महिला खबर
सुनसरी, असोज २४ । धरान उप–महनगरपालिका भित्र सुकुम्वासी टोलहरू ८० वटा भन्दा बढी छन् । उनीहरूको जनसंख्या ५२ हजार ५ रहेको छ भने ९ हजार १ सय ५९ घर धूरी रहेका छन् । तर, पछिल्लो तथ्याङ्क अनुसार ती बस्तीमा घर परिवारदेखि सामाजको नेतृत्व गर्नेहरूमा महिला अगाडी देखिएका छन् ।
सुकुम्वासी बस्तीका अधिकांस पुरुष वैदेशिक रोजगारमा जाने गरेकाले महिलाको नेतृत्वमा टोल विकास कार्यक्रम, सचेतना कार्यक्रम, सहकारी र वचत कार्यक्रम, स्वास्थ्य, शिक्षा, विकास निर्माणका कामहरू सञ्चालन हुने गरेको धरान उप–महानगरपालिकाका सामाजिक परिचालक आइती माया तामाङले बताइन ।
उनले भनिन्, ‘धेरै पुरुष पैसा कमाउन घर बाहिर जाने गरेका छन् । कतिपय वैदेशिक रोजगारमा गएकाले सामाजिक कार्यमा महिला सक्रिय भएर लागेका हुन ।’ तामाङका अनुसार सुकुम्वासी बस्तीमा पुरुष निष्कृय भएर सहभागि कम भएको होइन । मजदुरी गर्न उनीहरू विहानै घरबाट निस्कने हुँदा विकास निर्माणमा महिलाको सक्रियता बढी देखिएको हो ।
अधिकांस टोल विकास समितिकाे नेतृत्व महिलाले गरेका छन् । उप–महानगरपालिकाले सुकुम्वासी क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर उनीहरूको आर्थिक जीवनस्तर उकास्न विभिन्न शीपमुलक तालिम सञ्चालन गरेको जानकारी दिएको छ ।
धरानका सुकुम्वासीहरूको आर्थिक, भौतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र साना भौतिक विकास निर्माणलाई लक्षित गरेर उपमहानगरपालिकाले एक वर्षदेखि सामुदायिक विकास कार्यक्रम लागू गरेपछि जीवन शैलीमा परिवर्तन आएको सुकुम्वासी महिलाको भनाइ छ ।
धरान सप्तरंगी टोलमा डेढ दशकदेखि बस्दै आएकी सविना राईले भनिन् सामुदायिक सचेतना केन्द्रले नागरिक हक अधिकार, सूचनाको अधिकार, महिला हिंसा, घरेलु हिंसा, बालयौन दुराचार, लागुपदार्थ दुव्र्यशनका विषयमा प्रत्येक सातामा जानकारी दिने गरेकाले सुकुम्वासी महिला बढी लाभान्वित भएका छन् ।’
धरानका सुकुम्वासी महिलाले सचेतना, स्वास्थ्य सरसफाइ, फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षण, तथा साना पूर्वधार भौतिक निर्माण जस्ता गतिविधिमा बढी सक्रियता देखाएका छन् ।
सुकुम्वासीहरूको संगठन नेपाल बसोबास बस्ती संरक्षण समाजका पूर्वाञ्चल संयोजक कुमार कार्कीले भने–‘पुरुष आर्थिक आयआर्जनका लागि घर बाहिर जाने धेरै भए । यस्तो अवस्थामा गाउँ टोल र सामाजिक विकासका काममा महिला नै अगाडि देखिएका छन् । उनीहरूकै नेतृत्वमा हरेक काम हुँदै आएकाे छ ।’
प्रकाशित मिति २०७२ असोज २४ गते आइतवार
Comment Here!