वचतले बदलियो जीवन


प्रकाशित मिति :2015-10-27 12:21:10

वचत समूहहरूले लगानी गर्दै, सीप सिकाएर महिलालाई आर्थिक रुपमा सशक्त बनाएका छन् । यसले महिला हिंसा घटाउदै लगेको छ र घरपरिवार तथा समाजमा महिलाको हैसियत बढाएको छ । समग्रमा बचत समूहले महिलालाई आत्मसम्मान र पहिचान सहित बाच्न सिकाएको छ ।

दीपक ज्ञवाली

Deepak gyawaliगृहिणी दुर्गा ज्ञवाली अहिले बेफुर्सद छन् । घरधन्दा सक्योे कि बत्ती कात्छिन् । बत्ती बेचेरै वार्षिक एक लाख रुपैयाँसम्म कमाउँछिन् । घरखर्च यसबाटै चल्छ । पतिले कमाएको वचत हुन्छ । रुपन्देहीको दयानगर गाविस वैधौलीकी दुर्गासहित पूजा, सरिता र सीताले ७ वर्ष अघिदेखि व्यावसायिक रुपमा बत्ती कात्ने काम थालेका छन् । यसका लागि शान्ति दिप महिला वचत समूहबाट ५ हजार रुपैयाँ सापट लिएका थिए । घरधन्दा सकेर बत्ती कात्ने पाँचै जनाको आम्दानी वार्षिक एक लाखको हाराहारीमा छ । ‘धेरै लगानीमा ठूलो व्यवसाय गरेर जोखिम मोल्नु भन्दा आफैँले मासिक जम्मा गरेको रकम लिएर बत्ती कात्न थालेका हौं’ दुर्गाले भनिन् ‘यही व्यवसायमा अहिले भ्याइनभ्याइ छ ।’

छपियामा व्यावसायिक बत्ती कात्ने अहिले दर्जन महिला समूह छन् । उनीहरूले कातेका बत्तीको बिक्रीको जिम्मा शान्ति दिप वचत तथा ऋण महिला विकास सहकारी संस्थाले लिएको छ । यसअन्तरगत नै उनीहरूको वचत समूह पर्दछ । सहकारीले ३ सरे बत्तीको ३ हजार, ५ सरेको ४५ सय, ७ सरेको ६५ सय, ९ सरेको ८५ सय तथा ११ सरेको १० हजार ५ सय रुपैयाँ तोकिदिएको छ । व्यवस्थापक विना सुवेदी महिलालाई व्यवसायमा सहज होस् भनेर सहकारीले नै बिक्रीकोे जिम्मा लिएको बताउँछिन् ।
mahila hastakala 1-1
गाउँ गाउँमा सञ्चालित महिला वचत समूहमा सहभागी हुन थालेपछि घरधन्दामा रुमलिएका रुपन्देहीका धेरै महिला व्यवयायी बनेका छन् । परनिर्भर महिला आत्मनिर्भर बनेका छन् । हिंसापीडित महिला सम्मानित भएका छन् । त्यसमध्येकी हुन् मक्रहर गाविस रामनगरकी विष्णु खत्री । सामान्य लेखपढ मात्रै जानेकी विपन्न विष्णु १० वर्षअघि वचत समूहमा आवद्ध भइन् । मासिक एक सय रुपैयाँ जम्मा गर्ने समूह पछि प्रगतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था बन्यो । सहकारीले सिलाईकटाई तालिम दियो । सहकारीकै लगानीमा ८ वर्षअघि सिलाई पसल खोलिन्। पसलबाट अहिले मासिक २० हजार रुपैयाँजति कमाउँछिन् । ‘पैसा कमाउन थालेपछि घरपरिवार र समाजमा हेर्ने दृष्टिकोण र व्यवहार नै फेरिएको छ’ खत्री भन्छिन् ‘पहिले पहिले नबोल्नेहरू अहिले नमस्कार गर्छन् ।’

मासिक वचत गराएर गृहिणी महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन रुपन्देहीका सबै गाविस र नगरमा महिला वचत समूह खोलिएका छन् । व्यवसाय गर्न घरबाट सीप सिक्ने र रकम पाउने अवस्था नभएका महिला छनोट गरी समूहमा राखिन्छन् । त्यस्ता २२ हजार ३ सय ५ महिला समूहमा आवद्ध छन् । उनीहरू अन्तरगत ३ हजार ९ सय ७८ वचत समूह छन् । आर्थिक उन्नति र सशक्तिकरण संगसंगै गर्न भन्दै महिला तथा बालबालिका कार्यालयले बचत समूह बनाएको हो । महिलालाई जुटाएर सामूहिक रुपमा मासिक वचत गराउने र सीप तथा आयमूलक कार्यक्रम संचालन गरेर आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा चेतनशील बनाउनु यसको उद्देश्य हो । वचत समूह मिलेर बनेका ४ सय ५० वटा समिति छन् । समिति क्रियाशील हुँदै अहिलेसम्म २६ वटा महिला विकास सहकारी संस्था दर्ता भएका छन् । शिक्षा र असल अभिभावकत्व नपाउँदा जोखिममा परेका ७ सय ३५ किशोरीलाई समेत किशोरी समूह बनाएर यसमा आवद्ध गरिएको छ ।

वचत समूहमा आवद्ध हुने महिलालाई महिला तथा बालबालिका कार्यालयले बेलाबेलामा सीप तथा रोजगारका कार्यक्रम संचालन गर्छ । यसले पनि वचत समूहप्रति महिला धेरै आकर्षित छन् । सीप सिकेका महिलालाई व्यवहारमा उर्तान बेलाबेलामा उद्यमशीलताका तालिम पनि संचालन हुन्छन् । विपन्न र जोखिमका महिलालाई  बीउ पूँजी समेत दिने व्यवस्था छ । विभिन्न समूहमा गरी अहिलेसम्म २४ लाख ९४ हजार रुपैयाँ बीउ पूँजी गएको छ । बीउ पूँजी पाउनेले वार्षिक २ प्रतिशत ब्याज मात्रै कार्यालयलाई बुझाउने नियम छ । त्यही ब्याज पनि फर्काएर गाउँकै वचत समूहमा पठाउने गरिन्छ । आर्थिक रुपले सवल नभै महिला अधिकार स्थापना गर्न सकिँदैन । कार्यालय प्रमुख उषा रावल भन्छिन् ‘महिला समूह मार्फत सीपमूलक आयआर्जनका काम अगाडि बढाएका हौं ।’

वचत समूहमा आवद्ध महिला आफैँले मासिक वचत गर्छन् । वचत भएको रकम कतिमा लगानी गर्ने आफैले तय गर्छन् । आवश्यकता हेरेर समूहभित्रै ऋण लिने र दिने पनि आफैँ गर्छन् । समूहमा मासिक १२ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज छ । सुत्केरी हुँदा, घरमा अफ्ठ्यारो पर्दा केही महिना निःशुल्क रकम सापटी दिने नियम पनि छ ।

IMG_9698गाउँ तहमा गठन भएका वचत समूहमा आवद्ध करिब ८ हजार महिलाले बाख्रा पालन, कुखुरा पालन, व्यावसायीक पशुपालन, च्याउ खेती, तरकारी तथा फलफुल खेती गरेका छन् । १ हजार बढी महिलाले घरेलु तथा साना उद्योग तथा व्यापार व्यवसाय गरेका छन् ।

वचत समूहका कारण सामूहिक व्यवसायमा समेत महिला लागेका छन् । त्यसको उदाहरण पशुपति महिला बहुउद्देश्य सहकारी संस्थामा आवद्ध  महिला ढाका बुनेर राम्रो आम्दानी गर्छन् । चिलिया र हाटी वनगाई गाविसका करिब एक सय महिलाले फुर्सदमा बेसार खेती गरेर कमाएका छन् । मधौलियाका २ दर्जन महिलाले कुसन बनाएर आय आर्जन गर्छन् । बजारोन्मुख क्षेत्रमा महिलाले एक्लाएक्लै पनि सिलाइकटाइ, बुनाइ, गुडीया बनाउने, अचार तथा दालमोठ बनाउनेलगायतको कामबाट पनि कमाएका छन् । प्रगतिशील महिला विकास बहुउद्देशीय सहकारी सस्था मक्रहरकी व्यवस्थापक जमुना गिरी समूहबाटै सीप सिक्न र व्यवसाय गर्न ऋण लिन पाइने भएकाले फुर्सदको समय उपयोग गर्दै धेरै महिला आयआर्जनमा लागेको बताउँछिन् ।

महिलालाई सीप सिकाएर व्यावसायीक बनाउन उदाहरणीय काम गरेको भन्दै नवदुर्गा, चिलिया र प्रगतिशील बहुउद्देश्य महिला सहकारी संस्था राष्ट्रिय रुपमा पुरस्कृत समेत भएका छन् ।

आर्थिक प्रगतिबिना महिला सशक्तिकरण दिगो हुँदैन । यही कुरालाई आत्मसात गर्दै नेपालमा आर्थिक वर्ष २०४२/०४३ सालबाट महिला विकास कार्यक्रम सुरु भएको हो । त्यसयता राज्यस्तरबाटै देशका ७५ वटै जिल्लामा वचत समूह महिला सशक्तिकरणको पर्यायवाचीका रुपमा नारा बनाएर लागू भएका छन् । कायक्रमले महिला परिचालक मार्फत गाउँ गाउँका महिलालाई समूहमा आवद्ध गर्छ ।  मासिक वचत गराउँछ । सुरुमा पतिले चुरा टिका किन्न दिएको पैसा समेत बचाएर महिला समूहमा आवद्ध भए । अहिले आफ्नै रकम लिएर पेशा र व्यवसाय गर्न सक्ने भएका छन् ।

महिलालाई समूहमार्फत आर्थिक विकासका कायक्रमसँगै महिला हिंसा न्युनिकरणका उपाय पनि सिकाइन्छ । महिला अधिकारको उपयोग र महिला सशक्तिकरणमा पनि प्रशिक्षण हुन्छ । समाजमा चलेका कुरीति र कुप्रथा हटाउन अग्रसर बनाइन्छ । रुपन्देहीमा महिला वचत समूहमा आवद्ध धेरै महिला हिंसाविरुद्धको अभियानमा लागेका छन् । कोही सामाजिक कार्यकर्ता त कोही नेता बनेका छन् । बचत समूहले महिलालाई आत्मसम्मान र पहिचानसहित बाँच्न सिकाएको छ ।

प्रकाशित मिति : २०७२ कात्तिक १० गते म‌ंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: