नारायण ढुंगाना
चितवन, असोज २०। कालो व्लाउज र सेतो धोतीमा सजिएका महिलाको घाँटीमा चाँदीको हँसुली छ । पाखुरा, नाडी र खुट्टामा चाँदीका मन्टिका, चकती, टाँडीया र गुडुल्ला लगाएका उनीहरूले परम्परागत भेषमा सजिएर जितीया पर्वमा रमाए ।
वर्षदिनमा एकपटक आउँने जितिया थारु महिलाले तीन दिनसम्म मनाउने गर्दछन् । आफ्नो र परिवारको सुखमय जिवनको कामना गर्दै तीन दिनसम्म ब्रत बस्ने र जितवहानको कथा सुन्ने प्रचलन छ ।
उनीहरूले जितिया पर्वमा झमटा नाचेर धुमधामले मनाईए । यही असोज १७ देखि सुरू भएको जितियाको १९ गते पारायण गरी साँझ मिठो मसिनो खाएर विदाई गरेका छन् ।
असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म चाड मनाईन्छ । सप्तमीमा दर खाने अर्थात् लाहा खाने दिनको रुपमा मानिन्छ । अष्टमी अर्थात् दोस्रो मुख्य दिन अष्टमीमा उपवास बस्ने अनि सबै महिला जम्मा भएर झमटा नाँचेर रमाउँछन् । नवमीमा समापन हुन्छ ।
अन्तिम दिन पारन गरेपछि जितीया समाप्त भएको मानिने थारु अगुवा बासुदेव चौधरीले जानकारी दिए । विहानै ब्रतालु थारु महिलाले नदी किनारमा गएर पुँजा आजा गरी घरमा झमटा नाचेर मनाउँछन् ।
थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष विश्राम महत्तोले जीतवहानको योगदानको पथमा लाग्न आग्रह गर्नुभयो । जितवहानको कथाले अनुशासन र नैतिकता र कर्तव्यपरायण बन्न प्रेरणा दिन्छ । पछिल्लो समयमा एकहप्ता अघिदेखिनै यो पर्व मनाउने गरिएको छ ।
थारु अगुवा बासुदेव चौधरी दशक अघि हराएको संस्कृतिलाई फेरी युवा पुस्तासम्म लोकप्रिय बनाउन एक दशकसम्म ठूलै संघर्ष गर्नुपरेको बताउँछन् । ब्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पुँजा गर्दछन् ।
परिवारको कामना गरेर उनीहरूले गीत गाउँदै तेस्रो दिनको साँझ मिठो खाना खाएर यो चाडलाई विदा गर्ने परम्पराछ । मुख्य गरी जीतवहानलाई पुजा गरेर जितिया मनाईने चलन छ ।
प्रकाशित मिति २०७२ असोज २० गते बुधवार
Comment Here!