महिला खबर
पोखरा, असोज २४ । भारतले लगाइएको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त भएको भन्दै पोखरामा लेडी जेसिजले चर्को विरोध गरेको छ । पोखरा लेडी जेसिजले आयोजना गरेको भारतीय नाकाबन्दीको विरोध कार्यक्रममा आमा समुह, स्थानिय व्यवसायी, मजदुर एवं नागरिक समाजका अगुवाहरूले बन्दको विकल्प खोजेर जनजीवन सहज बनाउन सरकारसंग माग गरेका छन् ।
विरोध कार्यक्रममा पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष भरत पराजुलीले कहिले भुकम्प,कहिले बन्द हडताल त कहिले भारतको अघोषित नाकाबन्दीले अर्थतन्त्र र सर्वसाधारणको दैनिक जीवन कष्टकर भएको भन्दै सरकारले तुरुन्त कुटनीतिक पहलबाट समस्याको समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।
लेडी जेसिज पोखराका अध्यक्ष जोर्जिना भट्टराईले चाडबाडको मुखमा भएको नाकाबन्दीले सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित पारेकाे भन्दै सरकारले विकल्प खोजेर सहज गराउन माग गर्नुभयाे ।
नेपाल जेसिजका पूर्व कार्यकारीणी उपाध्यक्ष जेसी संगिता पौडेलले नेपाली भएर स्वतन्त्र बाँच्न पाउने अधिकार माथि कुण्ठित गर्दै भारतद्धारा गरिएको हस्तक्षप नेपाली जनतालाई स्वीकार्य नहुँने बताउनुभयो । पौडेलले बन्द हड्ताल र नाकाबन्दी जस्ता अवाञ्छित गतिविधिले महिला बालबालिका एवं मजदुरहरू सबैभन्दा बढि पीडित हुनु परेको बताउनुभयो । भारतीय नागरिक सन्तोष गुप्ताले भारतले गरेको नाकाबन्दीले भारतीय मजुदूर पनि चर्को मारमा परेको भन्दै भारत सरकारलाई नाकाबन्दी फिर्ता गर्न आग्रह गर्नुभयो ।
विरोध कार्यक्रममा बालगृह सञ्जालका गोमा ढकाल, नमुना आमा समूहका अध्यक्ष मिठुदेवी अधिकारी, लेडी जेसिज पोखराका पूर्व अध्यक्षहरू बसन्त के.सी, सीता पाण्डे, सन्तु पौडेल लगायतका वक्ताहरूले नाकाबन्दीले देशमा पारेको प्रभावले नागरिकको स्वतन्त्र भएर बाँच्न पाउने अधिकारलाई समेत हनन् गरेकोभन्दै सरकार संवेदनशील भएर नागरिकको अधिकारलाई रक्षा गर्न माग गरे । नेपाल जेसिजले देश भरका १४० शाखाहरूमा एउटै समय भारतको अघोषित नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति २०७२ असोज २४ गते आइतवार
Comment Here!