खिमा बस्नेत
धनगढी, कात्तिक १० । घटस्थापनाका दिनदेखि सुरु हुने दसैँ पूर्णिमासम्म मानिसहरू उल्लासका साथ मनाउँछन् । सुखदुख एक आपसमा बाँड्छन् । केही दिनलाई भएपनि कार्यक्षेत्रको तनाव बिर्सेर मानिसहरू आरम गर्छन् ।
सुदूरपश्चिममा पनि अघिल्लो वर्षजस्तै यसवर्ष पनि दसैँको रौनकमा कमी आएको छैन् । दसैँ र तिहार मनाउनको लागि बाहिरीएका आफन्तजनहरू घर फर्किएका छन् । सिमानाकाबाट प्रवासी नेपालीहरू घर फर्कनेको लस्करनै लागेको छ । तर, पश्चिम तराईका कृषकले भने दसैँलाई धेरै समय निकालेर मनाउन पाएका छैनन् । धानबाली भित्राउनुपर्ने र गहुँ छर्ने कामको चटारोले दसैँकोलाई थोरै समय दिएर मनाएको उनीहरूको भनाइ छ ।
दसैँको दोस्रो दिन अर्थात् एकदशीको दिनमा पनि दसैँको टिकाको लागि बजारमा मानिसहरूको आवतजावत बाक्लै थियो तर,धनगढीको मनेहरामा बस्ने लक्ष्मी चौधरी भने धान झाँट्नमा व्यस्त थिइन । लिपपोत गरेर चिटिक्क बनाएको घर बाहेक दसैँ मनाएको कुनै प्रमाण बाहिरबाट देखिदैन थियो । आगनमा बनाएको धानको कुन्यूबाट धान निकाल्दै झाँट्दै गरेकी लक्ष्मीले आफूहरूलाई कामले व्यस्त बनाएको बताइन् ।
खेती किसानी गर्ने मानिस फुर्सदमा मजदुरी लगायतका काम गर्ने भएकाले उनीहरूलाई बाली समयमै भित्र्याउनु जरुरी हुन्छ । त्यसैले उनीहरूलाई अरु भन्दा खेतीपाती समयमै लगाउनु बढी उपयुक्त लाग्छ । ‘हामीहरू मजदुरी पनि गर्छाैं । धान भित्र्याएर, हिउँदेबाली लगाएपछि काममा जानुपर्ने भएकाले दसैँ भन्दा पनि कामलाई बढी महत्व दिनुप-यो’ उनले भनिन् ।
धान भित्र्याउने चटारो भएपनि दसैँ धुमधामका साथ टिका र जमरा लगाए मनाएको उनले बताइन् । लक्ष्मी एक्लैले धान झाँट्ने जिम्मा लिएकी रहेछन् । उनका श्रीमानको भागमा भने गोरुको रेखदेख र खेतको काम छुट्याएको थियो । लक्ष्मीले धान झाँटिरहेको बेला उनका श्रीमान घर छेउँको खेतमा काम गर्दै थिए । उनले भनिन् ‘हामीले मिलेर काम गर्छाैं । दसैँको दिनपछि काममा लागि सकेका छौं ।’
कैलालीका ग्रामिण क्षेत्रका मानिसहरूलाई पनि धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । सबैतिर काम भएकाले दसैँको दिन बाहेक धेरै समय उनीहरुसँग छैन् । कृषकहरू धान झाँट्ने, बोक्ने, मिलसम्म पु-याउने, खेतमा पानी सिचाइ गर्ने, पराल थन्क्याउने, खेत जोत्ने लगायतका काममा व्यस्त हुन थालेका छन् ।
बाली स्याहोर्ने वेला भएकाले परदेशी गएकाहरू पनि फर्केका छन् । कामको व्यस्तताले मानिसहरू घरमा भेटिदैनन् । बालबालिका समेत कुनै न कुनै काममा लागेको भेटिन्छ । खेतबाट धान काटेर घरमा ल्याइ झाँट्नेहरू मात्रै घरमा भेटिन्छन् । कैलालीको उर्माको उर्मी बस्ने चैती रानालाई अहिले बोल्ने फुर्सद पनि छैन् । धान झाँटेर बुहारीसंगै धान बताउन व्यस्त रहेकी चैतीले आफूहरूसंग धेरै कुरा गर्न फुर्सद नभएको बताइन् ।
एक विगाह जमिनमा लगाएको धान भित्र्याए पनि गहुँ र मसुरो छर्ने तयारी भइरहेको उनले बताइन् । ‘धेरै दिनसम्म रमाइलो गरौं भने काम छुट्छ’ उनले भनिन् ‘एक दिन भन्दा बढी दसैँको लागि समय दिन सकिएन ।’ उनले दसैँको दिनपछि सबै काममा लागिसकेको बताइन् ।
त्यसैगरी धनगढी मनेहरा गौरी टोलकी मिना चौधरीलाई पनि कामको हतारो भइसकेको छ । फुर्सदमा मजदुरी काम गर्दै आएकी उनी खेतीको काम सकेर बजारको काममा फर्कने सोचमा छिन् ।
कामको व्यस्तताले दसैँमा घर लिपपोत गर्न समय नपाएकी उनले यतिवेला घर पोत्दै थिइन् । उनले दसैँको छुट्टी धेरै नभएकाले भोलीदेखि काममा जाने बताइन् । ‘दसैँ त रेष्ट टाइम जस्तै भयो’ उनले भनिन्, दसैँको अघिल्लो दिनसम्म काममा व्यस्त थियौ, पछिल्लो दिनबाट पनि काममा लागिसकेका छौँ । एक दिन मात्रै टिकाटालो गरी रमाइलो ग-यौं ।’
प्रकाशित मिति २०७२ कात्तिक १० गते मंगलवार
Comment Here!