खेमा बस्नेत
धनगढी, असोज १२ । नाकाबन्दी हुने हल्लाले गृहिणी महिलालाई किनमेलको चटारो थपिएको छ । यसअघि चाहिएको समयमा गौरीफन्टा गएर आवश्यक उपभोग्य समानमात्रै किन्ने यस क्षेत्रका गृहिणी महिला अहिले भण्डार गर्न थालेका छन् । सामान किन्नकै लागि धनगढीको सिमावर्ती बजार गौरीफन्टामा महिलाको भीड लाग्ने गरेको छ । घरायसी उपभोग्य सामानहरू समान्यतया नेपाली बजारभन्दा केही सस्तो पाइने भएकाले नेपाली उपभोक्ता गौरीफन्टा पुग्ने गरेका हुन् ।
कैलालीका सिमावर्ती बस्ती, कञ्चनपुरका वाइसेविचुवा र अमरबस्ती लगायत ठाउँबाट महिला दाल, चिनी, प्याज,आलु, खुर्सानी, साबुन सरप, मसला लगायत भान्सामा प्रयोग हुने सामानहरू किन्न भारतीय बजार गौरीफन्टा, वनगाँउ र पलिया पुग्ने गर्छन् । त्यसबाहेक कैलालीका ग्रामिण वस्तीबाट पनि किनमेलको लागि गौरीफन्टा आउँने गर्दछन् ।
गौरीफन्टामा भेटिएकी कैलाली अत्तरिया नगरिपालिका बस्ने पार्वती साउँदले नाका बन्द हुने सुनेपछि २/३ महिनालाई पुग्ने सामान एकैचोटी किन्न आएको बताइन् । ‘नाका बन्द हुने रे ! त्यसैले आफुलाई चाहिने घरायसी सबै सामान किनेर ल्याए’ उनले भनिन् ।
नाकाबन्द हुने हल्लाले उपभोक्ताहरूलाई निकै चिन्तित भएका छन् । समान्य किनमेलको लागि गौरीफन्टा पुग्ने सिमाक्षेत्रका उपभोक्ताहरू चाडपर्वको मुखमै अभाव भए के गर्ने भन्ने चिन्ताले ऋण खोजेर भएपनि सामान भण्डार गर्न थालेको बताउँछन् । ‘दुई महिनाको लागि पुग्ने समान किनेर ल्याएकी छु’ अत्तरियाकै सरस्वती भट्टले भनिन् ‘नाका बन्द भएपनि सामान महङ्गो हुन्छ, त्यसैले अहिले नै किनेर राख्न लागेकी हुँ ।’
नाकाबन्दी कै हल्लाले समान किन्न मंगला धामी ४० किलोमिटर गाडी चढेर चौमलाबाट गौरीफन्टा पुगिन् । उनले पनि सामान किन्नकै लागि काम छोडेर आउनुपरेको बताइन् ।
उनले भनिन् ‘पहिले र अहिलेको माहोल फरक छ, त्यसैले काम छोडेर पनि सामान किन्न यहाँ आए ।’ धनगढीकी सिता चौधरीले पनि गौरीफन्टाबाट २ महिनालाई पुग्ने घरायसी सामान किनेको बताइन् । दाल,प्याज, आलु, सोडासाबुन, चिनी लगायतका खाद्यवस्तु किनेको उनको भनाई छ ।
कैलालीका मात्र होईन कञ्चनपुरवाट पनि भारतको बजारमा किनमेल गर्ने आउने गृहिणी महिला पनि छन् । सरिता तिवरी उनले पनि नाका बन्द हुने सुनेपछि घरेलु सामाग्रीको अभाव होला भन्ने चिन्ता लागेर सधैको भन्दा केही बढी दाल,प्याज,आलु,सोडासाबुन,चिनी किनेको बताउँछिन् ।
प्रकाशित मिति २०७२ असोज १२ गते मंगलवार
Comment Here!