जमुना वर्षा शर्मा
पोखरा, कात्तिक १३ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्राध्यक्ष बनेसँगै पोखराका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले महिलाबाट देश परिवर्तनको अपेक्षा गरेको प्रतिक्रिया दिएका छन् ।
सचेतना समाज पोखराका संयोजक सुरेन्द्र थापा मगरले महिला खबर डटकमसँग कुरा गर्दै जनताकी छोरी पहिलोपटक राष्ट्रको प्रमुख पदमा पुग्नु सबैका लागि गर्वको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो ऐतिहासिक जिम्मेवारीसँगै ऐतिहासिक दायित्व पनि अगाडि देखिएको छ । यो विषम परिस्थितिमा राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी अब खरो रुपमा उत्रेर राष्ट्रिय एकता र अखण्डताको लागि साझा व्यक्तित्व बन्नुपर्छ ।’
संविधान जारीसँगै देखिएको मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीले छटपटाई रहेका जनतालाई राहत दिन राष्ट्राध्यक्षले दलहरू विचको एकतामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने थापाले बताउनुभयो । राष्ट्राध्यक्ष भण्डारी राष्ट्रिय स्वार्थमा रहेर कदम चाल्ने अपेक्षा संयोजक थापाको छ ।
यसैगरी पत्रकार नारायण कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिला राष्ट्राध्यक्ष हुनु ऐतिहासिक र सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिनुभयो । उहाँले अहिले आएर महिलाको क्षमताको मुल्याकंन भएको बताउनुभयो ।
कार्कीले भन्नुभयो ‘संविधानले राष्ट्राध्यक्षलाई केही विवेकीय अधिकार दिएको छ, यसको विज्ञ सल्लाहकारबाट प्रयोग गरेर आफ्नो निष्पक्ष छविलाई सावित गर्नुपर्ने छ ।’
कार्कीले देश संकटग्रस्त अवस्थामा हुँदा र राजनैतिक दलबीच द्वन्द्वको स्थिति सृजना भएमा राष्ट्राध्यक्षले समन्वयकारी भूमिका खेल्नुपर्छ । त्यसका लागि उहाँ सक्षम हुनुहुँनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभयो ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले विद्यादेवी भण्डारी राष्ट्राध्यक्ष हुनु लामो समयदेखि महिला समानताका लागि उठिरहेको आवाजको परिणाम भएको प्रतिक्रिया दिदैँ भन्नुभयो ‘अब महिलाको युग प्रारम्भ भयो ।’ उहाँले यो सफलता अन्य महिलाका लागि प्रेरणा बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
देशभित्र देखिएको द्वन्द्व समाधानका लागि राष्ट्राध्यक्षकाे भूमिका सशक्त हुने विश्वास व्यक्त गर्दै थापाले भन्नुभयो ‘विधिको शासन र आर्थिक क्रान्ति विना देश विकास हुँदैन, राष्ट्राध्यक्षले यसमा जोड दिन आग्रह गर्दछु ।’
नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल भन्नुहुन्छ ‘नयाँ संविधान जारीसँगै राज्यका महत्वपूर्ण पदमा महिला पुग्नुले परिवर्तनको आभास भइरहेको छ । यो निकै सकारात्मक र स्वागतयोग्य छ । राज्यका महत्वपूर्ण दुई पदमा महिला आउनु भएको छ भने अब आगामी वैशाखमा प्रधान न्यायाधिशमा पनि महिला आउँदै हुनुहुन्छ । हामी महिलाशक्तिबाट देशमा परिवर्तन भएको देख्न चाहान्छौ ।’
पौडेलले अब राष्ट्रपति र सभामुखबाट पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षताका साथ निभाएर साझा व्यक्तित्वका रुपमा काम गर्नुहुने छ भन्ने विश्वास गरेको प्रतिक्रिया दिनुभयो ।
उहाँले संक्रमणकालको यो मोडमा महिला शक्तिको सम्मानले न्यायिक र समतामुलक समाजका लागि संविधान प्रदत्त कानुनको कार्यान्वयन हुनेमा आफू ढुक्क भएको बताउनुभयो ।
प्रकाशित मिति २०७२ कात्तिक १३ गते शुक्रवार
Comment Here!