बेलीमाया लामा : पानी खुवाउने आमा


प्रकाशित मिति :2015-10-05 11:52:52

कोशिस गरे असम्भव केही हुँदैन भन्ने उदाहरण हुन बेलीमाया लामा। गाउँमा यस्ता दुई—चार जना मात्रै हुने हो भने विकासका लागि अरुको मुख ताकिरहनु पर्दैन।

गीता मैनाली

पिन्थलीकी छहारी तिमी
बेली बृक्ष बनिदियौ,
दुःखको आँशु पिएर तिमीले
पिन्थलीलाई पानी दियौ।

काभ्रे मंगलटार ७ र ९ का पिन्थलीबासीले पिउने हरेक घुट्को पानीमा बाँचेको नाम हो, बेलीमाया लामा। १२ बैशाख २०७२ मा गएको भूकम्पले बेलीको बोली र होसहवास् उडाई दिएको छ। ९० वर्षकी बेलीलाई कान्छी छोरी मन्जु लामाले बच्चालाई जस्तै स्याहार सुसार गरेर राखेकी छन्। बेलीको पूरा होश छैन। वाक्य पनि प्रष्ट छैनन्। दिसा पिसाब खुस्किएको थाहा पाउँदिनन्। ८२ वर्षका बृद्ध बाबु र ९० वर्षीया आमाको हेरचाहमा मन्जुले आफ्नो जीवनको अर्थपूर्ण समय खर्च गरिरहेकी छन्।

unnamed
काभ्रे जिल्लाको भिमखोरी गाविस वडा नं ३ भैंसेमा जन्मिएकी थिइन् उनी। १९८३ सालमा जन्मेकी बेलीमाया लामाको वास्तविक नाम रत्नकुमारी हो। इमानसिंह लामाका दुई श्रीमतीबाट जन्मिएका २० सन्तानमध्ये हालसम्म जिवित रहेकी बेली कान्छी श्रीमती पट्टीका ९ छोरा र ५ छोरी गरी १४ सन्तान मध्ये साईली छोरी हुन्। बेलीले आफ्नो जीवनमा राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक पक्षका धेरै आरोह अवरोह प्ाार गरेकी छन्। माईतीघरमा सुखसँग हुर्केकी बेलीलाई २२ वर्षको उमेरमा आफ्नो इच्छा विपरित ८ वर्ष कान्छो केटासँग विवाह गरेर काभ्रे मंगलटार ९ पिन्थलीमा पठाइयो।

यो गाउँमा पानीको अत्यन्तै दुःख थियो। माईत जाँदा आमा र परिवारजनले सञ्चो विसञ्चो र दुःख कष्टका बारेमा सोधपुछ गर्दा पानीको अभावका कारण धेरै दुःख पाएको बताउँने गर्थिन् बेलीे। भिर,पहराको बाटो घण्टौ लगाएर ज्यान नै जोखिममा पारेर पानी बोकेर ल्याउनुपर्थ्यो। त्यसको विशेष जिम्मेवारी बुहारीकै हुने भएकाले पनि बेली दुःखी थिइन्।

छोरीको दुःखको कारण सुनेपछि त्यसको विकल्पका बारेमा खोजी गर्न माईतीले बेलीलाई सल्लाह दिए। उनले गाउँमा सरसल्लाह गरेर पानीको मुहान खोज्न थालिन्। तीन किलोमिटर पर पल्लो डाँडा महाभारत लेकको फेदीबाट बग्ने दाउने खोलाबाट पानी ल्याउँन सकिने सम्भावना देखिन् र माईतीमा गएर जानकारी गराईन्।

unnamed (2)

उनकी हजुरआमाले नातिनीलाई हौस्याउँदै भनिन्  रावणले पनि स्वर्ग जाने सुनको सिडी बनाउँछु भनेर सोचेको थियो रे। तिमी सोचेको कुरा आँटी हाल पूरा हुन्छ। हजुरआमाबाट पाएको हौसला लिएर घर गईन र आफ्नो योजनाका बारेमा बताईन्। तर ससुराहरूले उनलाई हतोत्साही बनाईदिए।

आजभन्दा ५५ वर्षअघि पुरुष साक्षारता नै प्रायः शुन्य अवस्थामा थियो पिन्थलीको तामाङ बस्ती। पल्लो गाउँबाट सामान्य साक्षर बुहारीको रुपमा भित्रिएकी महिलाको अगुवाईमा बनेको खानेपानी योजना सफल होला भनेर यो गाउँमा विश्वास गर्ने कोही थिएन।

मंगलटारका ब्राह्मण जातिका शिक्षाविद्हरूले दाउने सिँचाई आयोजना निर्माण गर्ने भनेर कागज तयार गरेर टोलका घरघरै पुगेर सहिछाप गराउँदै थिए। अर्कातिर बेलीले निरक्षर पिन्थलीबासी तामाङ समुदायलाई साथमा लिई कोदालो, घन, पिक र छिना लिएर घामको झुल्कोसँगै पिन्थली सिंचाई कुलो निर्माणकार्य थालिन्। सुरुमा गाउँलेले साथ नदिँदा पल्लो गाउँ टिकनपुरबाट नौजना ज्यामी ल्याएर कुलो खन्ने कार्य शुभारम्भ गरेकी थिइन्।

कुलो खन्ने क्रममा ढुङ्गाको ठूलो पहाड भेटियो। त्यसलाई पनि निरन्तर फलामको छिनाले कोपेर सुरुङ बनाई पानीलाई पिन्थलीमा ल्याइछाडिन्। उक्त कार्य सम्पन्न गर्न १८ जना मजदुरलाई सात महिना लागेको थियो। उनले माईतीबाट दाईजोमा पाएको गहना बेचेर २५ सय रुपैयाँ मजदुरलाई ज्याला दिईन्। त्यतिबेला बेलीले धेरै नै सामाजिक एवं मनोवैज्ञानिक समस्याको सामना गर्नुपर्‍यो। अनेकौ वादविवाद र बाधा अड्चन आए।

तर, अन्तत १३ फागुन २०१६ मा दाउने खोलाको पानी पिन्थलीमा ल्याइ छाडिन्। उनको यो साहसिक कार्यलाई पलदेन वाङ्वो र डुप्छेन नाम्गेलले भने पूर्णरुपमा सहयोग गरेका थिए। पानी ल्याएपछि बेलीका विरोधीहरू पनि खुसी भए र उनलाई स्वागत गर्न थाले।

पानीको महत्व बुझेर त्यसपछिका वर्षहरूमा गाउँलेहरू मिलेर उक्त कुलोको जिर्णोद्धार गर्दै व्यवस्थित गर्न थाले। पानीका कारण पिन्थलीले आफ्नो मुहार फेर्‍यो। बाह््रै महिना पिन्थली गाउँ हराभरा हुन थाल्यो। त्यही पानीको स्रोतबाट गाउँमा बिजुली निकाल्ने, धान कुट्ने मिल, काठ चिर्ने मेशीन स्थापना भए। पिन्थली गाउँ यतिबेला त्यसभेकको नमुना गाउँ बन्न पुगेको छ। त्यतिबेला बेलीमाया लामा एउटा असाधारण महिला थिईन्। पिठ्युमा एकवर्षको छोरा बोकेर सरकारी कार्यालय गई अन्याय परेकालाई न्याय दिलाउँथिन्।

पञ्चायती व्यवस्थाको पछिल्लो निर्वाचनमा पिन्थलीबाट जनप्रतिनिधि बन्न कोहीपनि पुरुषले आँट नगरे पछि बेली आफैँ अघि सरिन्। त्यतिबेला नेपाली भाषा जान्ने र हस्ताक्षर गर्न जान्ने गाउँकी एकमात्र महिला थिइन् उनी। दृढ सङ्कल्प र स्पष्ट वक्ता बेली सँधै सृजनात्मक कार्यका लागि उत्साहित हुन्थिन्।

सामाजिक र कानुनी न्यायको पक्षधर अति परिश्रमी महिला बेली आफूलाई सङ्कट पर्दा आफैँ घोडा चढेर काममा जान्थिन्। निडर र कर्मठ बेलीले पिन्थलीबासीलाई उपहार स्वरुप पानी ल्याइदिएर दुईचार वर्षपछि तराई रौतहटको मैरा हुँदै बाराको निजगढमा बसाईं सरिन्। उनले त्यहाँ पनि समाजसेवामा पुर्‍याएको योगदानले मैरामा मैराबुढी र निजगढमा बेलीबुढीको नामले प्रख्यात छन्।

घरपरिवारलाई भन्दा समाजलाई महत्व दिने बेलीको स्वभावले गर्दा घरबाट बाहिर निस्कने बित्तिकै बच्चादेखी बुढासम्मले ल्हासो माम् भन्दै दुई हात जोडेर स्वागत गर्थे। बच्चाहरूले अहिले पनि उनलाई माम्बुढी भनेर चिन्दछन्। हाल काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा पति र कान्छी छोरीको हेरचाहमा अर्थपूर्ण जीवनको अन्त्य निहाली रहेकी उनलाई १७ असोज २०६७ मा विश्व पानी दिवसको अवसर पारेर पिन्थलीबासीले सम्मान गरे।

मानिसले कोशिस गरे असम्भव भन्ने कुरा हुँदैन भन्ने पाठ बेलीमाया लामाले सिकाएकी छन्। बेली पिन्थलीबासीकी मात्र नभएर सिङ्गो देशकै उदाहरण हुन्। तर बेलीलाई भेटेपछि यसको पत्तो यस देशका शासकलाई नभएको प्रतित हुन्छ। जे होस् बेलीआमाको सु(स्वास्थ्य र दिर्घायुको कामना गर्दछु। ल्हासो माम् !

प्रकाशित मितिः २०७२ असाेज १८ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: