कुपोषण विरुद्ध आमा


प्रकाशित मिति :2015-09-28 12:52:53

रमला सिंगक

मोरङ, असोज ११ । मोरङको उत्तरी क्षेत्रमा पर्ने जाँते गाविस बस्ने तीन सन्तानकी आमा २१ वर्षीया पूजा धमला अचेल आफ्ना छोराछोरीलाई कुपोषणबाट जोगाउने तरिका सिक्दै छिन् ।

खानेकुरा पकाउँदा पोषणतत्व जोगाउने तरिका र आफ्नै खेतबारीमा पोषणयुक्त खानेकुराको कसरी पाउने भन्नेबारे उनले जानकारी लिन थालेकी छिन् । उनको पहिलो सन्तानलाई कुपोषण नलागे पनि दुई सन्तान भने कुपोषणको सिकार बनेका छन् । कुपोषणले दुई सन्तान सधैँ बिरामी परिरहने गर्छन् ।

aamaharu pix

जाँतेस्थित ग्रामीण पुनर्निर्माण संस्थाले सञ्चालन गरेको पोषण बचाउने तालिमका लागि उनी दैनिक धाइरहेकी छिन् । बच्चाहरू सधैँ बिरामी पर्ने कारण उनलाई नजिकैको उपस्वास्थ्यचौकीमा पुगेपछि मात्र थाहा भयो । दुवै बच्चालाई कुपोषण भएको रहेछ ।

यस्तै, ५५ वर्षीया शेरमाया मगरले पनि आफ्नी बुहारी सानो उमेरमा वर्षेनी बच्चा जन्माएको कारण मृत्यु भएको कुरा पोषण केन्द्रमा पुगेर थाहा पाइन् । कुपोषणले गर्दा गत वर्ष बुहारीको मृत्यु भएपछि नाबालक दुई नाति शेरमाया मगरले पालनपोषण गरिरहेकी छिन् ।
आमाको दूध र पोषणयुक्त खाना खान नपाउँदा नातिहरूलाई स्वस्थ राख्नका लागि पोषण केन्द्रमा स्वास्थ्य स्वयम्सेविकाको निगरानीमा उनी बस्ने गरेकी छिन् ।

उनी अहिले पोषण केन्द्रमा पकाएको पोषणयुक्त खानेकुरा खुवाउने, पोषिलो खानेकुरा पकाउने तरिका र आफ्नो करेसाबारीमा लगाएको पोषणयुक्त तरकारी तथा खानेकुरालाई कसरी संरक्षण गर्ने भन्ने विषयमा जानकारी लिइरहेकी छिन् । १८ वर्षमै दुई सन्तानकी आमा बनेकी पूजा धमला पनि आफ्ना दुई सन्तानलाई लिएर सोही पोषण केन्द्रमा पुग्छिन् ।

पोषण केन्द्रमा आउन थालेपछि आफ्ना बच्चा स्वस्थ हुन थालेको पूजा धमलाले बताइन् । उनले भनिन्, ‘सानै उमेरमा बिहे गरियो, सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ र बच्चालाई के–के खान दिनुपर्छ भन्ने ज्ञान नभएकाले म र मेरा दुवै बच्चा कुपोषित भएका छौँ । आउने दिनमा केन्द्रले सिकाएको विषयले आफू र आफ्ना बच्चालाई घरमै भएका पोषिला खानेकुरा खुवाएर स्वस्थ बनाउँछु ।’

उनीहरू जस्तै ग्रामीण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित पोषण केन्द्रमा आफ्ना कुपोषित बच्चा लिएर दैनिक आमाहरू आउने गरेको फिल्ड संयोजक बबिता पोखरेलले जानकारी दिइन् । उनका अनुसार पोषण साक्षरता कार्यक्रम सन् २०१३ देखि जाँते गाविसका विभिन्न वडामा सञ्चालन गरिँदै आएको छ ।

kuposit bachha pix

६ महिनादेखि पाँच वर्षसम्मका बच्चा र आमालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको पोखरेलले बताइन् । संस्थाले कुपोषण लागेका सिकिस्त बच्चाहरूको पहिचान गरी अस्पताल पठाउने, मध्यम किसिमकालाई सेवा केन्द्रमा राखेर पोषिलो खानेकुरा खुवाउने र आमालाई पोषिलो खानेकुरा बनाउन सिकाउने गरेको छ ।

१५ दिन नियमित पोषण केन्द्रमा गएर साक्षर भएपछि उनीहरूलाई पुनः घरमै बच्चा स्वस्थ नभएसम्म निगरानीमा राखिने स्वयम्सेविका शिवा मगरले जानकारी दिइन् ।

पोषण साक्षरता कार्यक्रमले गरेको सर्भेअनुसार जाँते गाविसका तीनवटा वडामा पाँच सय २३ जना बालबालिकामध्ये तीन सय ८७ जना बच्चा अति नै कुपोषित छन् ।

जाँतेमा ३८ जना बच्चा सामान्य कुपोषित छन् । पोषण केन्द्र जनस्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यचौकीको निगरानीमा सञ्चालन हुने जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले बताए । उनले भने, ‘आमाहरूकै निगरानीमा कुपोषण भएका बच्चालाई केन्द्रमा ल्याएर पोषिलो खानेकुरा खुवाउने र बनाउने तरिकालगायत सरसफाइको विषयमा समेत जानकारी गराइने भएकाले जन्मने बालबच्चा तथा आमालाई कुपोषण लाग्ने सम्भावना कम हुनेछ ।’

कुपोषणबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ चिकित्सक प्राध्यापक डा. निशाकेशरी भट्ट र सहप्राध्यापक डा. ज्योति अग्रवालले नेपाली समाजमा अधिकांश गाउँघरमा मकै, कोदो, भटमास, खकरखण्ड, तरुल, केरा, आलु उपलब्ध भए पनि बजारमा आउने जङ्कफुड खुवाउने गरेकाले कुपोषण हुने बताए ।

उनीहरूले भने, ‘आफ्नै बारीमा उपलब्ध ती पौष्टिक खाद्यान्नलाई बजारमा सस्तोमा बेचेर महँगो पर्ने बजारको चामल, कुरमुरे, चाउचाउ, बिस्कुट, क्याटबरी, चकलेट, अनेक ब्रान्डका जुसजस्ता पेयपदार्थ किनेर बच्चालाई दिने गर्दा रोक प्रतिरोधात्मक क्षमता घटेर कुपोषित भई बिरामी हुने र रोग प्रतिरोधात्मक क्षमता घट्ने गरेको छ ।’

घरमा जे फलफूल, खाद्यान्न उपलब्ध हुन्छ त्यसैको खाना बनाएर बालबालिकालाई दिने बानी गरेमा बालबालिकालाई सङ्क्रमित रोगबाट बचाउन सकिने उनीहरूको तर्क छ । डा. अग्रवालले भनिन्, ‘बालबालिकालाई मकै, कोदो, गहुँको खानेकुरा बनाएर दिने अभिभावक हाम्रो समाज र परिवारमा भेट्न मुस्किल छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो र सहरका ठूला–ठूला आकर्षक होर्डिङबोर्डमा लेखिएका विज्ञापनको भर परेर त्यसैको आधारमा आजभोलिका बालबालिकालाई खाजा दिने गरिएकाले पनि सम्पन्न परिवारका बालबालिकामा समेत कुपोषण देखिएको छ ।’

बजारमा किनेर ल्याएको खाद्य तथा पेयपदार्थ पोषणयुक्त नहुने बालरोग विशेषज्ञको दाबी छ । कुपोषित बालबालिकामा रोग लाग्ने र बढी सङ्क्रमित हुन सक्ने भएकाले उनीहरूलाई कुपोषणबाट जोगाउन आफ्नै खेतबारीमा उपलब्ध सस्तो र सामान्य लाग्ने अन्न, खाद्यपदार्थ, फलफूल, तरकारी बढीभन्दा बढी खानाको रूपमा बालबालिकालाई खुवाउने गरेमा रोग लाग्नबाट बचाउन सकिने डाक्टर अग्रवालले बताइन् ।
नेपालमा बालबालिकालाई खाना खुवाउने गलत चलन भएकाले पाँच वर्षसम्मका ५० प्रतिशत बच्चा कुपोषित भएको उनले सुनाइन् ।

प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: