महिला खबर
नेपालगन्ज, असोज २० । बाँकेमा महिला उद्यमीका नाममा दर्ता भएका प्रतिष्ठानको सञ्चालन पुरुषले गर्दै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा दर्ता भएका महिलाका नामका ४ सय प्रतिष्ठान मध्ये करिव १ सय ५० प्रतिष्ठान पुरुषले सञ्चालन गर्दै आएको पाईएको छ ।
महिलाका नाममा दर्ता भएका फर्म तथा प्रतिष्ठानलाई बैंकिङ कारोवार गर्दा सहुलियत हुने भएकोले नाम महिलाको गर्ने तर, काम र दामचाहिँ आफैले चलाउने गरेको पाईएको नेपालगन्ज उद्योग वाणिज्य संघकी उप–महासचिव रचना श्रेष्ठको बुझाई छ ।
‘महिला उद्यमीलाई संघबाट विशेष सुविधा उपलब्ध गराउन नसके पनि कानुनी प्रक्रिया र बैंकिङ प्रक्रिया लगायतका विषयमा सहजिकरण गर्दै आएका छौँ ।’ श्रेष्ठले भन्नुभयो—‘अझै पनि महिला उद्यमी आफै अग्रसर हुन नसक्दा पुरुषनै अगाडि लाग्ने गरेका छन् ।’
अघिल्लो वर्षसम्म महिलाको नाममा दर्ता भएका प्रतिष्ठानको संख्या ३ सय ६५ रहे पनि अहिले ४ सय पुगिसकेको छ । पछिल्लो पटक सौन्दर्य व्यवसायमा महिलाको संलग्नता बढेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर महिला उद्यमीलाई व्यवसाय व्यवस्थापन र अग्रसरता गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले पहल गरिरहेको संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा अहिले उप–महासचिवमा रचना श्रेष्ठसँगै कार्य समिति सदस्यमा ताराकुमारी रोकाय, गंगा लम्साल र कुसुम बस्नेत रहनुभएको छ ।
प्रकाशित मिति २०७२ असोज २० गते बुधवार
Comment Here!