एउटा सुखद पक्ष : भ्रष्टाचारमा पनि महिला पछि


प्रकाशित मिति :2015-09-27 17:21:11

राज्यशक्ति र शासकीय प्रणालीमा पछि पारिएका महिला भ्रष्टाचार गर्ने मामिलामा पनि पछि नै रहेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ट्रान्सपरेन्सी इन्टरनेसनलजस्ता संस्थाको अध्ययनबाट यो पुष्टि हुन्छ ।

निमा काफ्ले

11954605_10153322272743355_9012253192067206785_n‘घुस लिन्या र दिन्या दुवै राज्यका शत्रु हुन्’ करिब दुई सय वर्षअघिको पृथ्वीनारायण शाहको यो भनाइले पुष्टि गर्छ कि नेपालमा सयौँ वर्षदेखि भ्रष्टाचार थियो । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि के देखाउँछन् भने भ्रष्टाचार शून्यमा आउँदैन, तर त्यसलाई कम गर्न भने सकिन्छ । नेपालको सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचीमा नेपाल विश्वका बढी भ्रष्टाचार हुने मुलुकमध्ये १२६औँ स्थानमा छ । सुशासनमा नेपालको अवस्था नाजुक छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न यहाँ धेरै काम गर्न बाँकी छ भन्ने यसबाट स्पष्ट हुन्छ ।

हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रममा ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’को नारा छुट्दैन । विभिन्न सामग्रीमा भन्सार छुट दिएको घोषणा गरिन्छ, तर बजारमूल्य कहिल्यै घट्दैन । यसबाहेक व्यवसायीहरूले भ्याट बिल नै नक्कली प्रयोग गरेर देशलाई करोडौँ राजस्व छली गर्दा पनि उनीहरू कारबाहीमा पर्दैनन् । जनताको नजरमा केही गर्दै छ भन्ने भान पार्नेबाहेक सरकार केही गरिरहेको छैन । यसले के देखाउँछ भने नेपालमा खुलेआम भ्रष्टाचार हुन्छ, तर त्यसविरुद्धका कानुन औपचारिकताका लागि मात्र बनाइएका छन् । तर, यति व्यापक भ्रष्टाचारलाई लिङ्गीय नजरले हेर्दा पुरुषको तुलनामा महिलाको सङ्ख्याचाहिँ उल्लेख्य रूपमा कम छ ।

आर्थिक वर्ष ०७०/७१ मा अख्तियारमा एक सय ६८ उजुरी दर्ता भएका थिए । त्यसमा ६ सय पुरुष र ५२ जना महिलाविरुद्धका थिए । उजुरी परेकामध्ये विभागीय कारबाहीमा पर्ने पुरुषको सङ्ख्या दुई सय ९८ थियो भने यस्तो कारबाही भोग्ने महिला १६ मात्र थिए । दुई सय ९० जना पुरुष कर्मचारीबाट बिगो असुलउपर गरिएको थियो भने १४ जना पुरुषलाई सचेत गरिएको थियो ।

तर, यस अवधिमा एकजना महिलालाई मात्रै सचेत गराइएको छ । त्यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएका ८० वटा उजुरी अख्तियारमा परेकोमा ६९ पुरुष र नौ महिला थिए । आर्थिक वर्ष ०७०/७१ मा अख्तियार र अन्य निकायबाट घुस लिँदालिँदै पक्राउ परेका ७१ मध्ये दुईजना मात्र महिला थिए ।
विशेष अदालतका प्रवक्ता कृष्णप्रसाद पोखरेलका अनुसार अख्तियारले गर्ने लामो छानबिनपछि थोरै मुद्दा मात्र विशेष अदालतमा पुग्छन् । अदालतमा पुगेका अधिकांश मुद्दामा महिलाले सफाइ पाउँछन्, थोरैले मात्रै सजाय भोग्छन् । तर, नेपालमा महिलाकै कारण पुरुषले भ्रष्टाचार गर्छन् भनेर पनि प्रचार गरिने गरिएको छ । उल्लिखित तथ्याङ्कले के देखाउँछ भने त्यो प्रचार मिथ्या छ । पुरुषले महिलाको नाम जोडेर आफू पानीमाथिको ओभानो हुन गरेको तर्क मात्र रहेछ यो ।

नेपालको निजामती सेवामा महिलाको सङ्ख्या पुरुषको तुलनामा निकै न्यून छ । त्यसकारण भ्रष्टाचार हुने ठाउँमा उनीहरूको उपस्थिति नै थोरै छ भनेर पनि तर्क गरिन्छ । तर, महिला प्रमुख भएका ठाउँमा भ्रष्टाचार नै कम हुनुले यो तथ्यलाई पनि गलत सावित गरिदिएको छ । यहाँनेर महिला कर्मचारी भ्रष्टाचारी हुँदै हुँदैनन् र पुरुष मात्रै भ्रष्ट हुन्छन् भनेर आरोपित गर्न खोजिएको होइन । तथ्यले के स्थापित गरिदिएको छ भने पुरुष कर्मचारीको तुलनामा भ्रष्टाचारमा महिलाको सहभागिता निकै थोरै हुँदो रहेछ ।

विभिन्न देशमा गरिएका अध्ययनले पनि महिलाको तुलनामा पुरुष नै भ्रष्टचार गर्नमा अग्रणी भूमिकामा देखिन्छन् । अमेरिकाको राइस विश्वविद्यालयका अनुसन्धानकर्ताले यो तथ्यलाई पुष्टि गरेका छन् । उनीहरूको एक अध्ययनमा विश्वका सबैजसो कार्यालयमा पुरुषको दाँजोमा महिला कम भ्रष्टाचारी हुने गरेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको वार्षिक अध्ययनले पनि महिला भएको स्थानमा भ्रष्टाचार कम हुने देखाएको छ । ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक आशिष थापाका अनुसार निर्णय गर्ने तहमा महिलाको पहुँच नै थोरै भएका कारण महिला घुस लिँदै गर्दा समातिएका घटना थोरै छन् । ‘अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनलाई आधार मान्ने हो भने पुरुषको तुलनामा महिलाको मनोविज्ञान नै भ्रष्टाचार गर्नमा त्यति अग्रसर नहुने प्रवृत्ति देखिएको छ,’ कार्यकारी निर्देशक थापाले भने, ‘जसका कारण महिला पुरुषको तुलनामा कम भ्रष्टाचारी हुने गरेको पाइएको छ ।’

नेपालका निजामती कर्मचारीको सङ्ख्या ८१ हजार ६ सय २१ छ । जसमध्ये ६७ हजार एक सय ७१ पुरुष रहेका छन् भने महिलाको सङ्ख्या १४ हजार चार सय ५० मात्र छ । त्यस्तै कानुन, शिक्षा तथा संस्थानहरूमा पनि महिला कर्मचारीको सङ्ख्या पुरुषको तुलनामा कम नै छ । आजको युगमा पुरुषले गर्ने सबैजसो काम महिलाले पनि गर्न सक्छन् भनेर पुष्टि भइसकेको छ । बराबर हिस्सा लिएर काम गर्न सुरु भएपछि पनि महिला पुरुषभन्दा कम भ्रष्ट देखिनु अर्काे अनुसन्धानको विषय बन्न सक्छ ।

महिला अधिकारकर्मीहरू घरायसी कामदेखि नै महिलाको आर्थिक जिम्मेवारी कम र पारदर्शिता ज्यादा हुने भएकाले महिलाले भ्रष्टाचार कम गर्ने गरेको बताउँछन् । एमाओवादी सांसद रूपा महर्जन पुरुष महिलाको तुलनामा आक्रामक हुने, तर महिलाजत्तिको इमानदार नहुने तर्क गर्छिन् । ‘महिला पुरुषभन्दा बढी संवेदनशील तथा इमानदार हुन्छन्,’ उनले भनिन्, ‘महिला आफ्नो इमानदारी दाउमा राख्न चाहँदैनन् ।’
निर्वाचन आयुक्त इला शर्माका अनुसार भ्रष्टाचार गर्नमा लिङ्गीय आधारले फरक पार्ने होइन, अवसर पाए महिला पनि भ्रष्टाचार गर्छन् ।

त्यसो त सरकारी कर्मचारीको रूपमा महिलाको सङ्ख्या बढ्न थालेको धेरै भएको छैन, त्यसकारण पनि पुरुषको तुलनामा महिला सङ्ख्यात्मक रूपमा कम हुनु स्वाभाविक भएको इला शर्माको विचार छ । पँहुच पुगे सबै महिला भ्रष्टचारी हुन्छन् त भन्ने प्रश्नमा आयुक्त शर्मा भन्छिन्, ‘गुणका आधारमा महिला पुरुषको तुलनामा नम्र, सहनशील तथा निष्ठावान हुन्छन्, त्यसकारण केही हदसम्म पुरुषभन्दा महिला नै बढी इमानदार हुन्छन् ।’ यसकारण पनि महिला भ्रष्टचारमा कम अग्रसर भएको हुनसक्ने आयुक्त शर्माको भनाइ छ ।

सुशासनका क्षेत्रमा काम गर्ने गोगो फाउन्डेसनका अध्यक्ष केदार खड्काले भने महिला भएकै कारण भ्रष्टाचार कम हुने कुरा अस्वीकार गरे । कार्यकारी तहमा महिला सहभागिता नै कम भएकाले भ्रष्टाचारीको सूचीमा महिलाको सङ्ख्या कम देखिएको खड्काको भनाइ थियो । ‘कानुनको ज्ञानको कमी भएको कारण पनि महिला भ्रष्टाचार गर्न डराउँछन्,’ उनले भने, ‘पहुँचको कमीले गर्दा पनि महिला सितिमिती भ्रष्टाचार गर्दैनन्, यसको मतलब महिलाले भ्रष्टचार गर्दै नगर्ने भने होइन ।’ उनका अनुसार महिलाले पनि अवसर पाए पुरुषसरह नै भ्रष्टचार गर्छन् । महिला पहुँचमा कम हुनु, सामाजिक रूपमा भूमिका फरक हुनु, महिला साँझ घरबाहिर बस्ने कुरा समाजले स्वीकार नगर्नु र उनीहरू आफैँले पनि सहज महसुस नगर्नु, घुस सहज समय र स्थानमा प्राप्त नहुनुजस्ता कारणले महिला भ्रष्टाचारमा कम देखिएको खड्काको तर्क छ । उनले लैङ्गिक बनोटले कुनै पनि व्यक्ति भ्रष्ट हुने वा नहुने कुरा स्थापित नगर्ने बताए ।

तर, भ्रष्टचारका क्षेत्रका अनुसन्धानकर्ता दिपेश घिमिरेले भ्रष्टाचार भनेको ‘लिने र दिने’ प्रक्रिया भएको भन्दै घुस खुवाउन आउने पनि महिला नहुने भएकाले पुरुष बढी भ्रष्ट हुने गरेको बताए । ‘महिला अनौपचारिक समयमा सहज पहुँचमा नहुनु, साँझको समयमा महिला होटलमा नबस्नु तथा सबैखालका मान्छेसँगको पहुँचमा नहुनु पनि भ्रष्टाचार कम हुने कारण हो,’ उनले भने, ‘तत्कालको हाम्रो समाज र सामाजिक परिस्थितिले महिलालाई कम भ्रष्टाचारी हुन छुट दिन्छ ।’

उल्लिखित तथ्यले महिला कम भ्रष्ट हुनेभन्दा भ्रष्टाचारमा उनीहरूको पहुँच कम हुने भन्ने स्पष्ट पार्छ । तैपनि केही समय महिलालाई कार्यकारी भूमिका दिँदा उनीहरू कम भ्रष्ट हुने र समग्र भ्रष्टाचारमा कमी आई भोलिका दिनमा भ्रष्टाचारले प्रश्रय नपाउने अवस्था स्थापित हुनसक्छ । त्यसैले महिलाको पहुँच विस्तार र भ्रष्टाचार नियन्त्रणको काम एकसाथ अघि बढाउन समान हैसियतमा भएका महिलालाई प्राथमिकतामा राखेर जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।

प्रकाशित  मिति २०७२ असोज १० गते अाइतवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: