महिला खबर
नेपालगन्ज, असोज १३ । बन्दका कारण मध्यपश्चिमका जिल्लामा गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण र सुत्केरी हुनको लागि स्वास्थ्य संस्थासम्म पुग्न निकै समस्या भएको छ ।
गर्भवती महिलाहरू लामो बन्दले गर्दा सहजै स्वास्थ्य चौकी आउन नसकेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार गत वर्षको तथ्याङ्क अनुसार यस क्षेत्रमा प्रत्येक महिना अनुमानित १५ देखि ४९ वर्ष उमेर समूहका ८ हजार ५ सय १० जना महिला गर्भवती हुने गरेका छन् । गाउँ गाउँमा रहेका वर्थिङ सेन्टरबाट प्रसूति सेवा दिदै आएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएपनि कतिपय स्थानका वर्थिङ सेन्टर टाढा भएका कारण तीन÷चार घण्टा यातायात चढेर जानुपर्ने समस्या रहेको छ ।
सवारी साधन सञ्चालन नभएकाले वर्थिङ सेन्टर र जिल्ला अस्पतालसम्म गर्भवती महिलालाई पुग्न कठिनाई भएको छ । यातायात बन्द हुँदा एम्बुलेन्सको माध्यमबाट विरामी अस्पतालसम्म जाने आउने गरेको अवस्थामा बाँके जिल्लामा बन्दको समयमा ४ वटा एम्बुलेन्समाथि तोडफोड भएपछि विरामीहरू एम्बुलेन्समा चढन समेत असुरक्षित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय संयोजक भोला महतले जानकारी दिनुभयो ।
डेढ महिनादेखि सहजरुपमा यातायातका साधन सञ्चालन नहुँदा गर्भवती महिलाले स्वास्थ्य अधिकार उपयोग गर्न नपाएको महतले बताउनुभयो । बन्दका कारण विरामीहरू समयमा अस्पताल पुग्न नसकेको र ग्रामिण तहमा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरू पनि समयमा अस्पताल पुग्न नसक्दा सेवाग्राहीहरूले समयमा स्वास्थ्य सेवा पाउन नसकेको उहाँको दावी छ ।
गतवर्षको तथ्याङ्क अनुसार मध्यपश्चिमका स्वास्थ्य संस्थामा प्रत्येक महिना २६ हजार ७ सय ६१ नयाँ विरामी भर्ना हुने गरेका थिए । ंमध्यपश्चिमको पहाडी जिल्लाहरूमा हवाइ मार्ग समेत प्रभावित भएका कारण अस्पतालले रेफर गरेका बिरामीहरू डोल्पालगायतका विमानस्थलमा अलपत्र परे ।
मध्यपश्चिम क्षेत्रमा १ सय ३२ एम्बुलेन्स दर्ता भएपनि हाल १ सय २३ वटा एम्बुलेन्स संचालन भईरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएपनि सवै संचालनमा आउन नसकेको र स्वास्थ्य चौकी तथा अस्पतालहरूमा औषधीको अभाव देखिन थालेको अधिकारकर्मीहरूले बताएका छन् ।
प्रकाशित मिति: २०७२ असोज १३ गते वुधवार
Comment Here!