तीन आमाले हाँकेको गाउँ


प्रकाशित मिति :2015-09-30 15:42:54

बारा जिल्लाको बौहरी गाविसका तीन आमाहरू शान्तिसिंह कुर्मी, कौशिला पटेल र सुमरपतिया देवी कुर्मीको प्रशंसा नगर्ने कोही छैन। उनीहरूमा आएको सशक्तिकरण देखेर गाउँलेहरू आफ्ना छोरी, बुहारीलाई पनि यस्तै बन्न सल्लाह दिन थालेका छन् ।
रसना ढकाल

Rashana
‘हम मधेशी मूलके महिला बाटि त का भइल हमन मे काम करेमे जोश बा, एकवार हमे मौका चाहि । (हामी मधेशी मूलको महिला होत के भो, हामीमा काम गर्ने जोश छ । एक चोटी काम गर्ने मौका त दिनुस् । ) हामी राम्रो काम गरेर देखाँउछौ । शान्ती कुर्मीले महिला विकास कार्यालय बारामा यसरी भाषण गर्दा उपस्थित सबैले ताली पिटे ।

महिला विकास कार्यालय बाराले दिएको तालिम समापनको अवसरमा शान्तीले महिलालाई कुनै जात समुदायको दृष्टिले हेर्न नहुने र अवसर पाएमा मधेशका महिलाले राम्रो काम गर्न सक्ने बताईन् । उनले समाजमा भएका कुसंस्कार हटाउन आफू सक्रिय हुने प्रतिवद्धता जनाउँदै भाषण गर्दा अन्य सहभागी महिलाले पनि साथ दिने जनाउ दिए ।

बाराको कलैया बस्ने शान्तीलाई सानैदेखि गाउँका महिलाको स्वास्थ्य उपचारमा सघाउने इच्छा थियो । तर घरको परिस्थितिले उनको त्यो इच्छा पुरा भएन । तीन कक्षामा पढ्दा—पढदै बाल विवाह भयो । परिवारले विवाह गरिदिने निर्णय गरेपछि उनले आफ्नो इच्छा दवाएर राखिन् । विवाह भएको केहि वर्षपछि गौना भयो । (मधेशी समुदायमा बाल विवाह पश्चात केटाकेटी बालिग भैसकेपछि गरिने अर्को विवाहलाई गौना भनिन्छ, गौना भएपछिमात्र केटी केटाको घर जान पाउँछिन् । )

विवाहपछि पनि शान्तीको पढ्ने इच्छा मरेन । परिवारका सदस्यले कलैयाको एउटा सरकारी स्कुलमा कक्षा ८ मा भर्ना गरिदिए । २०३६ सालमा उनले एसएलसी उत्तिर्ण गरिन् । शान्ती भन्छिन् ‘मेरो खुसीको सीमा नै रहेन, आफ्नो इच्छा बमोजिम पढ्न पाएकोमा खुसी लाग्यो ।’

एसएलसी पास गर्नु चानचुने कुरा थिएन । विरगंज भंसारमा खरिदार पदमा नाम निस्कियो । तर परिवार र समाजका कारण जागिर खान जान पाइनन् घरै बस्नु प¥यो ।

जहाँ इच्छा त्यहाँ उपाए भने जस्तै धेरैपछि आएर शान्तीलाई आफ्नो इच्छा अनुसार काम गर्ने अवसर आयो । २०५६ साल तिरको कुरा हो, महिला विकास कार्यालय बाराले बौहरी गाविसमा प्रौढ शिक्षा कार्यक्रम ल्यायो । एकदिन गाउँको एक व्यक्तिले अचानक शान्ती तिमीले एसएलसी पास गरेकी छौ भनेर सोधे । उनले गाउँमा तिमीलाई मिल्ने एउटा योजना आएको छ त्यो तिमीले हेर्नु पर्छ भने । उनको काम गाउँका प्रौढलाई अनौपचारिक शिक्षा दिनुपर्ने थियो । दिनको ४ घण्टा गाउँका ३० जनालाई शिक्षा दिन थालिन् ।

शुरुमा घर बाहिर निस्कदा शान्तीले अनेक लान्छना सहनु पर्‍यो । गाउँका केहि व्यक्तिले दिहादिन (बुहारी) लाई घर बाहिर काम गर्न पठाएको भनेर कुरा काटे । तर पनि शान्तीलाई परिवारले सँधै सहयोग गर्‍यो ।

बाँया बात क्रमश

बायाँबाट क्रमशःशान्तिसिंह कुर्मी, कौशिला पटेल र सुमरपतिया देवी कुर्मी

शान्तीको आम्दानीले घर परिवारलाई पनि सहयोग हुन थालेपछि उनको घर बाहिरको यात्रा बाक्लो हुँदै गयो । शान्तीको यात्रामा सहयोग पुर्‍याउने गाउँका कौशिला पटेल र सुमरपतिया देवी कुर्मीले पनि शिक्षा स्वास्थ्य र सरसफाईको बारेमा चेतना दिन थाले । बौहरी गाविसकी कौशिला पटेलपनि शान्तीको पदयात्रामा हिड्न थालिन् । कोशिला भन्छिन् ‘जब शान्ति दिदी गाउँमा काम लिएर हिड्न थाल्नुभयो, तब मेरो श्रीमानले तिमी पनि शान्तीजीसँग हिँड, केहि त बुझ्छौ बाहिरी संसारको बारेमा भन्नुभो ।’ त्यसपछि आफू साना छोरा छोरी घरमै छोडेर गाउँ विकासको अभियानमा हिँडेको बताउँछिन् कोशिला ।

शान्तीको अभियानलाई साथ दिएकी अर्की महिला हुन् वर्ष ५० की सुमरपतियादेवि कुर्मी । २०५६ सालदेखि शान्तीसँगै काम गर्न थालेको सुमरपतियादेवि बताउँछिन् । मधेशी समुदायमा महिला घर बाहिर निस्केर काम गर्नु निकै चूनौतिपूर्ण भएपनि धेरै चूनौति पार गरेर उदाहरणीय काम गरेको सुनाउँछिन् उनी । बौहरी गाविसमा आउने विकास कार्यक्रम अहिले यी तीन महिलाको सल्लाहले कार्यान्वयन हुने गर्दछन् ।

१९ असार २०६१ मा तीन जना महिलाको सक्रियतामा किशोरी समूह गठन भई ५० किशोर—किशोरीलाई प्रजनन् स्वाथ्यको बारेमा जानकारी दिन सुरु गरिएको थियो । अहिले पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । यी तीन महिलाको काम गर्ने उत्साहलाई देखेर २०६८ सालमा महिला विकास कार्यालय बाराले जिल्ला सहकारी डिभिजन बारामा श्री संगिनी महिला सहकारी संस्था दर्ता गरायो । अध्यक्षता कौशिला पटेलले गरिन् । सहकारीको दर्ता गर्दा जम्मा ५ जना महिला थिए । आज ९० महिलाले महिनाको १०० रुपैयाँ जम्मा गर्छन् ।

सहकारी दर्तापछि काम गर्ने हौँसला बढेको बताउँछिन् सुमरपतिया देवि कुर्मी । लैगिंक हिंसा हुने समाजमा महिला सशक्तिकरण बढ्दा हिंसामा कमी ल्याउन  सहयोग पुग्ने उनको भनाइ छ । लैङ्गिक समस्यालाई समाधान गर्न महिला विकास कार्यालयले गाविसका सबै वडामा हिंसा निगरानी समूह गठन गरेको छ । आज त्यहि कार्यक्रमले गर्दा गाउँमा अप्रिय घटना भएको छैन ।

‘मधेशी मुलका महिलामा यति धेरै चेतना आउनु घर, समाज र देशको लागि धेरै ठूलो उपलब्धि हो’ महिला विकास कार्यालय बाराकी अधिकृत निरुलक्ष्मी श्रेष्ठ भन्छिन्, बौहरी गाविस बारा जिल्लामा नै नमूना बनेको छ ।’

शान्ती सिंह कुर्मी, कौशिका पटेल र सुमरपतिया देवी कुर्मी साथ—साथ हिँड्छ । उनीहरूको अबको लक्ष्य गाउँलाई खुला दिसा मुक्त क्षेत्र बनाउने छ । त्यसपछि गाउँमा रहेका पुराना तर जिर्ण भैसकेका मठ मन्दिरको जिर्णेद्धार गर्ने अर्को लक्ष्य उनीहरूको छ । यसका लागि उनीहरूले ७० हजार रुपैयाँ संकलन गरिसकेका छन् । भूकम्पको कारण काम रोकिए पनि अब मर्मतको काम थाल्ने उनीहरूको योजना छ । तीन जना महिलाको सक्रियता देखेर खुसी भएका गाउँले अहिले उनीहरूको प्रशंसामात्र गर्दैनन् आफ्ना छोरी बुहारीलाई पनि यस्तै सशक्त हुन सल्लाह दिन्छन् ।

प्रकाशित मिति: २०७२ असाेज १३ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: