सम्पत्तिका लागि अदालतको भर


प्रकाशित मिति :2015-10-30 12:56:17

श्रीमानको मृत्युपछि परिवारका सदस्यले आफ्नो नाममा सम्पत्ति नामसारी हुन नदिएपछि सुदूरपश्चिमका एकल महिला ठूलो समस्यामा छन् । केहीले अदालतमा मुद्दा हालेर सम्पत्ति लिए पनि धेरै महिलालाई अधिकार खोज्न अदालत जानुपर्छ भन्ने ज्ञान समेत छैन ।

प्रकाश सिंह

कैलालीे, कात्तिक १३ । अत्तरीया नगरपालिकाकी डम्मरादेवी बडेलाले एकल भएपछि पाउँनु पर्ने सम्पत्ति पाइनन् । ज्याला मजदुरी गरेर चारवटा बच्चाको पालनपोषण गरीरहेकी बडेलाले श्रीमान यज्ञराजको मृत्युपछि सम्पत्ति लिन परिवारसँग ठूलो संघर्ष गर्नुपर्‍याे ।

गाँउका भद्रभलाद्मी गुहार्दा पनि पाउनु पर्ने अंश नपाएपछि उनी अदालत पुगिन् । ससुरा देवबहादुर बडेलाले आफ्नो भागको सम्पत्ति नदिएको भन्दै उनले कैलाली जिल्ला अदालतमा अंश मुद्दा दिइन् । सम्पत्तिका लागि अदालत जाँदा घर झगडा बाहिर लगेकी, बिगे्रकी आइमाई भन्दै उनका कुरा काट्ने उत्तिकै भए । डम्बरा भन्छिन् ‘मेरो अधिकार लाग्ने सम्पत्ति देउ, बच्चा/बच्ची हुर्काउन समस्या पर्‍याे भन्दा समाजले पनि मलाई नराम्रो भन्यो ।’ अदालतले उनका पक्षमा फैसला गरेपछि तीन वर्षपछि उनले सम्पत्ति पाईन् ।

डम्मरा जस्तै सुदूरपश्चिममा श्रीमानको मुत्युपछि सम्पत्ति नपाएर एकल महिलाले न्यायिक निकाय धाउनु परिरहेको छ । श्रीमानको मृत्युपछि अर्को विवाह गर्छन् भन्ने धारणा र अन्य सामाजिक विभेदका कारण एकल महिलाले सम्पत्ति नपाउने एकल महिला सुदूरपश्चिम संयोजक बेद अवस्थी बताउँछिन् ।

एकल भएपछि सम्पत्तिमाथि अधिकार नपाएको भनेर मुद्दा लिएर आउने क्रम बढिरहेको कैलाली जिल्ला अदालतले जनाएको छ । श्रीमानको मृत्युपछि श्रीमतीलाई अंश नदिएको भनेर मुद्दा परिरहेको कैलाली जिल्ला अदालतका सुब्बा नवराज पाण्डे बताउँछन् ।

कैलाली मालाखेती ३ बस्ने रुक्मादेवी लुवारले पनि श्रीमानको मृत्युपछि सम्पत्ति पाईनन् । सम्पत्तिका लागि स्थानिय स्तरमा धेरै प्रयास गरेपनि ससुरा र जेठानीले दिन मानेनन् । अन्तमा उनी अदालत जान बाध्य भईन् । पटक—पटक गाबिस र स्थानीय अन्य निकायसँग आफ्नो भाग पाउनका लागि संघर्ष गरेपनि सम्पत्ति नपाएपछि अन्तमा अदालत जान बाध्य भएको रुक्माले बताईन् । उनी भन्छिन् ‘एकल हुँदाको पीडा निकै फरक हुँदा रहेछ, जीवनमा एउटा लडाइ जितेको जस्तो लागेको छ ।’ अदालतबाट आफ्नो पक्षमा फैसला भएपछि परिवार चलाउन सजिलो हुने रुक्माको बुझाइ छ ।

टिकापुर ८ की मीना शाह र टिकापुर ७ की सकुन्तला कार्कीले समेत अंश पाउँ भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा हालेका छन् । सम्पत्तिका लागि स्थानीय तहमा निकै पहल गरेको भएपनि अन्तमा न्याय नपाएपछि बाध्य भएर अदालत आउनुपरेको मीनाले बताईन् । अदालत जाँदा परिवार र समाजसँग संघर्ष गर्नु पर्नेमात्र होईन आर्थिक अभाव हुनेभएकोले विभिन्न समस्या भोग्नुपर्ने उनको बुझाइ छ । सुुदूरपश्चिममा श्रीमानको मृत्युपछि श्रीमतिलाई सम्पत्ति माथिको अधिकारबाट बञ्चित गरिने हुनाले उनीहरू अदालत जान बाध्य हुने गरेको अधिकारकर्मी एलिजा तुलाधरले बताउँछिन् । गरिखान भनेर जग्गा दिएपनि त्यो जग्गा उनीहरूका नाममा दर्ता गर्न नदिने गरिन्छ । तुलाधरका अनुसार आफ्नो स्वामित्वमा सम्पत्ति नहुँदा साँझ बिहानको छाक जुटाउन समेत महिलालाई समस्या पर्नेगर्छ । कत्तिपय ठाउँमा बच्चा ठुला भएपछि बच्चाको नाममा दर्ता गरीदिने सर्तमा मात्र सम्पत्ति छुट्टाई गरिखान दिने गरिन्छ ।

आफ्नो सम्पत्ति नहुँदा सँधै अर्काको घरमा ज्याला मजदुरी गरेर बच्चा पाल्न समस्या हुने रुक्मादेवी लुवार बताउँछिन् । एकल भईसकेपछि समाजले समेत फरक दृष्टिकोणले हेर्ने हुँदा अरुको सहयोग लिन समेत समस्या पर्ने उनको भनाइ छ । आफ्नो अधिकारका लागि परिवार र समाजसँग कठिन संघर्ष गर्नुपर्ने अवस्था अहिले पनि रहेको बाजुरास्थित एकल महिला समूहकी अध्यक्ष पार्वती बुढा बताउँछिन् ।

एकल महिलाका क्षेत्रमा सरकारी तथा गैर—सरकारी संस्थाले काम गरे पनि केही टाठा—बाठा महिलालेमात्र त्यसको फाइदा लिएको बाह््रबिस गाविसकी जशूदेवी सिंह बताउछिन् । पढेलेखेका महिलाले गाविसमा आउने बजेटका बारेमा जानकारी पाएपनि नपढेका धेरै महिलाले सरकारले एकल महिलाका लागि बनाएको कार्यक्रमका बारेमा कुनै जानकारी नपाउने सिंहको भनाइ छ ।

कैलालीको धनगढी नगरपालिका जुगेडाकी लक्ष्मी बिकलाई श्रीमानको मृत्युपछि समस्या थपियो । तीन वर्ष पहिले श्रीमानको मृत्युपछि पाँच सन्तान हुर्काउने जिम्मा उनको काँधमा आयो । एचआईभी एड्सका कारण श्रीमानको मृत्यु भएपछि उनले सामाजिक अपमान र सम्पत्तिको अभावको समस्या एकैचोटी भोगिन । एक कट्ठा ऐलानी जग्गामा सानो छाप्रो हालेर बेसकी उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको छाक टार्दै आएकी छन् ।

‘इट्टा भट्टामा काम गरेर ल्याएको पैसाले विहानबेलुकाको छाक टार्ने गरेका छाै‌ं, श्रीमान हुँदा उहाँले भारतबाट कमाएर ल्याएको पैसाले परिवार पाल्ने गरेका थियौं’, बिक भन्छिन् ‘अहिले सबै जिम्मा आफूमा आएपछि दुःख छ ।’ सोही गाउँकी पशुपति बिक पनि श्रीमानको मृत्युपछि आफ्नो जिम्मेवारी बढेको बताउँछिन् । इट्टा भट्टाको काम र धनगढी बजारमा ज्याला मजदुरी गरेर उनले चारवटा बच्चा पाल्ने काम गरिरहेकी छन् ।

श्रीमानको मृत्युपछि सुदूरपश्चिमका एकल महिलाले कस्तोसम्म पीडा भोग्नुपर्छ भन्ने यी केही उदाहरणहरू मात्रै हुन् । सुदूरपश्चिममा ७० प्रतिशत एकल महिला निकै पीडामा रहेको एकल महिला सुदूरपश्चिम संयोजक बेद अबस्थी बताउँछिन् । ।

बाजुरा बाह्रबिसकी एकल महिला लक्ष्मी साउदका भनाइमा, ‘दैनिक छाक टार्न धौ–धौ हुन्छ, पोषिलो खान पाउँदैनांै, बिरामी हुन्छांै तर, उपचार पाउँदैनौं । सरकारले दिने पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ताले चिया खान पनि पुग्दैन ।’

घर जग्गा उसको नाममा नामसारी गरेमा अर्को विवाह गर्छ, वा मनोमानी खर्च गर्छ भन्ने गलत बुझाईले महिलालाई सम्पत्ति नदिने गरिएको एकल महिला अधिकार सञ्जाल बाजुराकी अध्यक्ष पार्वती बुढा बताउँछिन् । थोरै महिला सम्पत्तिको लागि अदालत पुगेपनि धेरै महिलालाई कानुनी निकायमा गएर अधिकार पाइन्छ भन्ने समेत जानकारी नभएको क्षेत्रीय संयोजक बेद अवस्थी बताउँछिन् ।

प्रकाशित मिति : २०७२ कात्तिक १३ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: