कविता श्रेष्ठ
काठमाडाैं, असोज १२ ।’पुरुषको रोग’ भनेर चिनिने मुटु रोगबाट पुरुषकै हाराहारीमा महिला पनि प्रभावित भएको वरिष्ट मुटु रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेले बताउनुभएको छ । मानसिक तनाव ,मधुमेह र मोटोपनका कारण महिला मुटुरोगीको संख्या दिनप्रति दिन बढ्दो रहेको उहाँको भनाई छ। आज २९ सेप्टेम्बर, विश्व मुटु दिवस मनाइरहँदा महिला खवर डट कमसँग उहाँले उक्त कुरा बताउनुभएको हो।
‘महिलामामात्र देखिने ‘पेरिपार्टम कारडियोमायोप्याथी’ नाम गरेको मुटु रोग अझ बढी जोखिमपूर्ण हुन्छ। ६ देखि ७ महिनाका गर्भवती तथा सुत्केरी महिलामा यो रोग देखिन्छ’ उहाँ भन्नुहुन्छ।
ग्रामिण भेगका ६० प्रतिशत महिलामा घरभित्रको खाना पकाउने घरेलु चुलोका कारण मुटु रोग देखिएको डा पाण्डे बताउनुहुन्छ ।
मुटु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम रहेको उहाँ सुझाव दिनुहुन्छ। हृदयघातबाट बच्न धुम्रपान तथा सुर्ती सेवन नगर्ने, मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त रहनुपर्ने उहाँ बताउनुहन्छ।
प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दिनँहु दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तिमा ८० प्रतिशत घटाउन सकिने उहाँको भनाइ छ। मुटुरोग उमेर अनुसार नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई हुने भएकोले स्वास्थ्य प्रति सजग रहन उहाँ आग्रह गर्नुहुन्छ।
अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मुटुरोग जीवनशैलीसँग सम्बन्धित रहेको र जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशत भन्दा बढी मुटु रोगका कारणमाथि नियन्त्रण गर्न सकिन्छ।
‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ करोड ७३ लाखभन्दा बढी मानिसले प्रत्येक वर्ष मुटु रोगका कारण ज्यान गुमाइरहेका छन्। नेपालमा हाल २० प्रतिशत अर्थात करिब ६० लाख जनसंख्या कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छ। मुटु रोगीको संख्या नेपालमा १० वर्ष यता ५ गुणाले बढेको डा रेग्मी बताउनुहुन्छ।
प्रकाशित मितिः २०७२ असाेज १२ गते मङ्गलवार
Comment Here!