परिवार नियोजन : यो बोझ पनि महिलालाई


प्रकाशित मिति :2015-09-27 13:17:24

घरको हेरचाहदेखि सन्तान हुर्काउनुपर्ने जिम्मेवारी बोकिरहेका महिलालाई परिवार नियोजनको बोझसमेत थपिने क्रम बढ्दै गएको छ ।
पर्वत पोर्तेल
झापा चन्द्रगढी– १ कि मालती सहनीले एक छोरा र दुई छोरी जन्मिएपछि ‘अब रहर पुग्यो’ स्थायी बन्ध्याकरण गर्नुस् भन्दा श्रीमान्ले मानेनन् । उल्टै हप्काएर भने, ‘बन्ध्याकरण–सन्ध्याकरण जे गर्नु छ आफैँ गर ।’ यसो नगर्दा कतै अनिच्छित गर्भ पो बस्ने हो कि भनेर उनी सङ्शकित भइन् । अन्ततः मालतीले छिमेकी स्वास्थ्य स्वयम्सेविकाको सल्लाहमा स्थायी बन्ध्याकरण मिनील्याप गरिन् । ‘श्रीमान्ले गर्नै मानेनन्,’ उनले भनिन्, ‘आफू काम गर्न बाहिरफेर हिँडिरहनुपर्छ भनेर मलाई नै गर्न भने ।’

चन्द्रगढीकी प्रमिला मुखियाको अवस्था पनि उस्तै छ । तीन छोरीपछि छोरो जन्माएर तीन वर्षअघि उनले बन्ध्याकरण गरेकी हुन् । ‘श्रीमानलाई गर्नुस् न भन्दा त“ आफैँ गर भने,’ प्रमिलाले भनिन्, ‘त्यसपछि घरसल्लाहमै बन्ध्याकरण गरेँ । अहिले ढुक्क छ ।’

नेपाल परिवार नियोजन सङ्घ झापा शाखा र मेरी स्टोप्स सेन्टर बिर्तामोडले सार्वजनिक गरेको विवरणले पनि महिलाको तुलनामा स्थायी बन्ध्याकरण गर्न पुरुष अनिच्छुक रहेको देखाउँछ । नेपाल परिवार नियोजन सङ्घ झापाकी ‘फिल्ड अफिसर’ सुजन काफ्लेका अनुसार पुरुषभन्दा महिलाले बढी बन्ध्याकरण गर्ने गरेका छन् । श्रीमानले काम गरेर ख्वाउनुपर्ने भएकाले गाह्रो हुने भन्दै बन्ध्याकरणमा महिलालाई बाध्य पार्ने गरेको पाइन्छ ।

काफ्लेका भनाइमा श्रीमतीलाई ‘तिमी नै गर’ भनेर पुरुषहरू तर्किने गर्छन् । श्रीमान्बाटै बन्ध्याकरण गर्न बाध्य पारिने महिलाले प्रतिकारको साहस गर्न सकेको देखिन्न । ‘श्रीमानसँग झगडा गरेर पनि अर्थ छैन,’ ज्यामिरगढीकी मायावती राजवंशीले सुनाइन्, ‘बरु सहेर बस्यो ढुक्क ।’ जनचेतनाको अभावले पनि महिलालाई बन्ध्याकरण गर्न बाध्य पारिने गरेका उदाहरण छन् । एमाओवादी झापाकी अध्यक्ष धर्मशिला चापागाईं बन्ध्याकरण गर्न महिलालाई बाध्य पारिनु गलत भएको बताउँछिन् । ‘आफ्नो ज्यानको विषयमा महिलालाई आफैँ निर्णय लिन पाउने अधिकार छ,’ चापागार्इंले भनिन्, ‘पुरुषले जबर्जस्ती गरेर बाध्य गर्नु कानुनको समान संरक्षण पाउने हकविपरीतको काम हो ।’

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशि भट्टराईका भनाइमा गत वर्ष तीन हजार तीन सय २५ महिलाले स्थायी बन्ध्याकरण गरे भने सोही अवधिमा ५० पुरुषले मात्रै यो सेवा लिएका थिए । ‘महिलाको तुलनामा पुरुषको सङ्ख्या अति नै न्यून हो,’ भट्टराईले भने । उनका अनुसार पुरुषहरू बाहिर काम गर्न हिँड्नुपर्ने भएकाले बन्ध्याकरण गर्नुहुन्न भन्ने परम्परावादी सोच छ । ‘बन्ध्याकरणपछि ढाड दुख्ने, काम गर्न नसक्ने र पुरुषत्व पनि ह्रास भएर जान्छ भन्ने भ्रम छ,’ उनले भने, ‘तर, त्यो सत्य होइन ।’

भट्टराईका अनुसार झापामा हालसम्म ६८ हजार चार सय ५५ महिला तथा पुरुषले स्थायी बन्ध्याकरण गरिसकेका छन् । बन्ध्याकरणका लागि सरकारी तथा गैरसरकारी निकायले वार्षिक रूपमा लाखौँ बजेट विनियोजन गर्छन् । तर, बजेट खर्च नभएर हरेक वर्ष फ्रिज हुने गरेको छ । ‘स्थायी बन्ध्याकरणमा पुरुषको अनाकर्षणले वर्षेनी बजेट फर्किएर जान्छ,’ उनले भने । सरकारले बन्ध्याकरण गर्ने महिला तथा पुरुषलाई डेढ सय रुपैयाँ नगद अनुदानसहित औषधि निःशुल्क उपलब्ध गराउँछ ।

मेरी स्टोप्स सेन्टरका अनुसार चालू आर्थिक वर्षको जनवरीदेखि जुनसम्मको ६ महिनामा पाँच सय १२ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । तर, सोही अवधिमा बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या चार मात्र छ । सोही अवधिमा नेपाल परिवार नियोजन सङ्घ झापाबाट ६ महिनामा चार सय ७१ महिला र १२ पुरुषले स्थायी बन्ध्याकरण गराएको फिल्ड अफिसर काफ्लेले जानकारी दिइन् । बन्ध्याकरण गराउने अधिकांश आदिवासी र न्यून आर्थिक अवस्था भएका महिला छन् । बाहुन–क्षेत्री समुदायका केही महिला र पुरुषले पनि बन्ध्याकरण गरेका छन् । तर, कसैले थाहा पाउने पो हो कि भनेर गोप्य रूपमा । यो समुदायमा पनि महिला नै बढी छन् । ‘महिला पनि गोप्य रूपमा क्लिनिकमा गएर बन्ध्याकरण गराउने गरेको पाइन्छ,’ जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत भट्टराई भन्छन्, ‘जसका कारण यी समुदायको तथ्याङ्क प्राप्त गर्न गाह्रो हुन्छ ।’

परिवार नियोजन सङ्घका अनुसार महिलाले स्थायी बन्ध्याकरणको रूपमा मिनील्याप र पुरुषले भ्यासेक्टोमी गर्छन् । मिनील्यापको तुलनामा भ्यासेक्टोमी धेरै सहज बन्ध्याकरणको माध्यम हो । यद्यपि महिलालाई नै बन्ध्याकरणमा बाध्य पारिएको देखिन्छ । मिनील्याप महिलाको अण्डावाहिनी नली बाँधेर गरिन्छ । ‘यो मिनी अप्रेसन नै हो,’ परिवार नियोजन सङ्घका वरिष्ठ मेडिकल अधिकृत डा. रूपनारायण सङ्ग्रौलाले भने, ‘मिनील्याप गरेपछि केही दिन महिलाले आराम गर्नैपर्छ ।’ शुक्रकिट जाने नली काटेर बाँध्ने काम भ्यासेक्टोमी हो । भ्यासेक्टोमी गर्दा पुरुषलाई कुनै अप्ठ्यारो हुँदैन । ‘साइड इफेक्ट’ पनि हुन्न । ‘भ्यासेक्टोमी गरिसकेपछि कतिपय साइकल हाँकेरै जान्छन्,’ सङ्ग्रौलाले भने, ‘तर, महिलाको हकमा त्यस्तो सहजता हुँदैन ।’

हाम्रो सामाजिक मान्यताअनुसार महिलाले घर–व्यवहार आफैँ धानेका हुन्छन् । पुरुषको काम त कमाउने मात्रै हो । बच्चा जन्माउने काम त छँदै छ, अब नजन्माउने काममा पनि पुरुषबाटै महिला बाध्य पारिन थालेका छन् । ‘हुँदाहुँदा अब बन्ध्याकरण गर्न पनि महिला नै अग्रसर बन्नुपर्ने बाध्यता बन्यो,’ महिला अधिकारकर्मी कविता शर्माले भनिन्, ‘यो पनि एक किसिमको महिला हिंसा नै हो ।’ शर्माका अनुसार पुरुषप्रधान समाज भएकाले पनि पुरुषहरू सधैँ स्वतन्त्र हुन खोज्छन् । तर, महिलालाई चाहिँ सधैँ बन्धनैबन्धनमा जकडिनुपर्ने अवस्था छ । यही परम्परावादी र विकृत सोचका कारण महिला घरमै र घरमूलीबाटै हिंसा व्यहोर्न बाध्य छन् । ‘श्रीमतीको बन्ध्याकरण गरिदिएपछि आफू स्वतन्त्र रूपमा घुम्न पाउँछु भन्ने सोच पनि छ पुरुषमा,’ शर्माले भनिन्, ‘श्रीमतीचाहिँ जन्मेदेखि मृत्यु हुनेबेलासम्म सधैँ बन्धनमै ।’

जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी) १९९४ ले परिवार नियोजनका साधनको छनोटलाई महिलाको प्रजनन अधिकारभित्र राखेको छ । कायरोमा भएको यो सम्मेलनले पास गरेको प्रजनन अधिकारलाई विश्व महिला सम्मेलन १९९५ ले समेत पारित गरेको छ । यी दुवै सम्मेलनमा नेपालले पनि सहभागिता जनाएर हस्ताक्षर गरेको छ । तर, अझै पनि नेपाली महिला परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि श्रीमान्को दबाब झेल्न बाध्य भइरहनु दुखद पक्ष हो ।

(सञ्चारिका फिचर सेवा)
(पर्वत, कान्तिपुर दैनिकका झापा संवाददाता हुन्)  

प्रकाशित  मिति: २०७२ असाेज १० गते अाइृतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: