जमुना वर्षा शर्मा
पोखरा। भारतीय गोर्खा भूपू सैनिकका श्रीमतीले पेन्सन पाउनबाट बञ्चित भएका छन् । श्रीमानको मुत्युपछि भारत सरकारले अनेकौं बहाना गर्दै श्रीमतीहरूलाई पेन्सन दिनमा रोक लगाएको छ । झण्डै ५० हजार महिला श्रीमानकाे निधनपछि विविध कारणले पेन्सन पाउनबाट बञ्चित भएकाे नेपाल भारतीय गोर्खा भूपू सैनिक कल्याणकारी महिला समितिका अध्यक्ष दिलमाया गुरुङले बताउनुभयाे ।
सन् १९९० भन्दा पहिले भारतीय सेनामा भर्ती भई पेन्सन प्राप्त गरेका भूपूकापरिवारको डकुमेन्टमा नेपालको नागरिकता प्रमाण पत्र लागू गरिएपछि अन्यायमा परेको नेपाल भारत भूतपूर्व सैनिक संघर्ष समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संघर्ष समितिलेका अनुसार ‘तत्कालिन समयमा गुरुङ मगर जातिलाई सेनामा सहजै भर्ना लिइन्थ्यो । तर, अन्य जातजातीका व्यक्तिहरूले पनि आफ्नो परिचय लुकाएर भारतिय गोर्खा सेनामा भर्ती भएका थिए । त्यो समयमा कुनै कागजात चाहिदैनथ्यो । त्यसैले नाम थर उमेर अर्को लेखि भर्ती भए । उनीहरूको निधनपछि सैनिक श्रीमतीलाई श्रीमानको नाम थरसँग नमिलेको भन्दै भारतीय सरकारबाट विविधकारण देखाएर पेन्सनबाट बञ्चित गराइएकोे छ ।’
नेपाल भारत गोर्खा भूपू सैनिक कल्याणकारी समितिका अध्यक्ष गज बहादुर गुरुङ भन्नुहुन्छ–‘तत्कालिन समयमा विशेष परिस्थिति अनुरुप गरिएको बहुविवाहलाई मान्यता दिएर समयमानै ‘पार्ट २ अर्डर’ गर्नुपर्छ, बहुविवाहको नाममा पेन्सन रोक्न पाईदैन यो अन्याय हो ।’
‘धेरै पुरान भूपूहरूको जोइन्ट फोटो नभएको र पि.पि.ओ (पेन्सन पेईङ्ग अर्डर) समेत प्राप्त नभएको हुँदा पेन्सनपट्टा र डिस्चार्ज सर्टिफिकेटलाई नै फाइनल डकुमेन्ट मानी पेन्सन दिनु पर्ने, फोटो नभएकाकारण पहिचान गर्न मुस्किल भए फोटो सहित गा.वि.स को सिफारिसलाई मान्यता दिनुपर्ने गुरुङ्गको तर्क छ ।
पुतली बजार नगरपालिकाका स्याङजाका भारतीय भूपू सैनिक बेल बहादुर थापाको २०६९ साल मंसिरमा निधन भयो । उनकी श्रीमति देवि जि.टिले श्रीमानको पेन्सनका लागि पेन्सन क्याम्प धाउँदा धाउँदा २०७२ बैशाखमा निधन भयो ।
बेलबहादुरले थापा लेखाए तर, उनकी श्रीमतिको जि.टी थर थियो । ‘विभिन्न कागजपत्र मागियो सबै पेस गर्दा पनि पेन्सन दिइएन’बेलबहादुरका जेठा छोरा कुल बहादुर जि.टिले भने ‘हामीले ३ वर्षदेखि लड्यौ तर, आमाको बैशाखमा निधन भयो बुबाको पेन्सन थाप्ने आमाको रहर पुरा भएन ।’
नेपाल भारतीय गोर्खा भूपू सैनिक कल्याणकारी महिला समितिका अध्यक्ष दिलमाया गुरुङ गोर्खा भूपू सैनिकका श्रीमतीलाई भारत सरकारले विभेद गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘पहिला बीर गोर्खाली भन्दै घरैबाट भर्तीका लागि तानेर लगे । तत्कालिन समयमा नपढेका सोझा साझा युवाले आफ्नी श्रीमतीको घर गाउँमा बोलाउने नाम थर लेखाए, नेपाली र भारतीयको शब्द उच्चारण नमिल्दा समेत ‘दिल’ भन्दा ‘डिल’ लेखि दिएपछि उकार, थर र उमेर मिलेन भन्दै पेन्सनबाट बञ्चित गराए ।’
अहिले भुपू सैनिकका श्रीमती र उनका परिवारलाई जिविकोपार्जनका लागि निकै सास्ती भएको गुरुङको भनाई छ । अहिलेसम्म राज्यले यसबारेमा गम्भिर भएर पहल गरेको छैन । राज्य स्तरबाटै कुटनीति पहल थाल्नुपर्ने उहाँ बताउनु हुन्छ । अहिले नेपालमा झण्डै ४ लाखको हाराहारीमा पेन्सन पाउने भूपू सैनिक भएको गुरुङले बताउनु भयो ।
Comment Here!