महिला खबर
पोखरा, असोज ११ । कास्कीको एक स्थापित गैरसरकारी संस्था लि–बर्डले महिलामाथि यौन दुर्व्यवहार गर्ने तीन कर्मचारीलाई जागिरबाट निष्काशन गरेको जनाएको छ ।
लि–बर्डको आइतबार सम्पन्न २१ औँ वार्षिक साधारणसभामा संस्थागत परिचय एवं सुशासन सम्बन्धी जानकारी दिने क्रममा लि–वर्डका कार्यकारी निर्देशक डा.बलराम थापाले सो जानकारी दिनु भएको हो ।
थापाले लैंगिक असमानता र यौन दुर्व्यवहार रहित कार्यालय बनाउने अभियानमा ति कर्मचारीहरूले जागिरबाट हात धुनु परेको बताउनु भयो । ‘यौन दुर्व्यवहारकै अभियोगमा आफ्ना कर्मचारी निष्कासन गरेको संभवतः कास्कीमा यो पहिलो घटना हो ।’ थापाले भन्नु भयो –‘हामी लैंगिक समानता र यौन दुर्व्यवहारको विपक्षमा छौँ, हामी कर्मचारीको मूल्याङ्कन गर्छौँ र राम्रोलाई प्रोत्साहन अनि नराम्रोलाई सुधार्ने वा जागिरबाट बिदाइसम्म गर्न भ्याउँछौँ ।’
जागिरनै जाने गरी भएको यौन दुर्व्यवहारको प्रकृति र कारबाही भोगेका कर्मचारीको नाम भने गोप्यनै राखिएको छ । लि– बर्डमा हाल विभिन्न पदमा १ सय ४७ जना कर्मचारी रहेका छन् । ति मध्ये महिलाको संख्या ३३ प्रतिशत रहेको छ ।
प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार
Comment Here!