महिला खबर
अछाम, असोज १४। श्रीमती भारत लगेर बेच्नेलाई जिल्ला अदालत अछामले ४४ वर्ष जेल सजाय र ३ लाख १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। अदालतले मानव वेचबिखन अर्न्तगतको मुद्दामा उनलाई ४४ वर्ष कैद सजाय र नगद जरीवाना फैसला सुनाएको छ।
अछामको ढाँकु ९ का ५६ वर्षीय अमर बिष्टले आफ्नी तेस्रो श्रीमतीलाई भारतमा लगेर बिक्रि गरेको अभियोगमा जिल्ला अदालतका न्यायधिस हरीप्रसाद उपाध्याय शर्मा पंगेनीको एकल इलासले बुधबार उक्त फैसला सुनाएको हो। सोही मुद्दामा अमरलाई फरक फरक दफा अनुसार ३ लाख १० हजार जरिवाना तथा एक लाख ५५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला समेत सुनाइएको छ।
मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार कसुर ठहर गर्दै अदालतले अमरलाई उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार नेत्र माझीले जानकारी दिनुभयो। माझीका अनुसार अमरलाई ऐनको दफा १५ (१) (क) बमोजिम महिला बेचेको कसुरमा २० वर्ष कैद र दुई लाख जरिवानाको सजाय सुनाइएको छ। दफा १५ (१) (ख) बमोजिम वेश्यावृतिमा लगाएको कसुरमा ११ वर्ष कैद र ५५ हजार रपैयाँ जरिवाना,विदेश लगेको कसुरमा ऐनको दफा १५ (१) (ङ) बमोजिम १३ वर्ष कैद र ५५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाईएको हो।
न्यायधिसले फैसलामा उक्त मुद्दालाई नैतिकपतन देखिने फौजदारी अभियोग उल्लेख गरेका छन्। सोही ऐनको दफा १७ (१) बम्मोजिम पीडित महिलालाई एक लाख ५५ हजार रुपैँया क्षतिपुर्ति भराउने फैसला समेत सुनाईएको अदालतले जानकारी दिएको छ।
अदालतले सोही मुद्दामा अन्य दुई जनालाई भने सफाई दिएको छ। ती महिलाले अमरसँग बिहे गराई बेच्न सहयोग गरेको अभियोगमा अमरकै दोस्री श्रीमती तुल्छि बिष्ट तथा ढाँकुकै मिनबहादुर बिष्टको नाममा पनि मुद्दा दिएकी थिइन्। उनीहरूले सफाई पाएका हुन्।
श्रेस्तेदार माझीले मावन वेचबिखन मुद्दामा अछाम अदालतले यति धेरै सजायको फैसला सुनाएको यो नै पहिलो फैसला भएको वताउनुभयो। गत माघ १५ गते अमरविरुद्ध जिल्ला अदालत अछाममा बेखबिखनको मुद्दा दर्ता गरिएको थियो। बिष्टले बिहे गर्छु भन्दै भारत लगेर ती महिलालाई १८ महिना सँगै राखेका थिए।
बिष्ट कोठामा नभएको दिन अपरिचित मानिस कोठामा आएर हामीले तिमीलाई तीन लाखमा किनेको हो, भनेर लग्न खोेजेपछि आफू भागेर बच्न सफल भएको पीडित महिलाले अदालत समक्ष बयान दिएकी थिइन्। बिष्टका अन्य दुई वटी श्रीमती छन्।
अदालतमा मुद्दा दर्ता भएसँगै प्रहरीले अमरलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो। फैसलासँगै बिष्टलाई जेलचलान गरिएको छ। पीडित महिला पक्षका कानुन व्यवसायी खडक खडकाले अदालतको यो फैसलाले मानव वेचबिखनका घट्ना न्यूनिकरणमा ठूलो मद्दत पग्ने बताउनुभयो।
प्रकाशित मितिः २०७२ असाेज १४ बिहीवार
Comment Here!