सविता श्रेष्ठ
काठमाडाैं, कात्तिक ५ । सबैले बिदा पाएर घरपरिवारसँग बसेर दसैं मनाईरहदाँ सञ्चारकर्मी भने आफ्नो काममा खटिएका हुन्छन्। कम भन्दा कम बिदा मिल्ने पेसामा कार्यरत भएकोले उनीहरु चाडपर्वको समयमा पनि काममा नै व्यस्त हुन्छन्। यसै सन्दर्भमा रहेर महिलाखबर डटकमले दशैं कसरी मनाउँदै हुनुहुन्छ भनेर पत्रकार महिलाहरुसँग कुराकानी गरेका छौं।
यो वर्षको दसैंमा घर जाने मन छ : अनिता बिन्दु, नेपाल टेलिभिजन
दसैं धेरै चाडपर्वहरू मध्येको निकै रमाईलो चाड हो। टाढा टाढा भएका आफन्त भेटघाट हुने, पीङ खेल्ने, रमाईलो गर्ने, मिठो खाने पर्व हो। तर, यो वर्ष नेपालीहरू खुशियाली साथ दसैं मनाउन सक्ने देशको अवस्था छैन।
अभावको समस्या बढी छन्। मेरो माईती घर स्याङ्जा र घर बारा हो। बिहे गरेको १ वर्ष मात्र दसैं घरमा मनाएको छु। यो वर्षमा घर जाने योजना थियो। तर संभव होला जस्तो छैन। अघिल्लो वर्षजस्तै काठमाडौंमा नै दसैं मनाउनु पर्ने हुन्छ जस्तो छ। विगत १५ वर्षदेखी मिडियामा छु।
टेलिभिजनमा काम गर्ने भएकोले चाडपर्व खासै बिदा नै हुँदैन। दसैंमा साथीभाई आफन्त, परिवारसँगै हुँदा रमाईलो लाग्छ। कहिँलेकाँही त बिदा लिएर बसौं। घरपरिवारसँग रमाईलो गरौं भन्ने लाग्छ।
तर, मिल्दैन। टिकाको दिनमा पनि कार्यालय जानुपर्छ। टिका लगाउन पनि सँधैं हतारमात्र हुन्छ। टिका लगाउन नि सबै आफन्तकोमा पुग्न सकिदैंन। मेरो कामको बारेमा घरपरिवारले जागिर नै यस्तै छ भनेर बुझ्नु भएको छ। त्यसैले रोकतोक केही गर्नुहुँदैन। दसैंको समयमा पनि काममा खटिनुपरे पनि रमाईलो मानेर आफ्नो जिम्मेवारी पुरा गर्दै आएकी छु।
लामो छुट्टी लिएर दसैं मनाएको याद छैन : पुनम पौडेल, कान्तिपुर टिभी
सञ्चार क्षेत्रमा काम गर्न सुरु गरेपछि चाडपर्व राम्रोसँग मनाउन पाएको छैन। मिडिया क्षेत्रमा लागेको १८ वर्ष भयो। १३ वर्षदेखी कान्तिपुर टेलिभिजनमा छु। चाडपर्वको समयमा आफ्नो जिम्मेवारी झन् बढी हुन्छ। काठमाडौंको बासिन्दा भएकोलेे पनि विशेष गरी दसैंमा कामको चाप हुन्छ।
काठमाडौं बाहिरका साथीहरूलाई घर जानुहुन्छ। त्यसैले बिदा लिएर जाने साथीहरूको ड्युटी पनि अफिसमा बस्नेले गर्नुपर्ने हुँदा चाडपर्वमा काम पनि धेरै हुन्छ। दसैंको टिकाको दिनमा पनि कार्यालय जानुपर्छ। हरेक दसैंमा टिका लगाउन सँधै हतार हुन्छ। कुनै वर्ष टिका लगाएर कार्यालय जाने गरेको छु।
कुनै वर्ष कार्यालय गएर काम गरेर टीका लगाउन घर आउँछु। टीका लगाएपछि फेरि अफिस जान्छु। लामो छुट्टी लिएर, फुर्सदमा बसेर, धेरै रमाईलो गरेर दसैं नै मनाउन पाएको छैन। चाडपर्वको समयमा घरमा चाडपर्व मनाउने तयारी गर्न सहयोग गर्न समेत गर्न भ्याउँदिन।
ड्युटीका कारण आफन्तहरू सबैकोमा टीका लगाउन जान पनि संभव हुँदैन। अहिले त परिवार तथा आफन्तले नै यसको जागिर नै यस्तै भन्ने भएका छन्। कोही आफन्तकोमा टीका लगाउन गईएन भने जागिरले नभ्याएर आएन भनेर बुझ्छन्। यो वर्षको दसैंमा पनि बिहान, दिउँसो तथा बेलुकीको सिफ्ट अनुसार ड्युटी गरेर दसैं मनाउने हो।
बिदा लिएर दसैं मनाएको छैनः ग्रीष्मा राजभण्डारी, इमेज टेलिभिजन
दसैंमा पनि कार्यालमा गएर काम गर्नुपर्दछ। १५ वर्षदेखी सञ्चार क्षेत्रमा कार्यरत रहदाँ अहिलेसम्म बिदा लिएर दसैं मनाएको छैन। मेरो घर काठमाडौं मै हो।
त्यसैले दसैंमा काठमाडौं बाहिरका साथीहरूलाई घर जान प्राथमिकता दिने गरेकी छु। अहिले टेलिभिजनमा समाचार प्रस्तोताहरूको संयोजक छु।
८ जना समाचार प्रस्तोता छौं। दसैंको समयमा हामी ४ जना मात्र हुन्छौं कार्यालयमा खटिने। त्यहि भएर साथीहरूको ड्युटी पनि थपिएको हुन्छ। घरपरिवारमा समय दिन खासै सकिन्न। टिकाको दिनमा पनि पालो गरेर टिका लगाउने मेसोे मिलाउँछौं।
काठमाडौंमा नै रहने साथीहरू पालो गरेर अष्टमी, नवमी र दशमीको दिन मध्ये १ दिन मात्र बिदा लिन्छौं। यो वर्षको दशैं पनि विगतमा जसरी नै कार्यालयमा नै खटिएर बित्नेछ। चाडपर्वमा घरमा पनि कामको व्यस्तता बढ्छ। घर र अफिस दुवै तिर खटिनुपर्दा कामको चाप बढि हुन्छ। अफिसपछिको फुर्सदको समयमा भने घरमा सहयोग गर्छु।
छुट्टी मिलाएर घर जाने गरेकी छु : सविना कोइराला, न्युज २४ टिभी
१० वर्षदेखि सञ्चार क्षेत्रमा छु। ६ वर्षदेखी न्युज २४ टेलिभिजनमा आबद्ध छु। यो वर्षको दसैंमा दाईको बिहे परेकोले दसैं अष्ट्रेलियामा मनाउँछु। दसैं र तिहार यो वर्ष विदेशमा मनाउने मेसो मिलेको छ।
त्यसैले एक महिनाको समय विदेशमा नै बित्ने भएकोले आफूले सञ्चालन गर्ने कार्यक्रम तयार गरिसकेकी छु। एक महिनाको लागि कार्यक्रम तयार गरिसकें। यसअघिको दसैंमा पनि घर टाढा भएकोले छुट्टी लिन्थें।
ललितपुर माईत र पाल्पा घर भएकाले चाडपर्वको समयमा काठमाडौंमा हुने साथीहरूलाई जिम्मेवारी दिएर दसैं मनाउन घर जाने गर्दथें। दसैंको समयमा बढीमा एक साता घर जाने बिदा पाईन्छ।
घर जाँदा आफूले सञ्चालन गर्ने कार्यक्रम त बनाएर नै जान्छु। नियमित कामहरू साथीहरूले गरिदिन्छन्। चाडपर्वको समयमा परिवारसँगै हुँदा रमाईलो हुन्छ। आफन्त तथा मान्यजनको हातबाट टीका, आर्शिवाद लिँदा खुशी लाग्छ। साथीहरूले ड्युटी मिलाएर गरिदिने भएकोले घर जान पाईन्छ। सञ्चार क्षेत्रमा काम गरेपनि चाडपर्वमा परिवारबाट टाढा हुनुपरेको छैन।
प्रकाशित मितिः २०७२ कात्तिक ५ गते बिहीवार
Comment Here!