म मन्त्री हुन्न : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य
मन्त्री हुने चर्चामा को को छन् महिला ?
महिला खबर
ललितपुर, असोज २६ । मन्त्रिमण्डल विस्तारको क्रम जारी नै रहेका बेला मन्त्री हुनका लागि केही महिलाको नाम चर्चामा आएको छ । मन्त्रीका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । यसैगरि एनेकपा माओवादीबाट रेखा शर्मा, ओनसरी घर्ती, सीता नेपाली र आशा कोइरालाको नाम चर्चामा आएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुन्ति शाहीको नाम आएको छ ।
मन्त्रिमण्डलमा समावेस हुने भनेर चर्चामा आएकी नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू सरकारमा नजाने महिला खबरलाई बताउनुभयो । उहाँले आफू यसअघि पनि २ पटक मन्त्री भइसकेकाले अरु साथीहरूलाई सरकारमा पठाउन सल्लाह गरिरहेको उहाँले बताउनुभयो । ‘संघर्ष गरेर आएका पुराना साथीहरू धेरै छन् जसले मौका पाएका छैनन्, उनीहरूलाई पठाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ’— शाक्यले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले श्रीमाया थकालीलाई सरकारमा पठाउने तयारी भइरहेको छ । जयन्ती राई, गरिमा शाह पनि छन् । उनीहरूलाई मौका दिनुपर्छ ।’ मन्त्री हुन सांसद हुनुपर्ने भएकाले अझै धेरै साथीहरू बाहिर रहेको उहाँको भनाइ थियो ।
मन्त्रिपरिषद गठनकै क्रममा सोमबार नै केही नभएपनि एकजना महिला पठाउनु पर्ने थियो त्यो नहुँदा साह्रै दुःख लागेको शाक्यको भनाइ थियो । मन्त्रिमण्डलमा एकतिहाइ महिला पुर्याउनै पर्ने उहाँ बताउनुहुन्छ ।
यसैगरि सरकारमा रहेको दास्रो ठुलो दल एनेकपा माओवादी सांसद रेखा शर्माले नाम चर्चामा आएपनि टुङ्गो लागि नसकेको बताउनुभयो । आजै हुन लागेको पार्टीका शिर्ष नेतासहितको बैठकले यसको टुङ्गो लगाउने उहाँको भनाइ छ ।
एनेकपा माओबादीबाट मन्त्रिमण्डलमा जाने ८ जनामध्ये कम्तिमा ३ जना महिला पठाउनुपर्ने कुरा पार्टी भित्र उठाइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सांसद कुन्ति शाही मन्त्री वा उपसभामुख दुईमध्ये एक हुने चर्चा छ । आजै बस्ने बैठकमा उहाँको पदको टुङ्गो लाग्ने राप्रपा नेपालले जनाएको छ ।
यसैबीच नेकपा एमालेका अर्का उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपती हुने चर्चा छ । एमालेबाट सभामुख सभाषचन्द्र नेम्वाङ्ग र भण्डारीकाे नाम चर्चामा छ र भण्डारी कै स्थिती बलियाे भएकाे बताइएकाे छ ।
प्रकाशित मिति: २०७२ असाेज २६ गते मंगलवार
Comment Here!