भेषराज बस्नेत
नेपालगन्ज, असोज २४ । बाँकेमा महिलाद्वारा सञ्चालित सहकारी संस्थाले दशैंको लागि खसी बोका बिक्री सुरु गरेको छ । फत्तेपुरस्थित सृजनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहकारीमा आवद्ध महिलाले उत्पादन गरेका खसी बोका खरिद बिक्री गर्ने गरेको छ ।
यो वर्ष करिव ५ सय खसी दशैंमा बिक्री गर्ने लक्ष्यका साथ तयारी भएको संस्थाकी अध्यक्ष गंगा शाहले जानकारी दिनुभयो । उक्त सहकारीले गत वर्षको दशैँमा पनि ५ सय खसी बिक्री गरेको थियो ।
गाउँमा महिला समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम उक्त सहकारीले गर्दै आएको छ । जिउँदो खसी प्रति केजी ३ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको सहकारीका अध्यक्ष शाहले बताउनुभयो ।
‘खसी बोका बिक्रीको लागि किसानलाई कुनै चिन्ता हुँदैन, सबै सहकारीले खरिद गरेर बिक्री गर्ने गरेको छ, बजारीकरण वापत सहकारीले ५ प्रतिशत रकम लिने गरेको छ ।’अध्यक्ष शाहले भन्नुभयो—‘गत वर्ष ५ सय खसीको कारोवार गर्दा सहकारीलाई २ लाख भन्दा बढि रकम फाईदा भएको थियो, अहिले त्यो भन्दा बढि फाईदा गर्ने सोंचमा छौँ ।’
खसी बोका किनबेचको लागि सहकारीको आफ्नै भवनमा ढक तराजुको उचित व्यवस्था गरिएको छ । हेफर इन्टरनेशनल नेपाल र बहुमुखी सेवा केन्द्रको साझेदारीमा सञ्चालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तर्गत बाख्रा पालनतर्फ आकर्षित भएका महिलाले गाउँमै उक्त सहकारी स्थापना गरेका हुन् । यो सहकारीमा ५ सय ७५ जना महिला सदस्य रहेका छन् ।
त्यसैगरी फत्तेपुरमै ४५० जना महिला आवद्ध भएको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले पनि संस्थामा आवद्ध सदस्यहरूको खसी बोका बजारिकरण गरिरहेको अध्यक्ष चन्द्रकला सिग्देलले जानकारी दिनुभयो । स्थानीय किसानसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको वहुमुखी सेवा केन्द्र बाँकेका अध्यक्ष प्रभातकुमार ठकुरीले फत्तेपुरमा अहिले १३ हजार ४ सय ४८ बाख्रा रहेको जानकारी दिनुभयो ।
जिल्ला पशुसेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. वेदराज केसीले महिलाको बाख्रा पालनप्रतिको लगनशिलताले फत्तेपुर गाविसलाई मासुमा आत्मनिर्भर बनाएको र जिल्लामा पनि भारतबाट आयत घटाउन ठूलो सहयोग पुगेको बताउनुहुन्छ ।
प्रकाशित मिति २०७२ असोज २४ गते आइतवार
Comment Here!