नृप रावल
धनगढी, असोज १३ । हाँसी–खुशी बाँच्न र सम्पन्न बन्नका लागी ठुलै सीप, शिक्षा र पहुँच चाहिन्छ भन्ने एक थरीको सोचलाई कैलालीका उद्यमी महिलाले झुटो सावित गरिदिएका छन् । विपन्न, दलित पिछडिएका र एकल महिला सीप सिकेर, सिलाई–कटाई, ब्युटिपार्लर, तरकारी खेती र ठेला व्यवसाय गर्न थालेपछि, उद्यमीसँगै आत्मनिर्भर बनेका हुन ।
कैलालीको लम्की चुहा १२ सुदर्शी देवी डगौरा २०६५÷०६७ साल तिर जिवन गुजाराका लागि दैनिक मजदुरी गर्नुहुन्थ्यो । निकै कष्टरकर बिगत भएकी गडौराको जिवनमा ठेला व्यवसाय सुरु गरेपछि सुखद परिवर्तन आएको छ । तालिम लिएर ठेला व्यवसाय सुरु गरेकी उनले ४ लाख रुपैयाँ ऋण पनि तिरिसकेर ७ कठ्ठा जमिन किनीसकेकी छन् । अहिले उनले ठेला व्यवसायबाट मसिक २८ देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको बताइन् ।
त्यस्तै बौनिया ६ की ममता चौधरीको आर्थिक स्थिती निकै कमजोर भएका कारण पारिवारिक अवस्था नाजुक थियो । उनले ब्युटिपार्लर सम्बन्धी तालिम लिएर यहि व्यवसाय सुरु गरिन् । त्यसपछि उनी आर्थिक रुपमा आत्म निर्भर भइन् । अक्षरसम्म पनि नचिनेकी ममता आज, घरको अभिभावक बनेकी छन् । सीप भए महिलाले पनि काम गरेर आर्थिक रुपमा आत्म निर्भर बन्न सक्छन् भन्ने कुराको उदाहरण उनीहरू बनेका छन् । उद्यमी भएपछि आफूहरू प्रति समाजको दृष्टिकोण पनि फेरीएको अनुभव उनीहरूसँग छ । २–४ मान्छेको अगाडि बोल्न डराउने धेरै महिला आजकाल समाजको अगुवा बनेका छन् ।
भजनीकी सुभाष डगौराले सिलाई कटाईको तालिक लिएपछि, घर परिवार चलाउन सहज भएको बताईन । व्यवसायबाट आएको पैसाले घर व्यवहार चलाउन छोरा–छोरीलाई पढाउन र मिठो मसिनो खान पुगेको उनको भनाई छ । पहिले मजदुरी गर्न जानुपर्ने पेसामा परिवर्तन आएको छ भने, समूहमा बचत समेत गरिराखेको उनले बताइन ।
भजनी कै जीवन चौधरीले व्युटिपार्लर व्यवसाय सुरु गरेपछि आफ्नो अवस्था फेरिएकोे बताईन् । ‘लघुउद्यमबाट व्युटिपार्लर सम्बन्धी तालिम लिइ यसलाई पेसाको रुपमा अपनाउँदा राम्रो कमाई त भएको छ नै, समाजमा पनि उच्च सम्मान हुन थालेको छ’ उनले भनिन् । कैलालीका विपन्न तथा पिछडिएको समुदायका महिला पछिल्लो समय सीप सिकेर आत्म ्निर्भर भई आर्थिक रुपमा पनि बलिया बनेका छन् ।
प्रकाशित मिति :२०७२ असाेज १३ गते वुधवार
Comment Here!