नेपालमा ४१ प्रतिशत किशोरी बालविवाहको मारमा
चार गुणा बढी किशोरीको बिहे १८ वर्ष नपुग्दै
निर्मला ठकुराठी
काठमाडौं, असोज २४ । ‘किशोरी शक्तिको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ आज चौंथो अन्तर्राष्ट्रिय बालिका दिवश नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सहभागीले नेपालमा बाल विवाह चुनौति रहेको बताए ।
नेपालमा बाल विवाहको दर करिब ४१ प्रतिशत रहेको र यसबाट सवै भन्दा धेरै असर किशोरीहरूमा परेको उनीहरूले औंल्याए। किशोरको तुलनामा करिब चार गुणा बढि किशोरीको बिहे १८ वर्ष नहुँदै हुने गरेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो। नेपालमा वार्षिक १३ हजार भन्दा वढी बालिका बालविवाहको जोखिममा रहेका छन्। बाल विवाह हुने किशोरीको औसत विवाहको उमेर १६ वर्ष रहेको छ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धन बहादुर तामाङले किशोर किशोरीहरू विभिन्न किसिमका लागु औषध दुर्व्यसनी, हिंसा, शोषण, ओसारपसार जस्ता कुरितीमा फसेको हुँदा यस्ता चुनौति चिर्न सबै मिलेर काम गनुपर्ने बताउनुभयो।
उहाँले २१ औं शताब्दीका किशोरकशोरीलाई आफ्नो भविष्य बनाउन एकदमै सहज भएको भन्दै उनीहरूको प्रगतीका पछाडी अग्रजहरूको ठुलो योगदान रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै केन्द्रीय बाल कल्याण कार्यकारी निर्देशक तारक धितालले किशोरीकशोरीहरू समाजका ऐना भएको भन्दै उँहाले किशोरी शब्दमाथिको शोषण र अन्यायविरुद्ध लड्न जरुरी रहेको बताउनुभयो।
उँहाले किशोरीका लागि व्यवहार परिवर्तन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। किशोरीहरूका पक्षमा सूचना प्रवाह र सबैले आवाज उठाउँदा मात्रै पनि परिवर्तन ल्याउन सकिने उँहाको भनाइ थियो। किशाेरकिशोरीहरूसँगै सबैले अधिकार र दायित्व पनि निभाउनुपर्ने बताउनु भयो। २२ हजार बाल क्लबमा ४ लाख भन्दा बढी बालबालिका आबद्ध रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको थियो।
महिला तथा बालबालिका विभागका निर्देशक शान्ता भट्टराइले भूकम्पले किशोरीलाई बढी प्रभावित गरेको भन्दै किशोरीको जिवन सहज बनाउन ३७ सय भन्दा बढी किशोरीलाई एउटा समूहमा आबद्ध गरी जीवनोपयोगी सीप विकास तालिम दिइरहेको जानकारी दिनुभयो। बिद्यालय भन्दा बाहिर रहेका किशोरीहरूलाई विद्यालयको पहँुचसम्म पुर्याउने र जान नसक्नेहरूलाई व्यवसाय गर्न सहयोग गर्ने बताउनु भयो।
Comment Here!