महिला खबर
काठमाडौं, असोज १४। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै समाधान हुने दावी गर्नुभएको छ । आज राजधानीमा सकारात्मक अभियानको अनुरोध पत्र बुझ्दै नेता नेपालले आन्दोलनरत पक्ष यथाशीघ्र वार्ता र समाधानका लागि तयार हुनुपर्ने बताउनुभयो ।
सकारात्मक अभियानकी अगुवा शान्ता चौधरी र सरस्वती सुब्बासहितको टोलीले नेता नेपाललाई अनुरोध पत्र बुझाएको हो । अनुरोध पत्रमा राजनीतिक दलका नेतालाई जाति र पार्टीभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गरिएको छ ।
अभियानले अन्य दलका नेताहरुलाई पनि अनुरोधपत्र बुझाउने भएको छ ।
नेता नेपालले अनुरोध पत्र ग्रहण गर्दै समाजलाई यस किसिमको सकारात्मक अभियानको आवश्यकता रहेको बताउनुभयो । पार्टी र जातिभन्दा माथि उठेर देश सोच्ने अभियानलाई गाउँगाउँसम्म पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
नयाँ संविधानले सबै जाति, वर्ग र समुदायलाई अधिकार दिएको बताउँदै उहाँले संविधानले दिएको अधिकारबारे जनतालाई बुझाउने काममा सकारात्मक अभियानले योगदान गरोस भन्नुभयो ।
प्रकाशित मिति :२०७२ असोज १४ गते विहिवार
Comment Here!