जो कमजोर उही बोक्सी


प्रकाशित मिति :2015-10-26 12:24:52

कमजोर र बेसाहारा महिलालाई बोक्सीको आरोप लगाएर विभिन्न खालका यातना दिने हाम्रो समाज अहिले पनि मध्ययुगीन बर्बरतामा रुमल्लिएको पाईन्छ ।

लोग्शरी कुँवर/सञ्जय खड्का

नेपाली सञ्चार माध्यमहरूलाई मात्र पनि आधार मान्ने हो भने कथित बोक्सीको आरोपमा महिलाले भोगेका पीडाको ठूलो पहाड छ । मूलधारका दैनिक पत्रिकाका पाना, टेलिभिजनका पर्दा र रेडियोका समाचार बुलेटिनहरूमा प्राय बोक्सी प्रथा जस्ता कुरीतिजन्य हिंसाका खबरहरू बारम्बार प्रकाशित तथा प्रसारण भइरहेका छन् ।

विज्ञानको युग भनिने एक्काईसौं शताब्दीमा बोक्सीको आरोपमा मध्ययुगीन बर्बरता प्रदर्शन हुनु मानव जातिको नाममा कलंक हो । बोक्सी भन्दै महिलालाई निर्घात कुट्ने, मानव मलमूत्र कोच्याउने, योनीमा लठ्ठी घोच्ने, समाजबाटबहिष्कार गर्ने, गाउँ निकाला गर्ने, कपाल मुण्डन गर्ने, नाङ्गो पारी गाउँ घुमाउने, सिस्नो पानी लगाउने, तताएको रातो फलामले डाम्ने, धारिला हात हतियार प्रहार गर्ने, जिउँदै जलाउने, कालो मोसो दलेर गाउँ घुमाउने जस्ता अमानवीय व्यवहार गरिएका छन् । बोक्सीको आरोप लगाएर कसैलाई पनि दुव्र्यवहार गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो ।

Captureनेपालको कानुनले बोक्सा बोक्सीको आरोप लगाउने कार्यलाई अपराध मानेको छ । बोक्सी आरोपविरुद्धको ऐन पनि आइसकेको अवस्था छ जुन प्रशंसनीय कार्य हो । तर बोक्सीको आरोपमा निर्दोष महिला प्रताडित भई नै रहनु नेपाली समाजको बिडम्बना हो । हुन त पुरुष पनि बोक्सो आरोपमा प्रताडित भएका थुप्रै घटना छन् । तुलनात्मक रूपमा पुरुष भन्दा बोक्सीको आरोपमा पीडा पाउनेमा एकल, गरिब र दलित महिलाहरू नै बढी छन् ।

अन्धविश्वास, गरिवी र पित्तृसत्तात्मक सोचका कारण नेपाली समाजमा बोक्सी प्रथा जस्तो कुरीतिजन्य हिंसा मौलाएको छ ।     अध्ययनका क्रममा बोक्सी आरोप लगाउने अन्य भित्री कारण पनि पाइएको छ । कसैसँग रिसइबी भएमा, अंशवण्डामा कुरा नमिलेमा, दाइजो नपाएमा वा घर समाजमा मनमुटाव भएमा पनि बोक्सीको आरोप लाग्ने लगाउने गरिएको पाइन्छ । घुस नदिएको वा माग अनुसारको रकम नदिएको निहुमा पनि बोक्सीको आरोप लगाइएको पाइन्छ जुन लज्जास्पद कुरा हो ।

२०५८ सालमा महोत्तरी जिल्लामा बोक्सी आरोपको आश्चर्यजनक र लज्जास्पद काण्ड भयो । झाँक्रीले दिएको मन्त्र युक्त प्रसाद खुवाएर बोक्सी पत्ता लगाउन गाँउ भरीबाट १०५ महिलालाई खुल्ला चौरमा जम्मा गरियो । १३ जनामा बोक्सीको लक्षण देखिएको घोषणा गरियो । झाँक्रीले १३ जनासँग दश दश हजार रुपैयाँ घुस मागे । १२ जनाले रकम बुझाए तर, गरिव अवस्थाकी मरनीदेवीले त्यति ठुलो रकम बुझाउन सकिनन् । फलस्वरूप उनलाई बोक्सी घोषित गरियो र अमानवीय व्यवहार गरियो ।

बोक्सी हुने मानिससँग शक्ति हुन्छ भन्ने गलत मानसिकताले पनि त्यत्तिकै जरो गाडेको पाइन्छ । एकातिर बोक्सीले चाहेको कुरा जे पनि गर्न सक्छ भन्ने विश्वास गरिन्छ भने अर्कोतिर त्यही शक्तिशाली कथित बोक्सीमाथि मानवीय मूल्य मान्यतालाई बिर्सेर हदैसम्मका अमानवीय व्यवहार गरिन्छ । बोक्सीमा शक्ति हुन्छ र उसले चाहेको खण्डमा अरुमाथि जे पनि गर्न सक्छ भनेर विश्वास गर्ने मान्छेले उसलाई पीडा हुने काम आफूबाट भएको खण्डमा आफूले पीडा भोग्नुपर्छ भन्ने हेक्का किन राख्न नसकेका होलान् ! शक्तिवान मान्छेलाई त छुन पनि नसकिनु पर्ने होइन र ? शक्तिशाली मानिने बोक्सीनै किन आफैँ कुटिन्छन् होला ? किन बोक्सीले आफूमाथि आइलाग्नेसँग जाई नलागेको होला ? के बोक्सी त्यति कमजोर हुन्छ जसले आफू मारिन लाग्दा मार्न आउने मान्छेलाई मार्न सक्दैन ? त्यसैले बोक्सी हुन्छ भनेर जसले विश्वास गर्छ, त्यो उसको अज्ञानताको पराकाष्ठ हो ।   

अहिले पनि नेपाली समाज, विशेष गरी गाउँ घरतिर, डाक्टर भन्दा धामी झाँक्रीलाई बढी विश्वास गर्ने गर्छ । आफन्त कोही बिरामी भए वा गाइवस्तु बिरामी भए भने धामी झाँक्रीलाई हेराउने र झारफुकबाट निको हुन्छ भन्ने विश्वास अहिले पनि ब्याप्त छ । यसको मूल कारण चेतना र गाउँस्तरमा डाक्टरहरूको कमी पनि हो । धामी भाँक्रीलाई हिरोको रूपमा लिने गरिन्छ र उसले जसलाई ‘त्यो बोक्सी हो’ भनेर तोक्छ, बिरामीका आफन्तका झुण्ड ती  महिलामाथि जाइलाग्ने गर्छन् । यसरी बोक्सीको पहिचान र आधिकारिक छाप वा ट्याग लगाइदिने काम धामी झाँक्रीले गर्ने गर्छन् । कुनै महिलालाई बोक्सीको आरोपमा अमानवीय दुव्र्यवहार गरिन्छ भने ती अबोध महिलालाई बोक्सी हो भनी ट्याग लगाउने अपराधी हो कि होइन ? उसलाई कठघरामा उभ्याउनु पर्छ कि पर्दैन ? तर, बिडम्बना कुनै निर्दोष महिलालाई बोक्सीको ट्याग लगाइदिने वा बिल्ला भिराइदिने ‘भिलेन’ धामी झाँक्रीलाई ‘हिरो’ भनी चित्रित गर्ने परम्परागत रुढिवादी सोचले पनि बोक्सी प्रथा जस्तो कुरीतिले प्रश्रय पाइरहेको छ ।जसको प्रत्यक्ष मारमा विधुवा, दलित, गरिब र वृद्धा बढी छन् ।

विभिन्न सामाजिक कुरीतिको नाममा कसैलाई दुव्र्यवहार गर्नुलाई नेपालको हालको कानुनले अपराध मानेपनि फितलो कार्यान्वयनले एकातिर पीडितले न्याय र राहत पाएका छैनन् भने अर्कोतिर सजाय पाउनु पर्ने पीडकले उन्मुक्ति पाइरहेका छन् । बोक्सीको आरोप लगाउने कार्य अपराध हो र यो कुनै कोणबाट मेलमिलापको विषय बन्नु हुँदैन, अपराधीलाई सजाय नै दिलाउनु पर्छ ।

Capture1

बोक्सी आरोपमा भएका घटनाको अध्ययन विश्लेषण गर्ने हो भने गरिव, दलित, विधुवा, राजनीतिक पहुँच नभएकालाई धेरै बोक्सी आरोप लाग्ने गरेको छ ।  जीवनको सहजताका लागि चाहिने सबै सुख, सुविधा सम्पन्नहरूको नियन्त्रणमा रहने तर आफ्नै शरीर आगोमा जल्दा समेत प्रतिकार गर्न नसक्ने बोक्सी मन्त्र चाहिँ गरिव, वेसहारा महिलामा पाइने ! त्यसकारण अरूलाई बोक्सीको आरोप लगाउने मान्छे नै सबैभन्दा तुच्छ, पापी, कमजोर, अन्धविश्वासी, अज्ञानी र अहितकारी मान्छे होे भन्न कसैले पनि हिच्किचाउनु हुँदैन । आफ्नो कमजोरी लुकाउन उसले आफूभन्दा कमजोरमाथि आरोप लगाउँछ ।

समाजमा व्याप्त रहको अन्धविश्वासको जरा उखेल्न अन्धविश्वासमा आधारित यस्ता कुरीति उन्मूलन गर्नका निम्ति सांस्कृतिक आन्दोलनको आवश्यकता देखिन्छ । तर सांस्कृतिक आन्दोलन केवल साहित्यक रचना र नाटक, गीत आदिमा मात्र सीमित भएर हुँदैन । राजनैतिक दलले सांस्कृतिक आन्दोलनलाई आत्मसात गर्दा यसको प्रभावकारिता अझ बढ्ने देखिन्छ ।

माक्र्सवादी विचारक आन्टोनियो ग्राम्सीले भने झैं रहस्यको भरमा भ्रमको खेती गर्नेहरू असहाय र गरिबका मुख्य शत्रु हुन् । यसलाई चिर्न रहस्यहरूको पर्दाफास गर्नुपर्छ । रहस्य रहस्यमै सीमित रह्यो भने अन्धविश्वासको जन्म त्यहींबाट हुन्छ । त्यसैले कुनैपनि रहस्यको कारण सम्बन्ध उद्घाटन गर्न सकिएमा मात्र अन्धविश्वासविरुद्ध विजय हासिल गर्न सम्भव छ । हिंसामुक्त समाजको निमार्णका लागि दण्डहीनताको अन्त्य नितान्त आवश्यक छ र यसका लागि बोक्सी आरोपविरूद्ध बनेको ऐनको कार्यान्वयन गर्नुको विकल्प छैन ।

सामाजिक अन्धविश्वास, कुरीति तथा कुप्रथालाई हटाइ सबै मानवअधिकार सबैका लागि र सधैँका लागि प्रत्याभूत तथा सुनिश्चित गर्न हामी सबै एकजुट भई अभियानरत हुनुको विकल्प छैन । यो नै समयको माग पनि हो ।

प्रकाशित मिति :  २०७२ कात्तिक ९ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: