कसैले सोल्टीना कसैले कान्छी भनेर जिस्क्याउँछन्


तेस्रोलिङ्गीको ‘तिरस्कार’ यात्रा

प्रकाशित मिति :2015-10-23 12:09:50

खेमा बस्नेत

धनगढी, कात्तिक  ६। धर्मराज शर्मा (मलिना) १० वर्षका थिए । चल्चल र विछट्टै स्वभावका । उनकै शब्दमा भन्ने हो भने उनी फरक चरित्र बोकेका ट्यालेन्ट केटा ।

उनलाई केटा भनेको सुन्दा चित्त दुख्दो रहेछ । अझ, बुहारी भनेको सुन्दा भने निकै खुशी हुन्थे । उनैलाई थाहा थिएन, किन त्यस्तो हुन्छ ।

gg (2)आखिर १० वर्षे बालक न हुन् शारिरीक र भावनात्मक गुण कसरी छुट्याउनु ? निकै मुस्किल थियो । दाङ जिल्लाको पवनगरमा २०४७ सालमा जन्मेका धर्मराज हाल २५ वर्षका भए । जति उनी बढ्दै गए, त्यति  नै उनको स्वभाव बदलिदै गयो । जसरी एक विरुवाले आफ्नो स्वरुप फेर्दै जान्छ ।

२५ वर्षअघि केटा भएर जन्मेका उनी २५ वर्षपछि केटी भएर हुर्किन् । युवतिको मनस्थिति अनुभूत गर्दै यहँसम्म पुगे । यद्यपी यस्तो हुनुको कारणको उखरमाउलो जिज्ञासा अनुत्तरित भएर बस्यो ।

उनैले नबुझेको आफ्नै स्वभावको कारणले समाज, साथीभाई, शिक्षक र आफन्तबाट विस्तारै उनीमाथि तिरस्कार सुरु हुुन थाल्यो । धेरैले उनलाई छक्का भन्न थाले, कसैले सोल्टीना त कसैले कान्छि भनेर जिस्काउन थाले ।

छक्का भनेको के हो उनलाई थाहै थिएन, उनलाई लाग्थ्यो त्यो भनेको के हो किन उनलाई यसरी भन्छन् ? र पनि मानवीय संवेदना न हो, बारम्बार रुखो बचन रोपिएपछि आफैमा दःख्न थाले, निरन्तर । अनका पीडा र समस्या सुन्ने कुनै मान्छे त के भगवान नै छैन जस्तो लाग्थ्यो उनलाई । एक्लै आशु झार्नु एकमात्र विकल्प थियो साथमा ।

‘यो म माथिको विभेद र लाल्छना हो या व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप ? उनी सोच्थे ।
सामाजिक विभेद विस्तारै उकालो लाग्यो ,अगेनोमा राखेको पानीमा तापक्रम बढे जस्तै । उसो त मलिनाको स्वभाव पनि पहिलेको भन्दा अझ बदलिदै गयो । आफूमा केटीको जस्तो गुण पाउन थाले,पुरुष भन्दा केटी साथिसँग आकर्षित हुन थाले । विडम्बना उनी केटी साथीसँग बस्न सक्दैन थिए, किनकी आवरणमा पुरुषको लेपन थियो ।

उनको स्वभाव र व्यवहारप्रति साथीहरू बढी जानकार थिए । त्यसैले विभेदकोे समाना पहिले साथीहरूबाट गर्नुपर्‍यो । ‘बाटोघाटो हिँड्दा डुल्दा जिस्काउनेको कमी हुन्थेन् । मानौ म स्वतन्त्र छैन् ।’ उनी विगतलाई सम्झदै भन्छन् ‘म हरेकको लागि ठट्यौलो गर्ने पात्र हुँ जस्तो लाग्यो । त्यसैले त विद्यालय आउँदा वा जाँदा कि सबैभन्दा पहिले त कि सबै गइसकेपछि जानुपथ्र्यो ।’

एक दिन कुरा हो, धर्मराज कक्षा ५ पढ्थे । विद्यालय छुट्टि भइसकेको थियो । उनको घर पुग्न करिब ४५ मिनेट लाग्थ्यो । सबै साथीहरू गइसकेकाले आज कसैको केरकार विनै जान पाउनेमा उनी खुशी थिए । उनी घरतिर लागे ।

अफसोस, उनको खुशी ४५ मिनेट टिकेन । सधै जिस्काउने केटा साथी उनलाई पर्खेर बसेको रहेछ, जिस्काउनको लागि । धर्मराज त्यो दिन पनि मुक्त रहन सकेनन् । पीडै–पीडा सहेर घर पुगे । धर्मराजले गाउँमा प्रथामिक विद्यालयबाट कक्षा ८ उत्तिर्ण गरे । एसएलसीसम्मको पढाई गर्न अर्को छिमेकी गाउँको विद्यालयमा पढ्न जानु पर्ने भयो ।
1933836_101072443242380_8004098_n(1)
उनले छिमेकी गाउँमा रहेको ज्ञान ज्योती माध्यमिक विद्यालयमा भर्ना गरे । ‘संगै के ल्याई बुढी, ‘भाग्य’ भने झै त्यहा उनीमाथि झन विभेद हुन थाल्यो । त्यसकोकारण उनले आत्महत्याजस्तो कठोर निर्णय लिने सोचमा पुगे । ‘प्रिन्सिपलले समेत बुबालाई बोलाएर निकाला गर्न खोजे । उनको यो व्यवहारपछि त्यो दिन आत्महत्याको प्रयास गरे ’ उनले भने ‘ एक जनाले साथीले मलाई बचाउँनु भो ।’

उच्च शिक्षाको लागि काठमाडौं बसाइको क्रममा पनि सहदोर मामाको छोराबाटै तिरस्कारको सामना गरेको उनले सुनाए ।

तिरस्कार बढ्दै गयो । उमेर चढ्दै गयो । उनी भित्र स्वभाविक चाहना विकास हुन थाल्यो यौन चाहना ।  अर्थात समानलिङ्ग प्रति ।
आफूमा उत्पन्न समलिङ्गी प्रतिको आकर्षण र यौन चाहनाले उनलाई अचम्म लाग्थ्यो । उनी एकपटक पुनःआफूमा  देखिएको स्वभाव र गुणप्रति अनुत्तरित भए ।

‘जब मेरो उमेर पनि बढ्दै गयो । म भित्र यौनका अनुभुतिहरू सुरू हुन थाले, तर, समानलिगं प्रति । म आफै अचम्ममा पर्थे, के भएको होला ? गहिरिएर सोच्थे ।’  उनले भने तर, उत्तर कहिल्यै पाउन सकिन ।

कक्षा १२ को अन्त्यतिर उनको जीवन नै बदलिन पुग्यो । २२ वर्षको उमेरसम्म केटा भएर बाध्यताले ठाटिएका उनको अब त्यो सबैरुप बदलिने बाला छ । किनकी उनले आफूभित्रको मान्छे चिनिसकेका छन् । तर, उनीसँग  संकुचन र अर्धचेतनाले निसास्सिएको समाजमा खुलेर आउन मात्रै चुनौति थियो । काठमाडौंमा बन्द कोठामा यही चुनौति र अनिश्चियको जिन्दगीलाई जेनतेन सम्हाल्दै बसेका थिए उनी ।

केही दिनपछि उनी बस्ने घरमा नयाँ डेरावालको आगमन भयो । उनैले धर्मराजको जिन्दगीबाट काडा हटाइ दिए । सुरुसुरुमा एक अर्काप्रति हेराहेर मै सिमित थियो, उनीहरूको चिनजान । जब नयाँ मान्छेले चिया खान आफ्नो कोठामा बोलाए, त्यसपछि धर्मराजले चिने, उनीहरू त बिडिएस्का कर्मचारी पो रहेछन् । ब्लु डाइमण्डा सोसाइटी अर्थात् निलहिरा समाज जो यौन अल्पसंख्यक, तेस्रो लिङ्गी र समलिङ्गीको हकहितको लागि लड्छ ।

निलहिरा समाजसँग घुलमिल भएपछि धर्मराजको जीवनमा नयाँ किरणले छोपी सकेको थियो । त्यतिमात्रै होइन,् अब उनी र्धमराज शर्माबाट मलिना बनिसकेकी छिन् ।
उनले बिडिएसबाट पाएको शिक्षा, ज्ञान र अनुभवबाट आफू तेस्रोलिङ्गी  भएको थाहा पाइन् । यसले दुई दशकदेखि उनीभित्र रहेको अनुत्तरित प्रश्नको समाधान समेत ग¥यो । तेस्रोलिङ्गी भएकैकारण आफ्नोे स्वभाव अरुको भन्दा फरक हुँदै आएको रहेछ भन्ने उनले थाहा पाइन् ।

‘वनको चरी बनमै रमाउँछ’ भनेझै निलहिरा समाजको सम्पर्कमा पुगेपछि मलिनालाई आफ्नो संसार पाएको अनुभूति गरीन्’ उनले भनिन्  ‘यसैमा लागेर काम गर्नुपर्छ भन्ने सोचाई आयो ।’
त्यतिमात्रै होइन्, निलहिरा समाजको साथपछि तिरस्कृत भएर हिड्नुपर्ने समस्याको पनि समाधान भएको उनी बताउँछिन् । निल हिरा समाजले अब केटा होइन् केटीको रुपमा खुलेर हिड्न आत्मबल पनि दिएको थियो ।

‘बिडिएस्(निलहिरा समाज)मा गएपछि मलाई आफ्नै संसार पाए जस्तो भयो । म एकदमै खुशी भए, मैले आफुजस्ता थुप्रै मान्छेलाई भेटे । अनि मैले यौनिकता, लैगिंकता र अधिकारको बारेमा पनि बुझ्ने मौका पाएँ । बिस्तारै म मा आत्मविश्वास बढेर आयो र आफुले जुन खालको पीडा सहेकी थिए त्यसलाई कम गर्न लाग्नु पर्छ भन्ने सोचाई मनमा पलायो, अनि म पूर्ण स्वतन्त्रताका साथ महिला  भएर हिड्न थाले ।’ आफ्नो पहिचान खुलाएर हिड्न सक्ने भएपनि मलिनामाथि पारिवारिक समस्या भने उस्तै थियो ।

आफू महिलाको पहिरनमा हिडेको घर परिवारलाई सह्य छैन् । यस विचमा उनले थुपै्र मानसिक, सामाजिक र आर्थिक र लैङ्गिक विभेद सहनु परेको बताउँछिन् ।  यही कारणले मलिना आफ्नो घर जानको लागि अहिलेसम्म मोटर चढेकी छैनन् । घर आगनसम्म गाडी मोटर पुग्ने भएपनि उनलाई त्यो हर्ष न विस्मात भएको छ । बस चढ्दा, सबैले चिनेका हुन्छन्, बस चढ्दा ओर्लदा विभिन्न लान्छना सुन्नुपर्ने भएकाले मलिना त्यसो भन्दा हिडेरै बाटो काट्छिन् ।

घरपरिवार समाजले सजिलै स्वीकारेको भए कति रमाइलो हुन्थ्यो, लाग्छ उनलाई । तर, एकछिन उनी सोच्छिन कल्पनाको यात्रा कति सम्भव र सजिलो ?
मलिना धेरै पटक २ घण्टाको बाटो पैदल पार गरेकी छिन् । उसो त उनी निल हिरा समाजमा आवद्ध भएपछि गाउँ जान सकेकी छैनन् । मन नभएर पनि होइन्, जे सोचेर गइन्छ त्यो व्यवहार कमै पाइन्छ आजकाल गाउँमा त्यसैले ।

उनका दाजु मलेसियमा काम गर्छन् । एक पटक बुबालाई फोन गरे । साहेद दसैँको मौकामा । दाईको कुरा सुनेपछि बुबाको मन बदलियो । त्यसपछि उनीसँग बुबाले गर्ने व्यवहारमा फरक पर्‍यो । दसैँको मौका थियो । राजधानीबासी सबै आफ्नो गन्तव्य सोज्याउन थाले । जन्मदिने आमा बुबाबाट टिका थाप्ने रहर मनिलालाई पनि किन नलाग्दो हो । उनी पनि बस चढेर घरको बाटो लागिन् ।  आफू महिलाभएको अनुभूति गर्दै महिला बनेकी मनिला घर जादा धर्मराज नै बनिन् अथवा केटाको पहिरनामा । घर पुग्न दुइ घण्टा छँदै उनी ओर्लिइन् ।  अगुल्टाले हानेको कुकुर विजुली देखेर तर्सन्छ भनेझै विगतको तिरस्कार मनिलाले भुलेकी थिइनन् । त्यसैले सुविधा भएर पनि उनी हिडेरै जानुपर्ने भयो । घरमा बुबाले ढोग समेत स्वीकारेनन् । उनको एउटै सर्त थियो, मनिलाले कपाल काट्नु पर्छ । मनिला अफसोसमा परिन् । आफ्नो चाहना वा स्वतत्रता ठूलो की आमा बुबाको आदेश ? लामो समयपछिको सोचाईपछि उनी आमा बुबाको भनेको मान्न तयार भइन् । नचाहेरै आफ्नो चाहनामाथि ढुङ्गा प्रहार गर्न तयार भइन्, र कपाट काटिन् ।

कपाल काटेर पनि बुबा खुशी नदेखिएपछि मनिलामाथि ठूलो चोट पर्‍यो । न त बुबालाई नै खुशी देख्न सकिन न आफैलाई सन्तुष्टि दिन ।
घरमा उनकी दिदी पनि आएकी थिईन् । माइतीमा टिकाटालो गर्न । संगै भान्छा पनि । सानो भन्छाले मनिलालाई सोधे ‘मामा तपाईलाई  त सबैले हिजडा भन्छन्, तपाई हिजडा हो र ?

सानो बच्चाको कुरा सुनेपछि उनी छागाबाट खसेजस्तो भयो । साहेद त्यो उनको दसैँ नभएर दशा हो । तर उनी बोल्न सकिनन्, आँखाबाट आँशु झार्दै बसिन । उनीसँग भगवानलाई सराप्नु बाहेक विकल्प पनि त थिएन ।

चारैतिर सबैले दसैँको खुशीयाली बनाउन थाले । उनको घरमा पनि धुमधाम नै थियो । मनिलालाई भने देखावटी बनेको थियो,दसैँ । घरका सबैले विभिन्न तरिकाले बुझन् थालेका थिए । त्यसैले आफूलाई कताकता एक्लो महसुस हुँदै थियो । उनीप्रति आक्रोसित भएपनि आमाको स्नेहमा कमी थिएन । यत्तिकैमा आमाले भनिन् ‘कान्छा त त कपाल लामो गरेर होला, पल्लो गाउँको हिजडा जस्तै देखिएको छस् ?’
आमाको कुराले उनलाई साह्रै पीडा दियो । र पनि मज्जाले हासेर आमालाई सान्तवना दिए ।

‘आखिर आमाले बुझेको भनेको त्यहि हिजडा र छक्का न हो  ? तेस्रोलिगिं र समलिगिंको  बारेमा के थाहा ? उनको सरलता देखेर दुःख पनि लाग्यो,’ उनले भनिन् । मनिलाले कपाल काटेको बारेमा साथीहरूले सोद्थे । तर, उनले स्टेट गर्दा जलेपछि पुरै काटेको जवाफ दिइन् । घरमा आफूमाथि परेको दवाव वा विभेद जे भनिए पनि त्यो उनले कसैलाई भन्न चाहिनन् ।

मनिलाले घर परिवार, समाज साथीभाईबाट मात्रै होइन्, राज्यबाट अझ बढी विभेद सहनु पर्‍यो ।  पढाईमा अब्बल उनी नेपालमा बसिखाने बातावरण नपाएपछि विदेशीने सोच बनाइन् । तर, साथीले सुझाए बमोजिम उनी लोकसेवाको तयारी गर्न थालिन् ।

लोकसेवा फारम भर्न पनि उनले अप्ठेरोको समाना गरिन् । महिलाको पहिरनमा गएकी उनले खुल्लाबाट फारम भरेको देखेपछि एकजनाले महिलाको कोटाबाट किन नभरेको भनेपछि उनलाई समस्या भयो । लामो समयको रस्साकस्सीपछि हाकिमलाई सम्झाएर उनले प्रवेश पत्र पाइन् ।

मनिलाको व्यक्तिगत संक्रमण यात्रा केही हदसम्म पार लाग्दै आएको छ । उनी अब समाजमा तेस्रोलिङ्गीका रुपमा खुलेरै काम गर्न सक्छिन् । आफ्नो स्वभावको अस्पष्टता समेत अरुलाई बुझाउने भइसकेकी छिन् । तर, तस्रो लिङ्गीले पाउनुपर्ने सम्मान, हक अधिकार अझै पाउन नसकेको उनको गुनासो छ ।

मनिलासँग कुरा गर्दा दसैँ आउन  केही दिन बाँकी छ । आमाबुबाले आफूमाथि फरक सोच राखेपनि यस पालीको दसैँमा उनी घर जाने उनी बताउँछिन् । आमाबुबा सबैभन्दा ठूला हुने भन्ने बुझाई राख्ने मनिला आफूले बुझाउन नसक्दा पनि केही असमझदारी उत्पन्न भएको बताउँछिन् ।

 परिवार र समाज र राष्ट्रको हितको लागि लागिरहने भन्दै उनले आफूहरूलाई पनि परिवार, समाज र राष्ट्रको मायाको खाँचो रहेको बताइन् । ‘मैले घर परिवारलाई केही बुझाउन सकेकी छैन् । परिवारमा सकारात्मक बाताबरणको सिर्जना गर्नेछु’ उनले भनिन् ‘यसपालि बोलाए पनि नबोलाए पनि दसैँमा घर जान्छु ।’

प्रकाशित मिति : २०७२ कात्तिक ६ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: