कृष्णमाया उपाध्याय
जुम्ला, असोज १९ । बालकल्याण समितिले जुम्लामा सञ्चालित बालगृहको अवस्था र उनिहरूले गरिरहेको कामको बारेमा दशै अगाडि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
समितिले दर्ता नगरि सञ्चालनमा आएका र दर्ता भएरपनि समयमा रिर्पोट नपठाउने बालगृहका सञ्चालकहरूलाई यस्तो निर्देशन दिएको हो । जुम्लामा अहिले सरकारको सहयोग र व्यक्तिगत ढंगबाट गरेर ७ वटा बालगृह सञ्चालनमा रहेको जिल्ला बालकल्याण समिति जुम्लाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो ।
उहाँका अनुसार मापदण्ड अनुसार सञ्चालन भएका बालगृहले पनि बालबालिकाको रिर्पोट समयमा समितिमा बुझाएका छैनन् ।
मापदण्ड विपरित सञ्चालनमा आएका बालगृहलाई तत्काल बन्द गर्नका लागि सबै बालगृहको रिर्पोट माग गरेको समितिले जानकारी दिएको छ ।
जुम्लामा सञ्चालन भएका सबै बालगृह सञ्चालकहरूले अनाथ, गरिब तथा द्धन्द्ध पिडित बालबालिकालाई संरक्षण दिदैँ आएको बताएका छन् । महिला विकास अधिकृत अनिता ज्ञवालीले वर्षको २ पटक बालगृहको अवस्था अवलोकन गरेर महिला तथा बालबालिका कार्यालयमा रिर्पोट पठाउनु पर्ने जानकारी दिनुभयो ।
मापदण्ड अनुसार बालगृह सञ्चालनका लागि बालबालिका भर्ना गर्नको लागि सम्बन्धित निकायले सिफारिस गरेको हुनुपर्ने बताउनु भएको छ ।
बालबालिकालाई कसैले पनि आफ्नो मनोमानी ढंगबाट भर्ना गर्न र अन्यत्र लैजान नपाउने र बालगृहमा भर्ना भएका बालबालिकाले पाउनु पर्ने सम्पूर्ण अधिकारको सुनिश्चित गरेर मात्र सञ्चालन गर्न पाउने प्रावधान रहेको समेत ज्ञवालीको भनाईछ ।
प्रकाशित मिति २०७२ असोज १९ गते मंगलवार
Comment Here!