निर्मला ठकुराठी
काठमाडाैं, कात्तिक ३ । चाडपर्वका नेपाली कलाकारहरूलाई धेरैजसो विदेशमा प्रस्तुतिका लागि अवसर आउने गर्छ। झन हास्यव्यङ्ग्य कलाकारलाई त यस्तो अवसर अरु कलाकारलाई भन्दा धेरै नै आउँछ। तर, यस्ता केही कलाकार छन् जस्ले चाडवाड आफन्तसँगै बसेर मनाउन मन पराउँछन्। महिला खबर डट कमले केही हाँस्य कलाकार र केही टेली चलचित्रमा अभिनय गर्ने कलाकारको दसैं योजना बारे कुरा गरेको छ
दसैंमा विदेश जाँदैनौं : दीपाश्री निरौला
म दसैं मनाउन सँधै बिराटनगर घरमा जान्छु। मेरो दसैं मेरो परिवारसँगै हुन्छ। अहिले म तितो सत्य र वडा नं. ६ को बजार प्रवर्द्धनमा व्यस्त छु। व्यस्तताका बाबजुद पनि हाम्रो महान पर्व धुमधामसँग मनाउनुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले दसैंका लागि पहिलादेखि नै समय मिलाइरहेका छौं।
३/४ वटा दसैंको शुभकामना कार्यक्रम छन्। तिनीहरू सकेर घर जाने हो। दसैंमा विदेशतिर पनि बोलाउछँन्। तर, हामी दशँं तिहारको समयमा विदेश जादैनौँ। दसैं तिहारमा विदेशमा भएका नेपाली पनि घर आउँछन् त्यसैले हामी पनि दसैं घरपरिवारसँगै मनाउनुपर्छ भनेर कार्यक्रमलाई सार्ने गर्दछौं।
म काममा रमाउने मान्छे हो। कामलाई बोझको रुपमा मैले लिन्न। त्यसैले दसैंको पूर्वसन्ध्यामा कामको अलि बढी चाप भएपनि हामीले बिदामा बस्नलाई काम भ्याएर जानुपर्छ। तीतो सत्य कार्यक्रम पनि दसैंका लागि बनाएर नै जान्छौ। दसैंका लागि छुट्याइएका दिनहरू हामीले परिवार र आफन्तसँग बिताउँछौ।
मासु खानेले खान्छन्, नखानेले अरुकुराहरू खान्छन्। हाम्रो घरमा दसैंमा दिदी बहिनी सबै आउँछन्। हामीले एकादशी सम्म घरमा दसैं मनाउछौ र द्वादशीमा हामी सपरिवार चक्करघटी मामा घरमा जान्छौं। मामा घरमा पनि एकदमै रमाइलो हुन्छ। अहिले हामीले भूकम्पको सामना गरेर आएका छौ, भरखरै संविधान पनि पाएका छौं यो सबैका बिच हामी सबैले हर्सोल्लासका साथ आ—आफ्नो क्षमता अनुसार दसैं मनाउनुपर्छ। विदेशमा रहेका नेपालीले नेपाल आउन नपाएपनि चित्त नदुखाइ उतै रमाइलोसँग दसैं मनाउनुपर्छ।
तडकभडक मन पर्दैन : कुञ्जना घिमीरे
दसैं मलाइ एकदमै मनपर्छ। स—साना नानीले पिङ खेलेको, चङ्गा उडाएको, खानपीनले मेरो मन एकदमै रमाउँछ। तर, अहिले दसैंका लागि त्यती सोच्न सकेकी छैन। म मात्रै नभएर सबै नेपाली दोधारमा छन्। दसैंको समयमा हरेकको आ आफ्नो तयारी हुन्छ। तर, अहिले घर कसरी जाने भन्ने नै चिन्ताको विषय भएको छ। नाकाबन्दी सहज भए मपनि दसैंमा झापा जान्छु मेरो घरमा। दसैंको टीका सकेर पर्सीपल्ट माइतीघर ललितपुर चापागाउँ आउँछु। दसैंमा एकवर्ष पछि नै भेट भएको हुन्छ।
एकवर्षकै गतिविधि बारे परिवार आफन्त सँग छलफल हुन्छ। दसैंको लागि ८/१० दिन सरकारी बिदा हुन्छ। कार्यालय समयपछिको समय मेरो नानीका लागि छुट्याउँछु। दसैंमा पनि मेरो छोरीलाई घर परिवारले एकवर्ष पछि नै भेट्न पाउँछन्। उसलाई घुमाउँछु त्यो पनि मेरो लागि रमाइलो पक्ष हो।
म अहिले मेरी बास्सैसँगै धुर्मुस सुन्तली अनलाइन, धुर्मुस सुन्तली फाउन्डेसनमा व्यस्त छु। यी माध्यमबाट हामीले गरेका सामाजिक कार्यका बारेमा जानकारी दिन्छौं। अस्तीको काभ्रेमा गरेको कामको जानकारी जस्तै हामीले गरेका सामाजिक कामहरू त्यहाँ पाउन सकिन्छ। त्यस्तै शुभ मिडिया प्रालीमा व्यस्त छु। यसमा हामीले मिडिया सम्बन्धी सडक नाटक, बिज्ञापन, भिडियो बनाउने गछौं।
दसैंपछि पनि हाम्रो त्यस्तो चाप हुँदैन। हामीले दसैंलाई मध्यनजर गरेर नै कार्यक्रम बनाएका हुन्छौं। त्यसैले सहज नै हुन्छ। बिस्तारै आफ्नो कार्यक्रम अनुसार नै काम गर्दा हामीलाई चाप पर्दैन। दसैंमा ठग्ने प्रबृती मन पर्दैन, तडकभडक, देखासिखी, प्रतिस्पर्धा, गरगहना प्रदर्शन जस्ता कुरा दसैंका लागि नराम्रा पक्ष हुन्।
यस्तो कार्य नगर्न सबैलाइ आग्रह पनि गर्छु। यस्ता कार्यले मनमुटाव ल्याउने काम गर्छ। दसैंमा त हामीले पहिले मनमुटाव छ भने त्यो सबै बिर्सिएर सबै एक भएर सद्भावका साथ मनाउनुपर्छ।
स्वावलम्बी बन्ने प्रेरणा मिलोस : सरिता लामिछाने
दसैं महत्वपूर्ण चाड हाे । महत्वपुर्ण रुपमै लिन्छु। दसैं देखावटी भन्दा पनि मनले मान्नुपर्छ। देशको परिस्थितिले गर्दा अहिले सबै गोलमाल भैरहेको छ। दसैंका लागि केही सोच्नै नसक्ने अवस्था छ। मैले सँधै जसो दसैं नेपालगञ्ज मेरो घर र त्यसपछि झापा माइती घरमा मनाउने गर्छु।
हाम्रा चाडपर्वले हाम्रो कला क्षेत्रलाई पनि व्यवस्थित बनाएको छ। त्यसैले दसैं तिहारका लागि हामीले त्यसै अनुरुप अगाडीदेखि नै मिलाएका हुन्छौं। पहिले भन्दा अहिले त्यति सक्रिय छैन। अब म फेरी सक्रिय हुँदै छु।
छोरी अब ठुली भइन्। सँधैभरी छोरीलाई हेरेर पनि बस्न सकिँदैन अब उत्साहका साथ काम गर्ने हो। म गाउँमा जन्मेकी हुँ त्यसैले दसैंमा एकदमै गाउँको याद आउँछ।
दसैंमा लगाइने टिका जमराले मन हुरुक्क बनाउँछ। कहिल्यै नबोल्नेहरू पनि दसैंमा टिका थाप्न पुग्छन्। आफू भन्दा ठुलाबाट टिका लगाउँदा र आशीर्वाद पाउँदा खुसी लाग्छ। दसैंमा हुने काटमार मन पर्दैन।
अहिले धेरैका लागि दसैं त्यति उल्लासपुर्ण नहुनसक्छ। देशलाई भूकम्पले ठुलो क्षती गरेको छ । तरपनि केहि जीवन सकिन्छ केहिको सुरुवात हुन्छ। गच्छे अनुसार तडक भडक नगरी हाम्रो महान पर्व दसैं मनाउमा दुर्गा भवानीले नेपालीलाई स्वावलम्बी बनाउन्।
सद्भाव जगाउने पर्वः लक्ष्मी गिरी
उमेरले सवैभन्दा ठूलो भएको नाताले आफूभन्दा सानालाई टिका लगाएर आशीर्वाद दिन्छु। आफूलाई मान्ने जो टिका थाप्न आउँछन्। उनीहरूलाई पनि टिका लगाई आशीर्वाद दिन्छु। ससुरा बितेपछि प्रायः मैले दसैं कामाडौं मै मनाउने गरेकी छु। मैले राष्ट्र बैंकको जागिर छोडेर यो क्षेत्रमा आइसकेपछि म मेरो कामका लागि कहिल्यै पछाडी परेकी छैन।
मैले कामका अगाडी चाडपर्व अथवा बिरामी भनेर अहिलेसम्म काम छोडेकी छैन। यदी धेरै नै विरामी परेँ भने त उहाँहरूले आफै बुझ्नु हुन्छ। मैले भरखरै प्रेम गीत फिल्मको सुटिङ सकेर आएकी छु।
यसपछि लगत्तै ‘चलेछ बतास सुस्तरी’ र ‘लुटेरा’ फिल्मको डबिङमा व्यस्त हुन्छु। अहिले परिस्थिति अली असहज भएको छ । निर्धक्कैले दसैं मनाउँछन् होला सबैले। धेरै वर्षपछि अहिलेे देशमा संविधान आएर राम्रो भैरहेको छ। अरु देशले जे जस्तो गरेपनि हामीलाई संविधानले सुरक्षित भएको महशुस गराएको छ। दसैंको सबैपक्ष राम्रो छ।
म भर्खर रावण संहिता उपन्यास पढिरहेकी थिएँ। यो दसैंसँग सम्बन्धित भएर भनेकी हुँ। यसमा बलवान र धनी रावण अरु धेरै गुणले युक्त भएपनि उसलाई उसको बल र धनको घमण्डले रामको हातबाट मारिएको छ। यसले सम्पतिले मानिसमा अहमता निम्त्याउछ। बल र पैसाले नै मानिसलाई समाजबाट छुट्याउँछ।
हामीले सादा जिवन उच्च विचारको सोच राख्नु पर्दछ। पर्वको नाममा विकृती फैलाएर तडक भडक गर्नु हुँदैन। हाम्रा पर्वहरूमा देवी देवताका प्रसङ्ग जोडिएका हुन्छन्। सबै पर्वले हामीलाई सामाजिक आचरण सिकाउँछ। हामीले यो आचरणमा रहेर हाम्रा हरेक पर्व मनाउँनुपर्छ। यसले सामाजिक सद्भाव बिग्रिन दिँदैन।
संविधानमा महिलाका धेरै हकअधिकार समेटिएको सुनेकी छु त्यो हकअधिकार विधिको शासनबाट अगााडी बढ्न माताले सद्बुद्धी दिउन्। एउटा कलाकर्मीको रुपमा चिनिनँ पाउँ।
प्रकाशित मितिः २०७२ कात्तिक ३ गते मङ्गलवार
Comment Here!