महिला खबर
दाङ, असोज २२ । लैङ्गिक अल्पसंख्यकहरूको अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील दाङकी शिल्पा चौधरीले आफ्नो लैङ्गिक पहिचानसहितको नागरिकता प्राप्त गरेका छन् । उनी राप्ती अञ्चलमै पहिचानसहितको नागरिकता प्राप्त गर्ने पहिलो तेस्रोलिङ्गी हुन् । जिल्ला प्रशासन कार्यालयमार्फत् यहि असोज १३ गते पहिचानसहितको वंशजको नागरिकता प्राप्त गरेका हुन् ।
नागरिकतामा उनको फोटो र लिङ्ग परिर्वतन गरी लेखिएको छ तर, नाम भने परिवर्तन गरिएको छैन् । नागरिकतामा अहिले पनि उनको नाम बल बहादुर चौधरी लेखिएको छ । ‘नाम पुरानै भएपनि आफ्नो लैङ्गिकपहिचान झल्किने नागरिकता पाएकोमा म एकदमै खुसी छु, उनले भने आफ्नै पहिचान झल्कीने नागरिकता प्राप्त गर्ने लामो प्रयास अहिले आएर सफल भएको छ ।’
चैलाही देउखुरी घर भएका उनले २०५६ सालमा पुरुषको नागरिकता लिएका थिए । पुरुषको नागरिकता त्यागेर उनले अहिले लिङ्गमा अन्य उल्लेख भएको २१७८/३५५ नम्बरको नागरिकता लिएका छन् । आफ्नो लैङ्गिक पहिचानसहितको नागरिकता लिने वर्षौदेखिको चाहना पुरा भएकाले गौरव महसुस भएको बताए ।
लैङ्गिक पहिचानसहित नागरिकता लिन सफल उनी मध्यपश्चिम क्षेत्रमा दोस्रो तेस्रोलिङ्गी हुन । उनले यौनिक तथा अल्पसंख्यकहरूले आफ्नो लैङ्गिक पहिचानसहितको नागरिकता सहज रुपमा पाउनुपर्ने माग गर्दै आएका छन् । अहिले पनि विभिन्नकारणले आफ्नो पहिचानसहितको नागरिकता नपाउँदा तेस्रोलिङ्गीहरूलाई समस्या हुने गरेको छ । शिल्पा ब्लू डायमण्ड शोसाइटी दाङका कार्यक्रम संयोजक हुन् ।
प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार
Comment Here!