आन्दोलन र नाकाबन्दीका कारण लाखौं बालबालिकाको भविष्य जोखिममाः युनिसेफ
सिधा असर उनीहरूको शिक्षाको पहुँचमा
महिला खबर
ललितपुर, कात्तिक १३ । मुलुकको वर्तमान स्थितिका कारण लाखौँ नेपाली बालबालिकाको भविष्य जोखिममा परेको भन्दै यसले आफूहरू गम्भीर र चिन्तित भएको युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमी बताउनुभएको छ ।
‘विशेष गरी तराई क्षेत्र र यो वर्षको शुरुमै गएको भूकम्पबाट अति प्रभावित मध्य तथा मध्यपूर्वी पहाडी जिल्लाका बालबालिका अहिलेको बन्द हड्ताल र नाकाबन्दीले निम्त्त्याएको इन्धन अभावले झनै प्रभावित भएको उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभयो ‘यसले सबैभन्दा सिधा असर बालबालिकाको शिक्षाको पहुँचमा पारेको छ । भूकम्पपछि अहिलेसम्म ६ महिनाको अवधीमा विद्यालयहरू खास खुल्नुपर्ने दिनहरूभन्दा झण्डै आधा दिन मात्र खुलेका छन् । विद्यालयहरू बन्द भएका कारण मध्य तथा पूर्वी तराई र भित्री मधेशका नौ जिल्लामा मात्र पछिल्लो दुई महिनाको अवधीमा १६ लाखभन्दा बढी विद्यालय जाने बालबालिका नियमित पठनपाठनबाट वञ्चित भएका छन् । पछिल्लो ६ महिनामा पर्सा जिल्लाका विद्यालयहरू निर्धारित एक सय २२ दिनमध्ये जम्मा पाँच दिन मात्र खुलेका छन् ।’
वैशाख १२ को भूकम्पपछि प्रभावित जिल्लाहरूमा पाँच साताका लागि बन्द भएका विद्यालयहरूले त्यो समयको पठनपाठनलाई परिपुर्ति गर्न विदामा पनि कक्षाहरू सञ्चालन गर्ने प्रयत्न गरिरहेको तर इन्धन अभावका कारण ती विद्यालयहरू पुनः बन्द हुन बाध्य भएको उहाँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संसारका अन्य मुलुकका अनुभवले लामो समयसम्म विद्यालय नजाँदा बालबालिका विद्यालयमा नफर्किने र अन्ततः उनीहरूले सदाका लागि पढाइ छाड्ने उच्च जोखिम रहेको देखाएको उहाँको भनाई छ ।
‘आन्दोलनका कारण अवरोध भएको पठनपाठनको समयलाई मिलाउन तराईका धेरै विद्यालयहरूले गोप्य तरिकाले एकाविहानै कक्षा सञ्चालन गर्ने प्रयास पनि गरिरहेको र विद्यार्थीका रूपमा नचिनिऊन् भन्नाका लागि विद्यालयको पोशाक नै नलगाई बालबालिका विद्यालय जाने गरेको बिज्ञप्तिमा उल्लेख छ । । ‘लुकेर’ अध्ययन गर्नुबाहेक बालबालिकासँग अन्य उपाय नहुनु ज्यादै दुःखद कुरा हो । पढ्न पाउने बालबालिकाका अधिकारलाई वयस्कहरूले उल्लङ्घन गर्न नहुने र बालबालिकाले विद्यालयको पोशाक नलगाई विद्यालय जानुपर्ने बाध्यताले उनीहरूलाई प्रदर्शन र अवरोधका कारण हुन सक्ने परिणामको जोखिममा धकेल्छ’ विज्ञप्तिमा भनिएको छ ।
‘विगत १२ वर्षदेखि जारी बालबालिका शान्ति क्षेत्र हुन भनेर चलाईएको अभियानलाई गम्भीरतापूर्वक लिन युनिसेफले सबै पक्षहरूलाई आग्रह गरेको छ । बालबालिका राजनीतिक तनाव, अशान्त र द्वन्द्वको अवस्थाबाट मुक्त हुनुपर्ने भन्दै युनिसेफले हरेक समय बालबालिकाको शिक्षामा निर्विघ्न पहुँचको अधिकारजस्ता महत्वपूर्ण सिद्धान्तसम्बन्धी विषयमा उदाहरण स्थापित गर्नु सवै वयस्कहरूको दायित्व भएको जनाएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक १३ गते शुक्रवार
Comment Here!