इन्धन र ग्याँस अभावले सवै क्षेत्र प्रभावित
गृहिणीलाई झन धेरै समस्या
महिला खबर
पोखरा, असोज २९। संविधान जारी भएलगत्तै भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन र खाना पकाउने ग्याँसको आपूर्ति सहज नहुँदा गृहिणी महिलालाई चिन्तित बनाएको छ। विहान उठेदेखि परिवारलाई खाना तयार गर्ने दैनिकीमा रहेका गृहिणी महिलाले अरुबेला भन्दा बढी सास्ती खेप्नु परेको छ।
पोखरा नयाँबजारकी सन्तु क्षेत्रीले १५ दिनदेखि राइसकुकरमै दाल भात पकाइ गोलभेँडाको अचार बनाएर परिवारलाई दिँदै आएकी छिन्। पर्वत सल्यानकी उनी भाडाको घरमा बस्दै आएकी उनी घरबेटीले भित्र भुसे चुल्हो बालेका मन नपाराउने हुन कि भनेर बाल्ने आँट नआएको बताउँछिन्। ‘कहिले होटल तिर पुग्छौँ। कहिले घरमै राइसकुकरमा चाउचाउ, दालभात पकाउँदै गुजारा गरेका छौँ, अब त पाइन्छ कि भन्ने आश लागेको थियो तर पाइने छाँटकाँट देखिएन। समस्या सुनिदिने कस्ले ?’ निराश मुद्रामा सन्तुले भनिन्।
पार्वती पोखरेललाई पनि ग्याँस अभावले १० महिने काखे छोरीलाई समयमा जाउलो, लिटो राम्रोसँग पकाएर खुवाउन पाएकी छैनन्। ‘ग्याँस अब दुइचार दिनमात्रै चल्छ कि! धेरै दिन भयो खाजा बनाएर नखाएको। भात राइस कुकुरमा र तरकारी मात्रै ग्याँसमा पकाउँदै गुजारा टारेका छौं। आफूलाई भन्दा पनि बच्चालाई खुवाउन नपाउँने हो की भन्ने चिन्ता सबैभन्दा ठुलो छ’ पोखरेलले भनिन्।
पोखरा बगरकी मिना श्रेष्ठ ग्याँसको आपूर्ति सहज भयो भन्ने समाचार सुन्न हतारिएकी छन्। ‘दिन दिनै समाचार सुन्छु, कहिले ग्याँसका कति बुलेट नेपाल छिरे भन्नेमा मात्रै ध्यान जान्छ। भुसे चुल्होमा १० दिनदेखि ८ जनाको परिवारलाई खाना पकाएर खुवाउँदै आएकी छु। भुसे चुल्होमा पकाउँदा समय धेरै लाग्ने, भाँडा माझ्नेदेखि शारीरिक परिश्रम पनि बढी नै पर्छ। सिलाइको काम गर्दै आएकी उनले ग्याँस अभावले धेरै समस्या भोग्नु परेको बताइन्।
ग्याँस र इन्धन अभावले कुनै एउटा क्षेत्रमात्र प्रभावित भएको छैन। ग्याँस अभावमा भुसे चुल्हो र दाउरामा खाना पकाएर पर्यटक र अन्य घुम्न आएका पाहुनालाई खाना खुवाएको होटल व्यवसायीले बताएका छन्। पकाउँदा धेरै ग्याँस खपत हुने खाना खुवाउन छाडेको उनीहरूको भनाइ छ। व्यवसायीले रेस्टुरेन्टको मेन्यु समेत घटाएको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष गोपी भट्टराईले बताए ।
भट्टराइले बाध्य भएर खानेकुराको विवरण घटाइएको बताए । पकाउन बढी समय लाग्ने खानेकुरा उपलब्ध गराउन नसकेको उनले बताए । पकाउन धेरै समय लाग्ने खानेकुरा पुरै हटाएका छौं । पर्यटकले चाहेको खानेकुरा पाउन छाडेका छन्’ उनले भने।
पोखरामा करिब २ सय ५० वटा रेस्टुरेन्ट छन्। करिब ९५ प्रतिशत रेस्टुरेन्टले मेन्यु घटाएका छन् । छिटो पाक्ने हलुका खानेकुरामात्र अहिले पर्यटकलाइ दिने गरेका छन् । त्यती मात्रै नभइ घुम्न आएका पर्यटकले यातायातका साधन समेन पाउन कठिनाई भएको लेण्डमार्क होटलका सन्चालक ओम पाण्डेले बताए ।
प्रकाशित मितिः २०७२ असाेज २९ गते शुक्रवार
Comment Here!