खेमा बस्नेत
कैलाली, असोज १० । अल्पसंख्यक जाति मध्येको राजीजातका महिला आफ्नो जीवनशैली बदल्न चाहेको बताउँछन् ।परम्परागत पेशा र भेषभूषाले वर्तमान परिस्थिति अनुसार चल्न अप्ठेरो भएपछि आफ्नो पुर्खाले चलाउँदै आएको चलन छोड्न चाहेको उनीहरू बताउँछन् । तर, त्यसको वैकल्पिक अवसर नपाउँदा उनिहरू अन्योलको जीवन बाँचिहरेको २७ वर्षिया हसिना राजीले बताइन् ।
हसिनाले भनिन् ‘महिलालाई त झनै समस्या छ, घरायसी काम बाहेक दिनभर बसेरै दिन काट्नुपर्ने,पुख्यौली पेशाले हामीलाई बेरोजगार मै बन्धक बनाएको छ ।’
परम्परागत पेशाप्रति संलग्नहुँदै आएपनि पुख्यौली पेशालाई जोगाउन नसकेको र सो पेशाले जिविका चलाउन नसक्ने भएकाले नयाँ पेशा अगाल्न चाहेको राजी महिलाको भनाईछ ।
जंगली गिठा, भ्याकुर, तेगुना खोज्नु, मह काटेर वेच्नु, माछा मार्नु आदि राजी समूदायका पुख्यौली पेशा हुन् । यसमा पनि जंगलमा गएर गिठा, भ्याकुर, तेगुना ल्याएर जीविका चलाउनु महिलाको काम हो । तर, पछिल्लो समयमा वनजंगललाई संरक्षित क्षेत्र बनाउन सामूदायिक वन लगायतको अवधारणा विकास भएपछि वनजन्य वस्तुमा रोक लगाउन थालिएपछि राजीलाई प्रत्यक्ष असर पर्न थालेको बसन्ती राजी बताउँछिन् ।
उनले भनिन ‘पुख्यौली पेशाले हामीलाई पेट पाल्न धौ–धौ पथ्र्यौ, त्यसमाथि अहिले त नदी र बन जङ्गलमा प्रतिबन्ध लगाएको छ विकल्प खोज्नुपर्ने भो ।’
अन्य समूदायका महिला जस्तै उनीहरू पनि व्यवसाय तथा काम गर्न इच्छुक रहेकाले रोजगारमूलक सिप तथा अवसरको खोजीमा रहेको उनले बताइन् ।
नेपालको जनगणना २०६८ अनुसार अल्पसंख्यकको सूचिमा रहेको यो समूदायका महिला पूर्णतया निरक्षर छन् । महिला मध्ये अहिलेसम्म २ जना बालका कक्षा ९ मा पढै्छन् । राजी समूदायमा एसएलसी अहिलेसम्म महिला र पुरुष कसैले पास गर्न सकेका छैनन् । कैलालीमा राजीको बसोबास चौमाला, साडेपानी, टिकापुर लगायतका क्षेत्रमा छ ।
आफूजस्तै अन्य समूदायका गृहणीहरूले काम गरेको देख्दा आफूहरूमा छटपटहाट हुने भएपनि कामको अवसर नहुँदा घरमै बस्नुपरेको उनीहरुको गुनासो छ ।
राज्यले न कुनै अवसर दिएको छ, न त आफ्नो पेशामा नै बाँच्न सक्ने वातावरण नै दिएको उनीहरूले गुनासो गरे ।
महिलाजस्तै राजी पुरुषमा पनि एकैखाले छटपटाहट छ । पुरुषलाई पनि काठ चिर्ने, मजदूरी गर्ने वोहकका कुनै अवसर नहुँदा उनीहरूको जीवनशैली झन कष्टकर हुँदै आएको छ ।
३० वर्षिय पदम राजीले भने ‘के गर्ने हामीसँग नत पैसा छ, न जमिन, मजदुरी गर्नु बाहेक अरू केही छैन् ।’
राज्यले अवसर दिइएमा आफूहरू काम गर्न तयार रहेको युवाहरूको भनाई छ ।
अल्पसंख्यक, सिमान्तकृत र विपन्न वर्ग समूदायको आर्थिक र सामाजिक हैसियत सुधार्न राज्यले विभिन्न निकाय मार्फत सिप मुलक तालिम र स्वरोजगार अवसर उपलब्ध गराउँदै आएपनि त्यो अवसर आफूहरूले नपाएको राजी समूदायको भनाईछ ।
प्रकाशित मिति: २०७२ असोज १० गते आइतवार
Comment Here!