आयआर्जनमा जुट्दै मधेशका महिला


प्रकाशित मिति :2015-10-21 12:31:21

महिला खबर
बुटवल, कात्तिक ४ ।  मधेशका धेरै महिला अझैपनि घरको चारपर्खालभित्र सिमित छन् । परपुरुषअगाडि मुख समेत देखाउन सक्दैनन् । यस्तै नियती भोगेका रुपन्देहीको विकट गाविस बोधबारको ललितपुरका महिला भने अहिले आयआर्जनमा जुटेका छन् । अघिल्लो वर्षसम्म चुरा टिका किन्न पतिको मुख ताक्नुपर्ने महिलाले आयआर्जनका काम थालेपछि आफ्नो खर्च मात्रै होइन घरपरिवारको खाने गर्जो पनि टार्न थालेका छन् ।
आयआर्जनको काम सुरु गर्ने महिलाको ३० जनाको समूह छ । करिब २ वर्षअघि गठित त्यो समूहको नाम उनीहरूले सरस्वतीमाई स्वावलम्बन समूह राखेका छन् । समूहका उनीहरू कसैले कुखुरा, कसैले बाख्रा त कसैले बंगुर पालेका छन् । साँझबिहान घरको चुलोचौकोमा बिताउने महिलाले दिउसो आफूले पालेका पशुपंक्षीको स्याहार गर्छन् ।

यसअघि घरबाहिरको काममा ननिस्कने महिला आयआर्जनका काममा लागेपछि गाउँमा मात्रै होइन आफ्नो काममा जिल्ला सदरमुकाम भैरहवासम्म एक्लै आउन थालेका छन् । ‘सुरुमा व्यवसाय कसरी गर्ने भन्ने बारेमा तालिम लियौं ।’ समूहकी अध्यक्ष बच्ची भुज भन्छिन् ‘अहिले कुखुरा , बाख्रा सुंगुरका औषधी र दाना लिन पनि आफैँ सदरमुकामसम्म जान र किनेर ल्याउन सक्ने भएका छौं ।’

समूहमा आवद्ध भएका महिलाले सापटी लिन मासिक २० रुपैयाँ वचत थालेका छन् । वचत रकम सस्तो व्याजमा समूहमै लगाउने गरेका छन् । आयआर्जन कसरी गर्नेभन्नेबारे उनीहरूलाई स्टोम फाउन्डेसनको सहयोगमा एवीसी नेपालले तालिम दिएको छ । व्यवसाय गर्नका लागि विपन्न महिलाले रकम जुटाउन नसकेपछि बीउ पुँजी पनि दिएको छ । बीउ पुँजी रकम ५४ हजार ५ सय रुपैयाँ हो । यसलाई महिलाले सस्तो व्याजमा ऋण लिएर उनीहरूले आयआर्जनका काम थालेका हुन् । परियोजना संयोजक मनोज लामिछानेले महिलाको चेतनाको विकासबाट महिलासँगै सो गाउँलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन परियोजनाले काम गरेको बताए ।‘यसमा महिला पनि निकै उत्साहित भएर लागेका छन् ।’ उनले भने ।

आयआर्जन कसरी गर्ने र व्यवसाय कसरी बढाउने भन्नेबारे महिलालाई सिकाउन र सहयोग गर्न ललितपुर गाउँमा रुपान्तरणीय कक्षा चलेको छ । सामाजिक परिचालकले महिला समूहलाई साताको एक दिन २ घण्टा पायक पर्ने ठाउँमा जम्मा गर्छन् । त्यसमा समस्याबारे छलफल गराउने र समाधानका उपाय पत्ता लगाउन सहजिकरण गर्ने काम हुन्छ । यसकै कारण घरको चुलोचौकोमा मात्रै रुमल्लिएका महिला आयआर्जनका काममा लाग्न सकेको सदस्य सोनमती धवलले बताइन् ।
आफ्नो तथा घरपरिवारजन्य आयआर्जन र विकासको काम मात्र होइन बोधबारको ललितपुरका यी महिलाले गाउँको विकासमा पनि योगदान

गर्न थालेका छन् । सामूहिक रुपमा काम गर्दा विकासमा देखिएका ठूला समस्यासमेत सुल्झाउन थालेका छन् । सांघुरो धुले बाटो त्यहीपनि खाल्डा परेपछि हिड्न नसक्ने भएको बाटोलाई महिलाकै पहलमा फराकिलो बनाइएको छ । महिलाकै पहलमा गाविसले भुइमा बसेर पढ्न बाध्य मुस्लिमहरूको धार्मिक विद्यालय मदरसा गौसिया अहिले शुन्नतका बालबालिकालाई बस्ने चकटी र कार्पेटको व्यवस्था गरेको छ । एवीसी नेपालले खेलकुद र शैक्षिक सामग्री दिएको छ । समूहकी अध्यक्ष बच्ची भुजले आयआर्जनमा थालेपछि घरमा मात्रै होइन गाउँलेले महिलालाई हेर्ने दृष्टिकोण नै फेरिएको बताइन् । भनिन् ‘ आम्दानी गर्न र समूहमा जुटेर काम गर्न थालेपछि घरव्यवहार र गाउँ विकासका काममा हाम्रो पनि आवाज सुन्न थालिएको छ ।’

प्रकाशित मितिः २०७२ कात्तिक ४ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: