नाकाबन्दी, बन्द हड्ताल र भूकम्पका कारण यो वर्षको दसैैंमा खासै उल्लास छैन । सानोतिनो व्यापार व्यवसाय गरेर जिवीकोपार्जन गर्दे आएका व्यवसायीहरूको दसैं झन कष्टपुर्ण हुँदैछ । साना व्यवसायीले होलसेल पसलमा स्टकमा रहेका सामान ल्याएर फाट्टफुुट्ट बेच्ने गरेका छन्, नयाँ सामान आएकै छैन ।
सविता श्रेष्ठ
काठमाडौं, असोज २८ भोजपुरकी नानीमाया भारती कपडा व्यापारी हुन् । १८ वर्षदेखी उनले काठमाडौंको भृकुटीमण्डपमा कपडाको व्यापार गर्दै आएकी छन् । उनका श्रीमानले पनि भृकुटीमण्डप मै जुत्ता चप्पलको व्यापार गर्छन् । उनका लागि यो वर्षको दसैं निकै खल्लो हुने भएको छ ।
वर्षभरिमा सबैभन्दा बढी व्यापार हुने दसैंको समय भएपनि उनले यो वर्ष राम्रोसँग व्यापार गर्न पाईनन् । नानीमायाले भनिन् –‘अघिल्ला वर्षहरूको भन्दा धेरै कम व्यापार छ, नयाँ सामान नै आएको छैन ।’
महाबौद्धका होलसेल पसलबाट सामान ल्याएर बिक्री गर्ने गरेको उनी बताउँछिन् । अघिल्ला वर्षमा दसैं मनाउन उनको परिवार भोजपुर जाने गरेको थियो । यो वर्ष तेल अभावमा यातायात राम्रोसँग नचलेकाले भोजपुर जान नसकिने उनले बताईन् ।
शर्मिला कार्कीले रत्नपार्क नजिक फुटपाथमा तयारी पोशाकको व्यापार गर्दै आएकी छन् । यो वर्ष दसैंको लागि बेच्ने सामान नपाएको गुनासो उनले गरिन् । ‘नयाँ सामान पाईएन’ उनी भन्छिन् –‘पुरानो स्टकको सामान ल्याएर बेचिराखेको छु ।’ ठूला ठूला सपिङ मलमा जान नसक्ने मानिसहरू फुटपाथमा किन्न आउने गरेको उनी बताउँछिन् । आफू जस्ता फुटपाथ व्यापारीले कम नाफा खाएर सामान बेच्ने उनको दाबी छ । ‘तर, यसपाली एक त बाहिर बाट सामान आएको छैन । अलि अलि भएको सामान पनि बेच्न पनि नाकाबन्दीका कारणग्राहक बजार आउने सकेको छैनन्’— उनले भनिन् ।
बागबजार बस्ने विष्णुमाया पाण्डेले १५ वर्षदेखी भृकुटीमण्डपमा व्यवसाय गरिरहेकी छिन् । पसल चलाएर भएको आम्दानीले दुई छोराछोरीलाई पढाउन र घर खर्च गर्न पुग्ने उनी बताउँछिन् । महाबौद्धबाट सामान ल्याएर बेच्ने गरेकी उनी भन्छिन् –‘जहिले जहिले सामान चाहिन्छ, त्यती बेला नै लिन जान्छु , तर,यो वर्ष आफूले सोचेजस्तो आम्दानी गर्न नपाएको उनी बताउँछिन् । ‘व्यापार छैन’ उनले भनिन्–‘किन्न आएका थोरै ग्राहकलाई भनेजस्तो नयाँ सामान बेच्न पाएकी छैन, सामान नै आएको छैन ।’
देशको परिस्थितिले गर्दा आफ्नो गरिखाने व्यवसाय समेत डावाँडोल भएको व्यवसायीहरूको गुनासो छ । गाडी नचल्दा सामान आउन नसेकेपनि भण्डारमा भएका सामान ल्याएर उनीहरुले धेरथोर बिक्री गरिरहेको छन् । भृकुटीमण्डपमा व्यापार गर्ने व्यवसायीले पसलको आकार अनुसार मासिक २५ सयदेखी ५ हजारसम्म भाडा तिर्ने गरेका छन् ।
मध्यमवर्गीय तथा कम आम्दानी गर्ने परिवारको किनमेल गर्ने ठाउँ हो भृकुटीमण्डप । लक्ष्मी ढकालले परिवारका लागि आवश्यक लत्ताकपडा भृकुटीमण्डपमा नै किनिन् । रोजेर र मोलमोलाई गरेर कपडा किन्न पाउने भएकोले भृकुटीमण्डप रोजाईमा पर्ने गरेको उनले बताईन् ।
५ वर्षदेखी भृकुटीमण्डपमा पसल गरेकी ईशा भण्डारीले पोहोरको भन्दा निकै कम ग्राहक आएको बताउँछिन् । अघिल्लो वर्षको तुलनामा निकै कम व्यापार भएको उनले सुनाईन् ।
प्रकाशित मिति :२०७२ असाेज २७ गते विहिवार
Comment Here!