विष्णु बस्नेत
मेरो नाम विष्णु बस्नेत हो । हामी अहिले धनगढी हसनपुरमा बस्छौं । भुपू भारतीय सैनिक मेरा श्रीमान कृष्ण बहादुर बस्नेत भारत र पाकिस्तानको लडाईमा पटक–पटक भारतीय सैनिकको तर्फबाट लड्नु भएको छ ।
भारतको भूमि र राष्ट्रियताको रक्षाको लागि अरु गोर्खाली सेना जस्तै उहाँको भूमिका कत्तिपनि कम छैन् । जम्मुमा लडाई हुँदा उहाँले धेरै पटक आफ्नो ज्यानको माया मार्नुभएको थियो र हामीलाई आफूविना बाँच्नका लागि तयार रहन भन्नुहुन्थ्यो ।
हामीले लडार्इंमा नजान भनेपनि मान्नु हँदैनथ्यो । आखिर फौजीको काम नै राष्ट्रियताको लागि लड्नु हो । कश्मिरमा बस्दा श्रीमानको मृत्युसँग सम्मुख हुनु मेरो दिनचर्याजस्तै थियो ।
भारतीय सेनामाले २४ वर्ष सेवा गर्नुभयो । यसविचमा कश्मिरमा ९ वर्ष बस्नु भयो । त्यहाँ उहाँको ४२ नम्बर रहेछ । त्यसैले उहाँलाई ४२ नम्बर भनेर चिन्थे । घरमा म र छोरा–छोरी थियौ । कतिखेर अशुभ खबर आउने हो भनेर म सँधै आधा हुन्थेँ । पीर अनिश्चिय थियो । सहनु र पर्खनु बाहेक हामीसँग विकल्प थिएन ।
कैलालीमा वल्लापल्ला घरका छरछिमेकी मलाई पनि बयालिस्नी भनेर चिन्थे । मलाई त बोलाउँदा र केही काम परेपनि बयालिस्नी भनेर बोलाउँथे । कतिपय अवस्थामा त त्यो शब्द सुन्दा गर्व पनि लाग्थ्यो तर युद्धमा रहेका श्रीमानको दैनिकी सम्झँदा झसङ्ग हुन्थेँ ।
श्रीमानले घर परिवारलाई समय दिन भ्याउनुहुन्थेन । एक वर्षमा यस्तै एक–दुई महिना घर आउनुहुन्थ्यो । साथीभाई र आफन्तसँग भेटघाट गरेरै विदाको समय सकिन्थ्यो । परिवारले भने चाहेको सयम कहिल्यै पाउँदैनथे । दुई छोरा, दुई छोरीको परिवार थियो हाम्रो । घरमा छोराछोरीलाई हुर्काउने काम मेरो थियो ।
छोराछोरी आफ्ना बुबालाई औधी माया गर्थे । बुबा आएपछि आमाको वास्ता हुँदैनथ्यो । कान्छी छोरी खेमा त झन बुबा भनेपछि हुरुक्कै हुन्थिन् । बाबा घर कहिले आउने बाटो कुरेर बस्थिन् । उहाँपनि पनि छोराछोरी र मलाई धेरै माया गर्नुहुन्थ्यो ।
घर आउँदा उतैबाट मिठोमिठो कोसेली लिएर आउनुहुन्थ्यो । बयालिसे (कृष्ण बहादुर) घर आएछ भनेर छर–छिमेकका सबै मानिस भेटघाट गर्न घर आउँथे । श्रीमानले ल्याएको कोसेली मैले सबैलाई दिन्थेँ । उनीहरू पनि लाहुरेको कमाई खान पाइयो भनेर खुशी हुन्थे ।
हाम्रो पुख्र्यौली घर गुल्मी जिल्लाको दोहली गाविस ७ मा पर्छ । उहाँ पनि त्यही जन्मनु भएको हो । प्रायःजसो पश्चिमतिरका पुरुष लाहुरे हुने चाहना राख्थे । अहिले पनि छ । श्रीमान लाहुरे भएपछि हामी सुदूरपश्चिमको कैलालीस्थित फुलबारी बसाइ सर्यौं । त्यहाँबाट पनि हामी जिल्ला सदमुकाम धनगढीमा वहालमा बस्यौं । छोराछोरी हुर्कदै गए ।
भारतीय सेनामा जागिर गर्दा अभिभावकबाट पाउने माया, स्नेहबाट हामी २४ वर्षसम्म वञ्चित भयौं । आर्थिक अवस्था र नेपालीको नियतिको कारण परदेशिनु परेको बाध्यता सम्झँदै र भविष्यमा सुख पाउने आशामा उहाँको अनुपस्थितिलाई स्वीकारेका थियौँ र उहाँको जागिरे जिवनलाई हामीले साथ दिएका हौं ।
२४ वर्षको सेवा अवधिपछि भारतीय सेनाबाट उहाँको अवकास भयो । अवकासपछि घरपरिवारले पनि एक साथ बस्ने मौका पाए । जिवनमा खड्किएको अभिभावकत्व म र छोछोरीले पाए । हामीले खुशी र सुशी साथ बस्यौं ।
उहाँको पल्टनबाट अवकास भएपछि उहाँले पेन्सन पाउन थाल्नुभयो । यसबाट हामीहरूको गुजारा चलेको थियो । हामीलाई लाग्थ्यो अब उहाँको अभाव हामीलाई कहिल्यै हुने छैन । छोराछारी र श्रीमानसँगै खुशीसँग जिन्दगी विताउनु पाउँदा सम्पुर्ण कुरा पाएजत्तिकै भएको थियो ।तर, दैवको लिला नमेटिने रहेछ । २४ वर्षसम्म उहाँबाट नपाएको माया त्यसपछि पाउने आशा र सपनामै तुहियो ।
२०६२ साल साउन ८ गते गुल्मी गएको वेला उहाँले हामी सवैलाई सँधैका लागि छोडेर जानुभयो । हामी फेरी एक पटक सधैको लागि वेसाहरा बन्यौं । उहाँको निधनपछि हामीले झनधेरै समस्या झेल्नुपर्यो । आर्थिक, मानसिक र सामाजिक रुपमा अझ टुहुरा हुन पुग्यौ ।
यसअघि उहाँले पाउँदै आएको पेन्सन समेत हामीले पाएनौं । भविष्यमा पेन्सनले त गुजारा गरौंला भनेर युवाअवस्थामा इच्छा त्यागेका थियौं । तर उहाँको निधनपछि विभिन्न वाहनामा पेन्सन दिन रोकिएपछि हामी झन विचल्लीमा पर्यौं ।श्रीमानको निधनपछि पेन्सनका लागि म धेरै पटक काठमाडौंमा रहेको भारतीय दुतावासमा धाएँ ।
श्रीमानले खुकुरीको धारमा टेकेर लडेको युद्धवापत पाएको सुविधा पेन्सन उहाको सेखपछि मैले पाउनुपर्ने हो । तर यसको पछाडी धाउँदा–धाउँदा ११ वर्ष वितिसकेको छ । कागजात नमिलेको वाहना गर्दै हामीलाई पेन्सनपट्टटा दिइएको छैन । तरपनि हामी भारतीय दुतावासमा धाउन छोडेका छैनौं ।
उता (भारत) बाट रेस्पोन्स आएको छैन, २ महिना पछि आउनु भन्दै पन्छाउँछ । दुई महिनापछि गए, जवाफ उहि हुन्छ । दुतावास धाउँदा–धाउँदा पैसा पनि धेरै खर्च भइसेको छ । के कति कारणले रोकिएको हो वा ढिलो भएको हो त्यो पनि जानकारी दिएको छैन ।
अहिल मेरोे परिवार आर्थिक समस्यामा छ । भारतको रक्षार्थ ५ जना परिवारले लुटाएको खुशी झनै बल्झेको छ । हामीलाई मेरो श्रीमानको रगत पसिनाको कमाइ उसको परिवारले स्वत पाउनुपर्ने अधिकार हो र धेरैले श्रीमानको मृत्युपछि श्रीमानको पेन्सन पाइरहेका पनि छन् । तर, हामीमाथि भइरहेको व्यवहार अन्य लाहुरेको परिवारले भोग्नु नपरोस भन्ने लाग्छ । हामीलाई अन्याय भएको छ । यो अन्यायविरुद्ध म अझै लड्छु ।
त्यतिमात्रै होइन् एक पटक ‘बयालिस्नी’ हुनुको गर्व जति ममा थियो । आज पीडा र पछुतो हुन थालेको छ । न श्रीमानसँग जिन्दगीभर सँगै बस्न पाइयो न त उहाँको अनुपस्थितिमा उहाँले गरेको सेवा वापतको सुविधा पाइयो । मलाई आज उहाँमाथि भारतले अन्याय गरेको र ठगेको महशुस भइरहेको छ । पेन्सन पाए दैनिक गुजारा सहज हुने आशामा बसेका मेरा छोराछोरी यतिवेला निराशामा छन् ।
पेन्सन पाउनका लागि नमिलेको कागजात मिलाउन हामी भारतै जान तयार छौ । तर, भारतीय दुतावासले यहिबाट मिलाउन सकिन्छ भन्दै नजान भन्छ । कहिलेसम्म ? हामी निकै अप्ठेरो अनिश्चियमा छौं ।
‘आखिर के मेरो श्रीमानले घरपरिवारको खुशीलाई तिलाञ्जली दिएर २४ वर्षसम्म भारतको सार्वभौम र राष्ट्रिता रक्षाको लागि लडेको सम्मान यही हो ??’ सम्बन्धित निकायले मेरो यो प्रश्नको जवाफ छिट्टै दिने छ र हामलिे पाउनुपर्ने सेवा सुविधा छिट्टै पाउने छौं । ‘भारतको रक्षा गर्न बलिदान गर्ने सैनिकको परिवारको रक्षा गर्ने जिम्मेवारी सम्बन्धित सरकारको हो कि होइन् ??’यदि पाइँदैन भने भनि दिनु पर्यो किन पाइँदैन् ? पाइन्छ भने कहिले पाउँछ ?? तिम्रो जवाफको शिघ्र प्रतिक्षामा ।
Comment Here!