खुशी बाँडौं दुःख भुलौ : चन्द्रा गुरुङ


प्रकाशित मिति :2015-10-16 11:17:26

पाेखराकाे विभिन्न क्षेत्रमा कार्यतर महिला  ‘याे दसैँ अन्य वर्षहरू भन्दा गाह्रो र विषम तराजुमा छ । हामीले हाम्रो स्वाभिमान , राष्ट्रियता , सत्यता र स्वाधीनतालाई नयाँ शिराबाट परिभाषित गर्नुपर्ने दिन आएको छ । स्वाभिमानी भई बाँच्ने एउटा ऊर्जा यो दसैंले प्रदान गरोस् खुसी बाँडौ दुःख भुलाैँ ‘भन्दै दसैँ मनाउने तयारीमा रहेका छन् ।  

जमुना वर्षा शर्मा

चन्द्रा गुरुङ : प्रहरी निरिक्षक जिप्रका कास्की 

chandra gurungपाेखरा, असाेज २९ । खै किन किन विगत वर्षहरू जस्तो उत्साह उमंग यो वर्षको दसैंले दिन सकेको छैन । एक त नयाँ वर्षको आगमनसँगै एउटा अकल्पनीय चोट सहनु प-यो, महाभूकम्पले ठूलो धनजनको क्षति मात्रै गराएन सग्ला मनलाई टुक्रा टुक्रा पारिदियो । त्यसैपनि भूकम्पले परिवार र आफन्त गुमाउनेहरूको लागि योे दसैँले आँखा ओभानो बनाउन दिँदैन । तै पनि शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन ।

लामो समयदेखिको नेपाली जनताको एउटा सपना यो वर्ष पुरा भएको छ । हामीले नेपालको संविधान २०७२ पाएका छौं । केही विमतिका आवाज उठे पनि त्यसलाई सम्वोधन गरेर अगाडि बढ्ने बाटो भने बन्द भएको छैन । यो सँगै अझै चाडबाडको मुखमा केही असहज परिस्थिति पनि देखिएको छ । यसको सामना पनि नेपाली मन एक भएर गर्नुपर्छ ।

एक राष्ट्र सेवक प्रहरीका हैसियतले भन्नु पर्दा चाडवाडमा परिवारसँग रमाउनु र सुखदुःख साट्ने प्रवल चाहाना जहिल्यै गौण बन्ने गर्दछ । शान्ति सुरक्षा र अमन चयनको एउटा महत्वपूर्ण जिम्मेवारी राज्यले नेपाल प्रहरीलाई प्रदान गरेको छ । तसर्थ नागरिकको शान्ति सुरक्षाको बढ्ता चिन्ता नेपाल प्रहरीलाई हुने गर्छ । चाडवाडमा अझबढी लुटपाट डकैती र अपराधिक क्रियाकलाप बढी हुने भएकाले व्यक्तिगत रुपमा चाडवाडमा रमाउने अवसर कमै मिल्छ ।

यसवर्ष पनि प्रहरी कार्यलय परिसरमै सबै तहका कर्मचारीबीच बडा दसैँको टिका लगाउँदै र नागरिकको शान्ति सुरक्षाको लागि खटिने छु । जो जहाँ जसरी भए पनि आफ्नोपनमा रमाउँदै आफ्नो मनसँग रमाउन सिकौं । स्वाभिमानी भई बाँच्ने एउटा ऊर्जा यो दसैंले प्रदान गरोस् खुसी बाँडौ दुःख भुलाैँ, सबैमा दसैंको शुभकामना ।

नयाँ सोचको सञ्चार गर्न सकोस् : कवि सरस्वती प्रतिक्षा

sarswoti pratikshyaबडादसैं आँगनमा भित्रिएको छ । हामी नेपालीहरूको यो उत्सव थुप्रै प्रश्न चिन्हसहित आइपुगेको छ । देश महाभूकम्पको चपेराबाट उम्कनै पाएको थिएन, आफैँलाई सम्हाल्दै थियौँ बल्लबल्ल । कैयौँ वर्षपछि आशा र उज्यालोको त्यान्द्रोले हामीलाई चिहाएको थियो जसोतसो । बल्लतल्ल संविधान घोषणा भएकोमा तालीसम्म बजाउन पाएका थियौं । फेरि अर्को घोषित/अघोषित नाकाबन्दीले जनजीवन नै लगभग ठप्प हुन पुगेको छ ।

एकपछि अर्को गरेर दुर्घटना यसरी भइरहेछन् , हाम्रा माझमा दुर्घटनाहरू होइनन्, दुर्घटनाहरूको माझमा हामी छौं भन्ने आभास भइरहन्छ । हाम्रा माझमा समस्याहरू होइनन्, समस्याहरूको माझमा हामी छौं भन्ने अनुभूती भइरहन्छ । नेपालीको जात नै ज्याद्रो , यस्तो कठिन पलमा पनि हरेस भने खादैनौँ हामी । यो कालो बादल छिटै फाटेर सफा र स्निग्ध समयको आगमन हुने आशामा जो छौं । यो बडा दसैँ अन्य वर्षहरू भन्दा गाह्रो र विषम तराजुमा छ । हामीले हाम्रो स्वाभिमान , राष्ट्रियता , सत्यता र स्वाधीनतालाई नयाँ शिराबाट परिभाषित गर्नुपर्ने दिन आएको छ । स्वयंको निम्ति नयाँ गीत कोरल्नुपर्ने बेला भएको छ शायद । सबै नेपाली मन मुटुमा यो बडा दसैँले नयाँ सोचको सञ्चार गर्न सकोस् , यही शुभकामना दिन चाहन्छु ।

स्वभिमानी बन्ने शक्ति मिलोस् : संगिता पौडेल
पुर्व कार्यकारिणी उपाध्यक्ष नेपाल जेसिज

sangita paodelभूकम्पको पीडा भुलेर संविधानको खुसीमा रमाउँदै दसैँ मान्नुपर्ने भारतको अघोषित नाकाबन्दीले जनजीवलाई प्रभावित पारेको छ । यसै बीच भित्रिएको बडा दसैँ कतिका लागि दसैँ नभएर दशा बन्दै गइरहेको छ ।  छिमेकी मुलुक भारतको अमानविय व्यवहारलाई सामना गर्दै राष्ट्रिय स्वाधिनताका लागि यतिबेला नेपाली जनता विशाल छाती लिएर स्वाभिमानको लडाइ लडिरहेका छन् ।

यो अभावमा दसैँ मनाउनुपर्दा हामीले आफूलाई निरिह र कमजोर बनाएर होइन निडर निर्भिक र आत्मविश्वासी भएर उत्रनुपर्छ । यो सकसले हामीलाई आत्मनिर्भर हुने बाटो खोज्न शिक्षा दिएको छ ।

कठिन वातावरणको दसैँलाई हामीले जहाँ जसरी भए पनि मनाउनु पर्छ । मिठो खाने र राम्रो लगाउने कुरालाई केही पर छाडेर आफूभन्दा अग्रजको हातबाट टिका जमरा ग्रहण गर्दै यसको पारम्पारिक महत्वलाई स्वीकार्नु पर्छ । देश रहे हामी रहन्छौ । हामी रहे हाम्रा परम्परा र संस्कृति रहन्छन् । त्यसैले कठिन परिस्थिति भित्र खुसी खोज्दै मुस्कान छर्ने प्रयास गरौँ । यो दसैँले हामी सबैलाई आत्मविश्वास र आत्मनिर्भर हुने शक्ति प्रदान गरोस् । सबैमा शुभकामना ।

राष्ट्रियताका लागि जुट्न नयाँ शक्ति मिलोस् : बसन्त केसी
प्रोपाइटर चिटिक्क ड्रेस

basanta kcहिन्दु धर्मावलम्बीहरूको महान चाड दसैँमा शक्तिस्वरुपमा देबीहरूको विशेष पूजा हुने गर्दछ । असत्य माथि सत्यको विजयमा नारी शक्तिको महिमाको यो चाडले हामी महिलामा पनि एउटा नयाँ शक्तिको सञ्चार भएको अनुभूति हुन्छ ।

समय क्रमसँगै २०७२ सालको दसैँ हाम्रो आँगनमा आएको छ । यो वर्ष हामीले विविध परिस्थिती झेल्यौ महाभूकम्पको सामाना ग-यौं । भने, संविधानसभाबाट संविधान पनि पायाैँ । तर, पछिल्लो समय भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा गरेको अवरोधले चाडबाडको माहौलालाई निरुत्साहित बनाएको छ ।

सरकारले विकल्प बारे नसोचिदिनाले यो दसैँ साँच्चै दसैँ जस्तो नहुँने हो भन्ने चिन्ता थपिएको छ । तर, पनि चाडपर्वका विशेषतालाई आत्मसात गर्दै मान्यजनको हातबाट टिका जमरा र आर्शिवाद नै यो चाडको विशेषता हो । यसमा रमाउन चाहिँ कदापी छोड्नु हुँदैन । असत्यमाथि सत्यको विजयको चाड दसैँबाट हामीले नयाँ शक्ति र ऊर्जा ग्रहण गरेर राष्ट्रियताका लागि जुट्ने साहस बटुल्नु पर्छ । सबैमा दसैंको शुभकामना ।

प्रकाशित मिति : २०७२ असाेज २९ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: