जनै बनाउने महिला


प्रकाशित मिति :2015-10-15 13:20:35

अमृता अनमोल

बुटवल, असोज २८ । सबैलाई थाहा छ, जनै पुरुषका लागि बनाइन्छ र पुरुषले नै प्रयोग गर्छन् । त्यही जनै उद्योगमा रोजगारीका लागि भने महिला मात्रै छन् । उद्योग सञ्चालन पनि महिलाले नै गरेका छन् । बुटवलको राम मन्दिर लाइनमा रहेको जनै बनाउने राधा डोरी उद्योगमा करिब ४० महिलाले ज्यालादारीमा काम गर्छन् । सिजनको बेलामा ५० जनासम्मले काम गर्ने सञ्चालक राधा शर्मा बताउँछिन् ।

बिहान साँझ घरको काम गरेर दिउँसोको समयमा मात्रै काम गर्ने र आफ्नै घरमा धागो लगेर पनि जनै बाट्न सकिने भएकाले महिलाको आकर्षण बढेको हो । दिउँसोको समयमा जनै बाट्दा पनि एक जनाले दैनिक कम्तीमा ३ सय रुपैयाँ कमाउँछन् । पाँच वर्षदेखि जनै बाट्दै आएकी सीता शर्माले भनिन् ‘नयाँ सीप नचाहिने, घर छोडेर हिड्नु नपर्ने, सजीलो र सरल काम भएकाले जनै बाट्ने कामप्रति महिलाको आकर्षण बढेको हो ।’

janaiii

उद्योगमा जनै बनाउने मात्र होइन रक्षाबन्धनको धागो बनाउने, लक्ष्यबत्ती कात्ने, प्याकिङ गर्ने सबै काम महिलाले गर्छन् । घरको काम सकेर फुर्सदमा काम गर्न चाहाने महिलाका लागि राधा धागो उद्योग एक उत्कृष्ट गन्तब्य बनेको छ । जनै बाट्ने विष्णु भण्डारीले घरमै बसी बसी काम गर्न सकिने भएकाले यो रोजगारी नीकै सहज भएको बताइन् ।

१४ वर्षअघि स्थापित यो उद्योगले शास्त्रीय र वैदिक जनै, रक्षाबन्धन, अनन्त डोरो, लक्षबत्ती र बत्तीका धागाहरू उत्पादन गर्छ । उत्पादित सामाग्री बुटवल बजारसँगै ठूलो संख्यामा नारायणगढ, पोखरा, काठमाडौं, हेटौडा, नेपालगञ्ज लगायतका बजारमा पठाउने गरेको छ ।

नेपालमा धेरै जनै भारतको बनारसबाट आउने गरेको छ । यो उद्योगले शास्त्रीय विधि अनुसार बनाएको वार्षिक करिब एक लाख जनै विदेशमा पनि पठाउने गरेको छ । प्रवासी नेपालीको सहयोगमा भारत, बेलायत र अमेरिकासम्म जनैको निकासी गर्ने गरेको हो ।

IMG_3795राधा धागो उद्योगको विशेषता भन्नु नै विधि पूर्वक जनै तयार पार्नु हो । जनै शास्त्रोक्त विधिसम्मत हुन्छ । ३ सरा र त्यसलाई तेब्य्राइ ९ सरा बनाउँदा अलग–अलग बाटिएको हुन्छ ।  प्रत्येक जनैमा पाँचवटा शिखा हुन्छन् । जनै मन्त्रदा सप्त ऋषिहरूलाई तर्पण दिइ प्रत्येक डोरामा हुने नौ सराका तन्तु देवता र शिखामा ब्रह्मा, विष्णु, महेश र जगत् जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रीत गरिन्छ । उद्योगका व्यवस्थापक बुद्धिप्रसाद शर्मा पाण्डेले शास्त्रअनुसार ती देवता र पाँच शिखाहरूको बन्धनले जनै लगाउनेहरूको रक्षा हुने भनिएकाले यहाँ उत्पादित जनै त्यसैअनुसार उत्पादन गरिएको बताए ।

करिब ३ लाखको लगानीमा स्थापना भएको उद्योगले वर्षेनी कारोबार बढाउँदै लगेको छ । अहिले यहाँबाट बार्षिक ४ लाख जनै उत्पादन हुन्छ । करिब ६० हजार प्याकेट रक्षाबन्दन र करिब ५० लाख लक्ष्यबत्ती बनाउने गरेको छ । यसबाट करिब १५ लाख बराबरको कारोबार हुन्छ । यसबाट मुनाफा पनि राम्रै छ । उद्योगका व्यवस्थापक बुद्धिप्रसाद भन्छन् ‘उत्पादन गर्न सके बजार पनि प्रसस्त छ ।

लगानी अनुसारको प्रतिफल पनि राम्रै छ ।’  वर्षभरि हुने जनैको व्यापार जनैपुर्णीमा तथा रक्षाबन्धनमा बढी हुन्छ । वर्षको एक पटक जनैपुर्णिमाको दिन जनै फेर्नुपर्छ भन्ने मान्यताका कारण यस्तो भएको हो । शास्त्रीय विधिपूर्वक तयार गरिने भएकाले आफ्नो जनैको लोकप्रियता बढ्दै गएको सञ्चालक राधा बताउँछिन् ।

प्रकाशित मिति २०७२ असोज २८ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: