भत्ताले पुग्दैन, परिवारले हेर्दैन : विधवा महिलाको पीडा
कैलालीमा मात्रै १३ हजार ६ सय विधवा
्खेमा बस्नेत
कैलाली,कात्तिक ७। कैलाली मनहरा ७ की ५२ वर्षीया गणेशदेवी खड्काको श्रीमान् वितेको ७ वर्ष भयो। श्रीमान् वितेपछिको उनको जिवन सुखमय बन्न सकेन। समाज र छोरा बुहारीले लान्छना र अपहेलित हुनुपरेको उनी बताउँछिन्।
‘उहाँ वितेपछि कस्तो छ आमा भनेर एक वचनसम्म सोधेका छैनन्, उनले भनिन् ‘म एक्लै बस्छु, दुई नातिनी मसँगै बस्छन् आफूहरू अहिले भारतमा गएका छन् तर, आफ्ना छोरीहरूका लागि समेत खर्च पठाउँदैनन्।’
उनले आफू एकल महिला भएपछिको पीडा आँसु बगाउँदै सुनाउन थालिन्। ‘अर्को छोरा बुहारी नजिकै बस्छन्, राती सुत्न पनि दिँदैनन्, रक्सी खाए ढोका हान्ने, गाली गर्ने गर्छन्।’
आफूलाई पाल्न मजदुरी गर्ने गरेको बताउँछिन्। सरकारले एकल महिलालाई भनेर छुट्टयाएको मासिक रु ५ सय ४ महिनामा बैंकवाट बुझ्ने गर्दछन्। तर त्यो पैसाले आफूलाई नपुगेको गुनासो उनीहरूको छ । ‘चार महिनामा २ हजार आउँछ, नुन तेल, चामल किन्न पनि पुग्दैन हामी एकल महिलालाई सरकारले दिएको न त भत्ताले नै पुग्छ, न परिवारले नै हेर्छ।’
समाज र परिवारले एकल महिलालाई नकारात्मक दृष्टिले हेर्ने गरेको उनको भनाइ छ। छोरा बुहारीले आफूमा आएको जिम्मेवारी बोझका रुपमा हेर्ने थाल्छन्। परिवारको साथ नपाएका एकल महिला समाजले पनि हेर्प्ने गरेको उनीहरूको अनुभव छ ।
५५ वर्षीया पल्टीदेबी चौधरी पनि उस्तै पीडामा छिन्। ५ सन्तानकी उनी अहिले कान्छा छारोसँगै बस्छिन्। श्रीमान वितेपछि एक्लै बस्न थालेकी उनी छोरा बुहारीवाट पीडित भएको बताउँछिन्। कान्छो छोराले कमाएको पैसाले घर चलेको उनी बताउँछिन् ‘कहिले काही खानलाई हुँदैन, छोरा बुहारीसँग मागेमा गाली गर्ने छन्, उनले भनिन् …हामीसँग केही छ भनेपनि बुहारीले आएर आफै लग्छे ,मलाई कुनै मतलव गर्दैनन्।’ मैले पाउने ५ सय भत्ताले मलाई पुग्दैन। सरकारले अलि बढाएमा केही हुने थियो।
त्यसैगरी रुकमणी कुँवर भन्छिन् ‘केही खान, लाउन मन लागेको बेलामा छोरा बुहारीसँग हात फैलाउनु पर्छ।’ उनले भनिन् ‘पैसा माग्दा झर्केर बोल्छन्, ५ सय रुपैयाँ भत्ताले त पुग्दैन त्यही पनि अति आवश्यक कुरा किन्न मात्र पुग्छ।’
सरकारले एकल महिलालाई दिएको भत्ता बढाउनुपर्ने उनको माग छ। ‘कहिले काही धेरै विरामी हुन्छु’ ४ महिनाको २ हजार रुपैयाँ उपचार गर्नेमा जान्छ,अरु खाने लगाउनेको त नसोचे पनि हुन्छ।’
एकल महिला समूहकी क्षेत्रीय संयोजक बेद अवस्थिले एकल (विधवा) महिलाको अवस्था एकदमै दुखदायी रहेको बताईन्। उनले एकल महिलाका लागि सरकारले दिने भत्ता निकै कम भएकोले पटक–पटक दवाव दिँदा समेत नबढाएको गुनासो पोखिन्। ‘शहरका एकल (विधवा) महिला केही सक्षम भएर काम गरेर खाएका छन् तर गाउँघरका एकल महिलाको अवस्था एकदमै नाजुक छ।’उनले भनिन् ‘परिवारमा उनीहरू बोझ भएका हुन्छन् सरकारले शारीरिक रुपमा अशक्त त्यस्ता महिलाका लागि केही गर्न सकेको छैन।’
जिल्ला विकास समिति सामाजिक सुरक्षा भत्ता फाँटकी नायव सुब्बा कमला चन्दले कैलालीमा १३ हजार ६ सय विधवा महिला रहेको बताइन्। चन्दका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा १३ हजार ६ सय विधवा महिलाले ८५ लाख ४ सय भत्ता बुझेका छन्।
प्रकाशित मितिः २०७२ कात्तिक ७ गते शनिवार
Comment Here!