महिला खबर
काठमाडौँ, असोज २९ । एकीकृत नेकपा माओवादीका सांसद वनसरी घर्तीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः ४५ बजे उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनु भएको हो । घर्तीको प्रस्तावकमा नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी हुनुहुन्छ भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कुन्ती शाही र बहुजनशक्ति पार्टीका सांसद विश्वेन्द्र पासवान हुनुहुन्छ ।
यस्तै, उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादवको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावक एमालेका सांसद शत्रुघन महतो र समर्थकमा एमाओवादीका सचेतक रेखा शर्मा हुनुहुन्छ ।
व्यवस्थापिका–संसद्ले तय गरेको कार्यतालिका अनुसार आज दिउँसो २ बजेसम्म बहुमतीय प्रक्रियाका आधारमा सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।
नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख पदको नयाँ निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । पूर्व सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिनुभए पछि आज नयाँ निर्वाचन हुन लागेको हो ।
यसअघि सभामुख पदमै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा र उपसभामुखमा सोही पार्टीका डिल्लीप्रसाद काफ्लेले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आज दिउँसो ३ बजे बस्ने संसद्को बैठकमा सभामुखको निर्वाचन हुनेछ भने साँझ ५ बजे उपसभामुख चयन हुनेछ ।
प्रकाशित मितिः २०७२ असाेज २९ गते शुक्रवार
Comment Here!