चार जना छोराछोरीसहित श्रीमतीलाई घर निकाला
भूकम्पपछि महिलामाथि हुने हिंसामा वृद्धि
सीताराम अधिकारी
धादिङ, कात्तिक ३ । नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक पटक बलात्कारको प्रयास समेत गरेकाले घरमा बस्न नसक्ने अवस्था आएपछि सन्तानको सुरक्षाका लागि घर छाडेको बताउनुभयो ।
पतिले तीन छोरी र दुई वर्षीय एक छोरालाई आइतबार राति कुटपिट गर्दै घर निकाला गरेका थिए । छिमेकीका घरबाट दुई वर्षीय छोरालाई दूध ल्याएर खुवाउन ढिला गरेको भन्दै कपाल समातेर भुत्लाउँदै मुड्कीले छातीमा हानेर कुटपिट गरेको पीडितले नलाङ प्रहरी चौकीमा सोमबार जाहेरी दिएकी थिइन् ।
घटनापछि सहयात्री समाजले सञ्चालन गरेको नलाङस्थित स्नेह केन्द्रमा पुगेकी पीडितलाई श्रमिानले सोही स्थानमा आएर मानसिक रुपमा समेत कुटपिट गर्ने र सन्तानलाई अपशब्द बोली गाली गरेका थिए ।
अभियुक्तले यसअघि पनि पत्नीलाई कुटपिट गरेका थिए । उनकी पत्नी चोटपटक लिएर स्नेह केन्द्रमा आएको र उपचार गरी घर पठाइएको जानकारी दिँदै स्नेह केन्द्रका इन्चार्ज इन्दिरा रेग्मीले पारिवारिक पुनर्मिलन गराएर घर निकालिएकाहरुलाई घर पठाउने योजना रहेको जानकारी दिनुभयो ।
महिलामाथि हुने हिंसामा वृद्धि
गत वर्षको तुलनामा जिल्लामा वैशाख १२ को भूकम्पपछि महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको सहयात्री समाजले गरेको सर्वेक्षणले देखाएको छ ।
आर्थिक वर्ष ०७१÷७२ मा ३५ घरेलु हिंसाको घटना भएकामा भूकम्पपछि छ महिनाको अवधिमा ११२ घटना भएको सहयात्री समाजले सोमबार सार्वजनिक गरेको छ । गत एक वर्षमा बलात्कारका तीन, जबर्जस्ती कारणी उद्योगका सात, बोक्सी आरोपका कुटपिट छ र बहुविवाहका १९ गरी महिलामाथि हुने सबै किसिमका हिंसा १०५ छन् ।
भूकम्पपछिको अवधिमा मात्र बलात्कार सात, बलात्कार प्रयासका चार, बोक्सीको आरोपका पाँच लगायत महिलामाथि हुने सबै किसिमको हिंसाको घटना छ महिनाको अवधिमा १६० वटा रहेको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।
सो अवसरमा प्रजिअ दीपक काफ्ले र प्रहरी नायब उपरीक्षक सविन प्रधानले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रहरीले नागरिक संस्थाको सहकार्यमा अभियान थाल्न लागेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा सर्वेक्षणमा देखिएको जस्तो घटना दर्ता नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक ३ गते मगंलवार
Comment Here!