सात कक्षामा पढ्दापढ्दै साथीको सङ्गतले लागूपदार्थको लतमा फसेकी उनी ११ वर्षसम्म कुलतबाट बाहिर निस्कन सकिनन् । कुलतमा फस्दै गर्दा आफूजस्तै लागूपदार्थ प्रयोग गर्ने केटासँग प्रेममा परेर भागी बिहे गरेकी परिनाको वैवाहिक जीवन पनि राम्रो हुन सकेन । १६ वर्षको उमेरमा विवाह गरेकी परिनाको जीवन त्यसपछि झनै कष्टपूर्ण भयो ।
नुनुता राई
काठमाडौं, असोज १५ । लागूपदार्थ रोकथामको क्षेत्रमा सक्रिय रूपमा काम गर्ने व्यक्तिको नाम लिनुपर्दा परिना सुब्बा लिम्बूको नाम अग्रपङ्क्तिमा आउँछ । तर, यही नाम बनाउन परिनाले समाजसँग गरेको सङ्घर्ष निकै कठोरपूर्ण छ । छोराजस्तो स्वतन्त्र रूपमा हिँड्न नमिल्ने समाजमा लागूपदार्थको लतमा फसेर भोग्नुपरेको परिनाको अतीत जति कष्टपूर्ण छ अहिले उनले लागूपदार्थको लत छुटाउन महिलाका क्षेत्रमा गर्दै आएको काम त्यत्तिकै प्रेरणा लिन लायक छ ।
धरानमा जन्मेर काठमाडौंमा हुर्केकी सामान्य परिवारकी जेठी छोरी हुन् परिना । उनका बुबा पर्यटन क्षेत्रमा काम गर्छन् । सात कक्षामा पढ्दापढ्दै साथीको सङ्गतले लागूपदार्थको लतमा फसेकी उनी ११ वर्षसम्म कुलतबाट बाहिर निस्कन सकिनन् । कुलतमा फस्दै गर्दा आफूजस्तै लागूपदार्थ प्रयोग गर्ने केटासँग पे्रममा परेर भागी बिहे गरेकी परिनाको वैवाहिक जीवन पनि राम्रो हुन सकेन । १६ वर्षको उमेरमा विवाह गरेकी परिनाको जीवन त्यसपछि झनै कष्टपूर्ण भयो ।
अन्तरजातीय विवाह गरेकी उनले जातीय विभेदसँगै घरेलु हिंसाको पनि सामना गर्नुप-यो । आफ्नो संस्कार, चालचलनभन्दा फरक संस्कारले उनलाई असहज बनायो । श्रीमानले पनि लागूपदार्थ प्रयोग गर्ने भएकाले घरका सदस्यले जति नै अपमान गर्दा पनि उनले श्रीमानकाे साथ पाइनन् । घरका सदस्यले अपशब्द प्रयोग गर्ने र मानसिक तनाव दिने कुरा परिनाका लागि दैनिकीजस्तै बन्दै गयो । घरमा हुने यस्तो प्रकारको अपमानले उनलाई झनै दुर्व्यसनमा फस्न मद्दत ज-यो । दुर्भाग्यवश उनको वैवाहिक जीवन दुई वर्षमै बिग्रियो ।
सानोमा घरेलु हिंसाबारे सुनेकी परिना बिस्तारै आफू पनि घरेलु हिंसाको सिकार हुँदै गइन् । लागूपदार्थका कारण बीचमै पढाइ छाडेकी परिना परिवारमा मात्र होइन आफन्तबाट भोग्नुपरेको पीडाले झनै कमजोर बनाएको बताउँछिन् ।
आफ्नो कारणले परिवारले पनि निकै अपमान सहनुपरेको बताउँछिन् परिना । श्रीमानले छोडेकी दुव्र्यसनी केटीले के गर्न सक्छे र भनेर आफन्तले अपमान गर्न थालेपछि भने परिनालाई साह्रै मन दुख्यो र अब दुर्व्यसन छोड्छु भन्ने अठोट मनमा आयो । त्यसपछि दुर्व्यसनको लतबाट निस्कन अनेक उपाय अपनाउन थालिन् ।
बिस्तारै काम खोज्दै विभिन्न संस्थामा जाने सिलसिलामा परिनाले कुनै संस्थामा काम पाइन् । अङ्गे्रजी राम्रो भएकाले अङ्ग्रेजी ट्रान्सलेटरको रूपमा काम पाइन् । त्यही कामको सिलसिलामा अमेरिकन महिला लिलियनलाई भेटेकी परिना त्यो भेट आफ्नो जीवनकोे टर्निङप्वाइन्ट बनेको बताउँछिन् ।
ट्रान्सलेटरको कार्यक्रम सकिनै लाग्दा लिलियनले अचानक तिमी के गर्न चाहन्छ्यौ भनेर सोधेपछि सहयोग र साथ पाएँ भने मजस्तै जातीय उत्पीडनमा परेका, घरेलु हिंसामा परेका र दुर्व्यसनमा फसेका महिलाका लागि काम गर्न चाहन्छु भन्ने इच्छा देखाएपछि उनलाई यसका लागि साथ मिलेको थियो । जो सुध्रिन चाहन्छन् उनीहरूका लागि एउटा डे केयर खोल्न चाहन्छु भन्ने इच्छा देखाएपछि लिलियनले विश्वास गरेर साथ र सहयोग गरेकाले नै जिन्दगीको सकारात्मक बाटोतर्फ पाइला चालेको बताउँछिन् परिना ।
११ वर्षअघि लिलियनको ५० हजार सहयोगले दृष्टि नेपाल भन्ने संस्था खोलेकी परिनालाई सुरुका दिनमा संस्था चलाउन निकै समस्या प-यो । उनी भन्छिन्, ‘दुर्व्यसनमा फसेर सुध्रिन चाहने महिला दिदीबहिनीलाई सुधार्न संस्था खोलेँ, तर कसरी चलाउने भन्ने ज्ञान नहुँदा सुरुमा एकदमै गाह्रो भयो ।’
दुर्व्यसनमा फसेकालाई नखा भनेर गाली मात्र गर्ने, तर किन खाइराखेको छ भन्ने कुरा नबुझ्दा साह्रै रिस उठ्ने गरेको सम्झना छ उनलाई ।
सुरुका दिनमा लागूऔषध छोडेर केही गर्छु भनेर लागे पनि कसैले विश्वास नगरेको तीतो अनुभव छ उनीसँग । तर, अहिले बिस्तारै विश्वास गर्नेहरू बढेका छन् । आफन्तले गरेको अपमानले नै सुध्रिने मौका मिलेको भन्दै त्यो अपमानलाई पनि सकारात्मक रूपमा लिएकी छिन् उनले ।
आफ्नो परिवार, आफन्त र समाजले विश्वास नगरेको अवस्थामा एकजना नचिनेको व्यक्तिको साथ र सहयोग पाउनु ठूलो कुरा भएको भन्दै आज आफ्नो सबै सफलता लिलियनले गर्दा भएको बताउँछिन् उनी ।
दुःख पर्दा साथ नदिने समाजले राम्रो गर्न खोज्दा पनि साथ नदिएको देख्दा दुःख लाग्ने बताउँछिन परिना । राम्रो गर्दा वा नराम्रो दुवैमा साथ नदिने यो समाजले खास के गर्दाचाहिँ साथ दिने होला जस्तो मनमा लागिरहेको हुन्छ ।
आज संस्था चलाएको १० वर्षको अनुभवले उनमा आत्मबल बढेको छ । काम गर्ने क्षमता बढेको छ, परिवार र आफन्तसँग खुलेर कुरा गर्न सक्ने हैसियत बनेको छ उनको । १० वर्षमा एक हजार चारजनालाई नयाँ जीवन दिएकी परिनाले समयले मानिसलाई निकै कठोर बनाउने बताउँछिन् । परिनाले विदेशी डलर खान यो सब गरिरहेकी छे भन्नेहरू पनि छन् । उनी त्यस्ताहरूलाई एकपल्ट दृष्टि नेपालको अफिस आएर हेर्न अनुरोध गर्छिन् । काम गर्ने र काम नगर्ने संस्थालाई एउटै आँखाले हेर्दा निकै पीडा हुन्छ उनलाई ।
दिदीबहिनीदुर्व्यसनमा फसे र सुधारगृहमा बस्नका लागि जोसँग पैसा हुँदैन त्यस्ताहरूका लागि १० वर्षदेखि काम गर्दै आएको संस्था हो दृष्टि नेपाल । हुन त यो संस्था पनि विदेशीले दिएको सहयोगबाट नै चलेको छ । तर, उनी कामभन्दा धेरै दाम कमाएर जाने डोनरसँग काम गर्दिनन् । कतिपय डोनर हजारको काम दिने र लाख कमाएर लाने गर्छन् ।
दुर्व्यसनमा फसेका महिलालाई हेर्ने सामाजिक दृष्टिमा परिवर्तन आउन वर्षौं लागे पनि यो गरिबीसँग पनि जोडिएको भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन ।
दुर्व्यसनमा फस्नुको कारण पत्ता लगाएर यसप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र आफूजस्ता महिला खुलेर बाँच्न सक्ने बताउँछिन् परिना । यसका लागि महिला शिक्षित हुन जरुरी छ ।
समाजलाई सकारात्मक बनाउन एकदम गाह्रो छ । आ“खाले देख्दा पनि सकारात्मक हुन नसक्ने, सुनेको भरमा नकारात्मक भइदिन्छ । सामान्य महिलालाई हेर्ने दृष्टिकोण फरक छ । अहिलेको संविधान मस्यौदामै महिलाको हकअधिकारलाई नसमेटिएको अवस्था छ । यसमा झन् पूर्वदुर्व्यसनी महिला त महिला नै होइन कि भन्ने खालको व्यवहार गरिन्छ । आजसम्म दृष्टिले मात्र ४० जना पूर्वदुर्व्यसनी महिलालाई रोजगारी दिएको छ ।
दृष्टि नेपालले दुर्व्यसनमा परेकालाई निकाल्ने मात्र नभएर महिलाको क्षमता अभिवृद्धि गर्ने काम पनि गर्दै आएको छ । पढाइलाई निरन्तरता दिन वातावरण बनाइदिने, एकल आमाका छोराछोरी पढाउन दाता खोजिदिने गर्छ । अहिले संस्थाले एचआईभी सङ्क्रमित महिला र एकल आमाका लागि पनि काम गरिरहेको छ । दृष्टि नेपालमा २००६ को सेप्टेम्बरदेखि २०१५ को फेब्रुअरीसम्म एक हजार चारजनाले सेवा पाएका छन् ।
यस अर्थमा उनी आफू केही हदसम्म सफल भएको महसुस गर्छिन् । ‘मलाई मेरो बाबाममीले नाम कमाइस्, दाम कमाइनस् भन्नुहुन्छ । मेरो छोरा पनि छ, उसलाई कसरी पढाउने होला भन्ने चिन्ता पनि बेलाबेला लाग्छ । फेरि म पैसा कमाउन काम गरिरहेको छैन भन्ने पनि लाग्छ । अनि चुपचाप काम गर्न थाल्छु,’ उनी भन्छिन्, ‘म अधिकारकर्मी हो र अधिकारकर्मी पेसा होइन जो पैसा कमाउनका लागि भन्ने लाग्छ । सानो सकारात्मक परिवर्तनबाट नै ठूलो आत्मसन्तुष्टि प्राप्त हुन्छ भने त्यो नै परिवर्तन हो र म समाज परिवर्तनका लागि हि“डेकी हुँ । मेरो छोराले मप्रति गर्व गर्न सकोस् भन्ने किसिमले लागिपरेकी छु ।’
२०१४ मा अस्ट्रेलियामा पाएको रेड रिबन अवार्ड पनि उनका उपलब्धिमध्ये एक हो । सो अवार्डका लागि विभिन्न देशका विभिन्न संस्था नोमिनेसनमा परे पनि महिला दुव्र्यसनीको क्षेत्रमा सकारात्मक काम गरेको भनेर दृष्टि नेपाललाई दिएको थियो । खासमा सरकारीस्तरबाट त दुव्र्यसनीका लागि केही भएको छैन भन्दा पनि हुन्छ । पछिल्लो समयमा कतिवटा नयाँ–नयाँ लागूपदार्थ आइसके, यसबारेमा खै त सरकारले अनुगमन गरेको ? अहिले दुर्व्यसननी घट्नुको सट्टा बढिरहेका भए पनि यसलाई नियन्त्रण गर्न सरकारी स्तरबाट कुनै काम नभएको परिनाको गुनासो छ ।
दृष्टि नेपालमा दिदीबहिनीलाई राख्न सहज होस् भन्दै एउटा ‘ह्याप्पी होम’ बनाउने अभियानमा लागेकी परिनाले ती दिदीबहिनीलाई सीप सिकाएर उनीहरूले बनाएका सामानको काठमाडौंका विभिन्न ठाउँमा स्टल राखिएको छ । त्यसैका लागि आगामी सेप्टेम्बरमा आफन्तको सहयोगमा सामान बिक्री गर्न यूके जाने योजना बनाएकी छिन् परिनाले । ती सामान अन्य देशमा पनि पठाउने सोच छ उनको ।
दुर्व्यसननीका लागि सरकारी पक्षबाट केही पनि गर्न खोजिएको छैन । अहिले पनि नेपाल सरकारलाई कति दुव्र्यसनी छन् भनेर थाहा नै छैन । सरकारस“ग एउटा डाटा छ, तर कहाँ, कसरी र कहिले अनुगमन गरेको हो भन्ने थाहा छैन अथवा कुन स्रोतबाट लिइएको हो थाहा छैन ।
१० वर्षदेखि आफू यही क्षेत्रमा काम गरिरहे पनि सरकारीस्तरबाट एकपटक पनि आफ्नो संस्थामा अनुगमन वा अन्य कुनै जानकारीको रूपमा नआएको बताउँछिन् परिना । अहिले सानै उमेरमा लागूपदार्थ प्रयोग गर्नेको सङ्ख्या बढेकाले यो समस्या कम गर्न तत्काल निकासको उपाय निक्र्योल गर्न सुझाव दिन्छिन् परिना । पछिल्लो समयमा धेरै समन्वय हुन्छ, तर जुन किसिमको अनुगमन, लगानी हुनुपर्ने हो त्यो भएको छैन ।
प्रकाशित मिति २०७२ असोज १५ गते शुक्रवार
Comment Here!