उद्यमशीलताको क्षेत्रमा प्रगतिशिल देश हो भुटान । भुटानमा महिला सशक्तिरणका थुप्रै उदाहरणहरू छन् । भुटानका केही शिर्ष उद्यमी पनि महिलानै छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा महिला निर्णायक तहसम्म सहभागिता छन् । महिला उद्यमशीलता विकासका लागि थुप्रै संघ, संस्थाहरूले भुटानमा काम गरिरहेका छन् ।
भुटानमा विना धितो लगानीको सुविधा, सकारात्मक पारिवारिक र सामाजिक वातावरण लगायतका सुविधा सरकारी तहवाट उपलब्ध छ ।
भुटानमा समस्या घरपरिवार र समाजबाट छैन, समस्या महिलाको सोचमा छ । गर्न सक्छु भन्ने हिम्मत, आत्मविश्वास र निरन्तर अभ्यास भए नसकिने केही छैन । महिलाले जे पनि गर्न सक्छन् र गरिरहेका छन् । महिलाले कहिले पनि म कमजोर छु भन्ने सोच मनमा पाल्नु हुँदैन ।
जेण्डर इकुवालिटी नेटवर्क म्यानमार : डा.सेन सुई
म्यानमार महिला सशक्तिकरणकै कारण विकास भएको देश हो । यहाँका महिला शिक्षित र आत्मनिर्भर छन् । म्यानमारमा पुरुषसँग सहकार्य गर्दै उद्यमी महिलाले कृषिदेखि व्यवसाय क्षेत्र हाकिरहेका छन् । म्यानमारमा उद्यमी महिलाका लागि प्रशस्त सम्भावना छन् ।
बैकिङ क्षेत्रबाट लगानीको सुबिधा, साना तथा घरेलु व्यवसायीका लागि तालिम, स्रोतसाधनमा महिलाको पहुँच बढाउन गोष्ठी, छलफल पनि म्यानमारको सरकारले गरिरहेको छ । ग्रामिण भेगका महिलाका लागि विना धितो ऋणको व्यवस्था छ ।
कृषि, हस्तकला र घरेलु व्यवसायमा महिला निरन्तर लागि परेका छन् । बजारीकरणका लागि जेण्डर इकुवालिटी नेटवर्क लगायतका संस्थाले उद्यमी महिलाका लागि पसल सञ्चालनमा ल्याउन लगानी गरेका छन् ।
म्यानमारमा हुने सभा, सम्मेलनमा उद्यमी महिलाले आप्mना उत्पादन बिक्री वितरण गर्छन् । अहिले उद्यमशीलताको क्षेत्रमा थुप्रै महिला नयाँ सोच र उत्साहका साथ लागिरहेका छन् ।
मानुसिरजन्नो फाउण्डेशन बङलादेश : सहिन अनाम कार्यकारिणी निर्देशक
बङ्लादेशमा महिलालाई बोझको रुपमा लिइन्छ । मानसिक, शारीरिक र सामाजिक हिंसाबाट महिला अझै पिडित छन् । अशिक्षा, विभेद लगायत थुप्रै समस्या भोग्न बाध्य छन् बङलादेशका महिला । यस्तो स्थितिमा उद्यमशीलताबाट थुप्रै महिलाले जीवन परिवर्तन गरेका छन् ।
बङ्लादेशका महिलाले साना तथा घरेलु उद्यममा लगानी गर्दै घरपरिवार धानिरहेका छन् । अहिले बाङलादेशमा उद्यमी महिला सक्षम, सबल र आत्मनिर्भर हुँदै छन् । यहाँ सहकारीबाट ऋण लिएर कैयौँ महिलाले आफनै घरमा व्यवसाय सञ्चालन गरेका छन् ।
आर्थिक सबलीकरणले आत्मविश्वास बढाँउछ र यो यहाँका महिलामा प्रष्ट देख्न पाइन्छ । घर व्यवहार सञ्चालनदेखि परिवारमा निर्णय लिन सक्ने पहुँज बङलादेशका महिलामा बढेको छ ।
त्यसैगरी उद्यमशिलता विकास गर्न बैैकिङ क्षेत्रबाट विना धितो ऋणको व्यवस्था, सहज ऋणको सुविधा, न्यून व्याजको व्यवस्था पनि बाङलादेशमा छ । बङ्लादेशमा सरकारी तहबाट सिपमुलक तालिम र व्यवसाय सञ्चालन गर्न लगानीको व्यवस्था पनि छ ।
फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल ओमेन नेपाल : बिना प्रधान
नेपालमा उद्यमी महिलाको अवस्था पहिले भन्दा निकै परिवर्तन भएको छ । डर र लाजभन्दा माथि उठेर उद्यमी महिलाले आत्मविश्वासका साथ जविन बिताइरहेका छन् ।
आफनै मिहेनतले उद्यम सुरु गरी अहिले राम्रा उद्यमी बनेका १५ जना नेपाली उद्यमी महिला यस सम्मेलनमा छन् । जुम्लादेखि धरान, नुवाकोटदेखि पर्वतसम्म उद्यमशीलता विकासका लागि व्यवसायिक तालिमको व्यवस्था यस संस्थाबाट महिलाका लागि भएको छ ।
व्यवसाय सुरुवात गर्नु ठूलो कुरा होइन, निरन्तरता दिनु ठुलो हो । कुनै पनि व्यवसाय सुरुवात कसरी गर्ने, आवश्यक पर्ने सिप, तालिम प्रदान गरी व्यक्तित्व र नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा हामी लागि रहेका छौ । आत्मनिर्भरताले नै आत्माविश्वास बढाउँछ भन्ने सोच अहिलेको महिलामा छ । अहिले बैंक तथा बित्तिय संस्थाहरू पनि निकै सकारात्मक भएका छन् ।
उद्यमी महिलालाई आर्थिक कारोबारको विषयमा विश्वास गर्न गाह्रो मान्ने बैंकका कर्मचारीहरूको सोचमा पनि परिवर्तन आएको छ । अहिले पुरुषलाई भन्दा महिलालाई बढी विश्वास गर्छन्, किनकि आर्थिक लेनदेनमा महिला बढी जिम्मेवार र इमान्दार छन् ।
सरकारी तहवाट उद्यमी महिलाको आर्थिक सशतिmकरणका लागि कर छुट, सहुलियत व्याज, विना धितो ऋण प्रवाह लगायतका व्यवस्था हुन जरुरी छ ।
प्रस्तुति: कविता श्रेष्ठ
प्रकाशित मिति २०७२ असोज ८ गते शुक्रवार
Comment Here!