दसैँ आयो आमाको मन भत्भती पोल्छ
डोके व्यापारी महिलालाई चाडपर्वको पिरलो
रमला सिंगक
धरान, कात्तिक ३ । धरान १५ वगरकोटकी ५२ वर्षीय निमा शेर्पालाई प्रत्येक दिन विहान ३ वजे निद्राले छोडी सक्छ । छर छिमेक सबै मस्त निद्रामा सुतिरहेका बेला शेर्पा भने हातमा सानो लाईट र डोको बोकेर तीन किलो मिटर टाढा पर्ने कृषि उपजसहित बजारतिर लाग्नुहुन्छ । आधा घण्टा मात्र ढिलो गर्यो भने उहाँले खोजे जस्तो सागसव्जी पाईन्न र आम्दानी गर्ने दुई चार पैसा पनि गुम्छ ।
एका विहानै भेटिनु भएकी उहाँले भन्नुभयो,‘ विहान बेलुकीको गुजारा चलाउने मेलो यहि हो, समय अनुसारको सागसब्जि कृषि बजारदेखि ल्यायो दिनभर घरघर डुलायो । सबै सामान विक्रि भयो भने दुई तिन सयसम्म हुन्छ, भएन भने दिनभरको मेहनत र पसीना त्यसै खेर जान्छ ।’
१५ वर्षअघि चैनपुर संखुवासभावाट धरान आउनुभएकी शेर्पाको कान्छा छोरा २ वर्षको हुँदा उहाँको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्युपछि घरको व्यावहारले थिचिएकी उहाँले छोराछोरी र आफू बाँच्ने उपाय खोज्दा खोज्दै डोके व्यापार सुरु गर्नुभएको हो । अहिले उहाँको कान्छा छोरा नै २४ वर्षका भए तर पनि उहाँलाई भने साग सब्जीको भारीले भने अहिलेसम्म छोडेको छैन ।
कुराकानी कै क्रममा उहाँले भन्नुभयो,‘सबैले दशैं आयो आयो भन्छन् मलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मत भने जस्तै हुन्छ, हुनेलाई पो चाडपर्व मलाई के को चाड पर्व, एकदिन घरघरमा डुलाएर सब्जी बेच्न पाईएन भने भोली के खाने हुन्छ । चाडपर्वको नाममा महिनौ बगाएको पसिना दुईचार दिनमै स्वाहा ।’
शेर्पा झै विगत २५ वर्षदेखि डोको सब्जी व्यपारमा गुजारा चलाउने खिनमाया कार्कीलाई पनि चाडपर्व भन्नेवित्तिकै अत्तेस लाग्छ । पालीका सब्जी बजारमा सागको मोलमोलाई गरिरहँदा भेटिनुभएकी काकीले भन्नुभयो,‘ नानी सबै जना आरामले सुतिरहँदा आफूलाई पनि सुत्न मन लाग्छ नी के गर्नु म त्यसरी सुते भने मेरो ७५ वर्षीय श्रीमानलाई एक गीलास दुध र एक छाक कसले खान दिन्छ ?
गुजारा चलाउनकै लागि कार्की पनि दैनिक दुई किलोमिटर टाढाको उकालो बाटो हिडेर साग सब्जी किन्नुहुन्छ, अनि घरघरमा ‘सब्जी आयो है’ भन्दै ओरालो लाग्नुहुन्छ । डोको भरी बोकेको सब्जी नसकिन्जेलसम्म उहाँको यात्रा कहाँसम्म हो भन्ने तय हुँदैन । ७० वर्ष पार गरिसक्नु भएकी कार्कीमा जोश भने चालिस पैतालिस् जस्तै छ । मोलमोलाई सकिएपछि सागको भारी मिलाउँदै उहाँले भन्नुभयो, ‘दिनहुँ यसरी हिडिएन भने एक दुई पैसाको मुख देख्न पाईन्न, दशैले छोपी सक्यो, आफन्त आउँछन् एकदुई हजारले काम टर्दैन , दक्षिणा भन्यो, खानपीन भन्यो, महंगी त्यस्तै पाँच छ हजार तल्लो कोलम कसरी जुटाउने भन्ने पिर हुन्छ चाडवाड आएपछि ।’ एकसासमा यति भने पछि कार्कीले हतारोमा सागको भारी बोकी ओरालो लाग्नुभयो ।
शेर्पा र कार्की जस्तै धरान नगरपालीका भित्र डोकोमा घरघर सागसब्जी डुलाउने महिलाको संख्या सय जनाभन्दा बढि रहेको धरान १३ स्थित कृषि उपज बजारले जानकारी दियो ।
ती महिला प्रत्येक टोलटोल, गल्लीगल्ली र घरघरमा गएर सागसब्जी बिक्री गर्ने गर्छन् । यस्तै व्यापार गरि सामान्य जिवनयापन गरिरहेका उनीहरूलाई चाडपर्वले भने थप कष्ट दिने बताए ।
सबैले चाडपर्वमा नयाँ नयाँ कपडा लगाउने मिठो खाने भनिरहँदा उनीहरूलाई भने के र कसरी छाक टार्ने भन्ने समस्याले संधै पिरोल्ने गरेको अर्का व्यापारी शारदा विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडवाडमा हामी गरिव महिलालाई पुरुष भन्दा ज्यादा कष्ट भोग्नुपर्छ, कसलाई कसरी टार्ने, छोराछोरीलाई के भनेर फकाउने, आमाको मन हो छाती भत्भती पोल्छ तर, श्रीमानलाई भने के गरौं कसो गरौं वास्तै छैन ।’
प्रकाशित मिति : २०७२ कात्तिक ३ गते मंगलवार
Comment Here!