सुजाता ढुगांना
काठमाडाैं, कात्तिक २ । दसैं एकमात्र यस्ताे पर्व हाे जहाँ महिला शक्तिकाे पूजा हुन्छ । दुर्गा, महाकाली, भगवती बिभिन्न नाम दिएर दसैंमा उनीहरूकाे पूजा गरिन्छ । तर व्यवहारमा महिलामाथि हुने व्यवहार यस विपरीत भएकाे अधिकारकर्मी बताउँछन् ।
महिला शक्तिको पूजा हुने चाड : दुर्गा सोव अधिकारकर्मी
मलाई सहरमा भन्दा गाउँमा मनाएको दसैँ असाध्यै मन पर्छ। वर्ष भरि कामले आराम गर्ने समय कहिल्यै पाईँदैन तर दसैँ मात्र त्यस्ताे चाड हो। जस्ले घरपरिवार सँगको सम्बन्ध नजिक बनाउन मद्दत गर्छ। अरु दिन सँधै काम काम भनेर हिँडिरहने म घरपरिवारलाई दिन त्यति समय हुँदैन।
अब यो दसैँको समयमा परिवार र आफन्तसँगको सम्बन्ध बलियो बनाउने छु। पहिला दसैँ मनाउन डोटीको सिलगुडि र दाङ गइन्थ्यो। तर, अहिले दुवै सम्भव छैन। हुन त हाम्रो परिवार अहिले काठमाडौं मै छ। गाँउमा दसैँ नमनाएको धेरै भइसक्यो। तर, मलाई गाँउमा मनाएको दसैँको झझल्को अहिले पनि आईरहन्छ।
किन किन मलाई गाँउमा रातो टिका र पहेँलो जमरा लगाएर गाँउ घर डुल्नु आफन्त र साथीभाईसँग भेट्नुको रौनक नै फरक लाग्छ। दसैँ हामी हिन्दुहरूको लागि एकदमै ठुलो चाड हो। अझ दशैँमा दुर्गा, काली, भगवतीलाई पुजा गर्दा आनन्द लाग्छ। यो एकमात्र यस्तो चाड हो जहाँ महिलाशक्तिको पूजा हुन्छ। तर, त्यो अनुसारको नेपाली समाज नहुँदा भने साह्रै मन दुख्छ।
महिलाको सम्मानमा ध्यान दिउँः टिका दाहल : महासचिब राष्ट्रिय अपाङ्ग महासंघ
म दसैँ मनाउन मेरो जन्म गाँउ मोरङको सुन्दरपुर गाविस जाँदै छु। गाँउमा मेरो वृद्ध आमा हुनुहुन्छ। म उहाँसँग आर्शिवाद लिँदै टिका थाप्छु। वर्षभरी छुटि्टको आवश्यकता महसुस नभएपनि दसैँमा चै छुट्टीको समय हो जस्तै लाग्छ। आफ्नो घर परिवार र आफन्तलाई समय दिन्छु।
दसैँमा महिलालाई शक्तिशाली देवीका रुपमा पूजा गरिन्छ। त्यो शक्ति मन्दिरमा पुजिने महिला भगवानलाई मात्र होइन, व्यवहारिक रुपमा समाजमा महिलालाई आत्म सम्मानका साथ बाँच्ने अवसर दिइनुपर्छ। आफ्नै घरमा भएका दिदी वहिनीमा पनि त्यो शक्ति छ तर , त्यसको सम्मान छैन। यदि हामी सँाच्चै देवीका रुपमा महिलालाई पुजा गर्छौं भने महिलाको सम्मानमा पनि ध्यान दिउँ।
धेरै तेस्रोलिङ्गीहरू आफन्त माझ दसैँ मनाउन पाउदैनन्ः पिंकी गुरुङ, अध्यक्ष नीलहिरा समाज
देशमा भर्खरै मात्र संविधान आएको छ। नयाँ संविधान आएपछि २०७२ सालको पहिलो दसैँ हो। म धुम्बाराहीस्थित आफ्नै कार्यालयमा मेरा साथीहरूसँग दसैँ मनाउँछु। म चाहन्छु दुर्गा माताले हामी तेस्रो लिंगीलाई समाजसँग जुध्ने आँट प्रदान गर्न सकुन्। समाजबाट अपहेलित भएका धेरै तेस्रो लिंगीहरू यस वर्षको दसैँमा पनि घर जान पाउँदैनन् । आफू जन्मेको घर र समाजले नै घृणाको दृष्टीले हेरेपछि हाम्रो लागि दसैँ सँधै जस्तै खल्लो हुन्छ। तर, हामी सबै साथी भाई भेला भई दसैँ मान्ने तयारीमा छौँ। दसैँमा महिलालाई देवीका रुपमा पुजा गरिन्छ। खुसीको कुरा हो केही दिन भएपनि महिलालाई देवीका रुपमा पूजा गरिन्छ। तर, व्यवहारमा हाम्रो समाज फरक छ। जुन सोचाईले महिलालाई पूजा गरिन्छ त्यहि सोचाईले महिलालाई हेरिन्न। त्यो सोचाई बदल्ने हो भने यहाँ मानिस मानिस विच लिंगका आधारमा भेदभाव हुने थिएन।
महिलाको चर्चा धार्मिक रुपमामात्रै : महेश्वरी राई : महिला मानव अधिकार रक्षक
दसैँ हामी सबैको साझा चाड। म घरमा वृद्ध आमासँग टिका थापेर मनाउँछु। दसैँमा टाढा रहेका आफन्त पनि आउनुहुन्छ। सबै सँग भेटघाट हुन्छ। भेटघाटमा रमाउँछु। दसैँमा धेरै मासु मात्र खाने भन्दा पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै हरिया सागपात र फलफूलमा विशेष ध्यान दिने छु।
दसैँमा महिलालाई शक्तिका रुपमा पूजा गरिन्छ। हामी धर्ममा आस्था मात्र राख्दैनौँ व्यवहारमा पनि देखाउन चाहान्छौँ भने राष्ट्रपति जस्तो गरिमामय पदमा महिला राख्ने चर्चा भईरहेको छ। महिलाको अस्तित्व धर्मिक चर्चामा मात्र होइन समाजमा पनि देख्न पाईयोस भन्ने लाग्छ। अनि मात्र हामीले महिलालाई शक्तिको रुपमा पूजा गरेको सुहाउँछ।
प्रकाशित मितिः २०७२ कात्तिक २ गते साेमवार
Comment Here!