महिला खबर
बुटवल, कात्तिक १५ । महिलाका लागि सुरक्षित वैदेशिक रोजगारीका लागि रुपन्देहीमा अभियान सुरु भएको छ । अवैध रुपमा भारतीय बाटो हुँदै वैदेशिक रोजगारीमा जाने र दुःख पाउने महिलाको संख्या बढ्दै गएपछि अभियान थालिएको हो । करिब २ वर्षदेखि सुरु भएको अभियानमा खाडी मुलुकमा वैदेशिक रोजगारीबाट फर्केका महिला सहभागी छन् ।
जिल्ला अन्य गाविसमा घटनागत रुपमा काम गरेका महिलाले साविकका १५ गाविसमा भने घरदैलो मै पुगेर सुरक्षित वैदेशिक रोजगारीका बारे जानकारी दिने गरेका छन् । सडक नाटक वडास्तरीय छलफलबाट सुरक्षित रोजगारबारेमा जानकारी दिने गरेको उनीहरूले बताए ।
अभियानमा खटिएका महिलाले आप्रवासी कानुन र वैदेशिक रोजगारको अधिकारका बारेमा प्रशिक्षण लिएका छन् । यसकै आधारमा विदेशबाट फर्केका महिला विदेश जान चाहने गाउँका जो कोही महिलालाई भेट्ने , कहाँ , किन जाने र कोसँग जाने पत्ता लगाएर वैध भए मात्र पठाउने काम गर्छन् । अभियानका लागि उनीहरूलाई आइएलओ र एबीसी नेपालले सहयोग गरेका छन् ।
गाउँबाट कुनै महिला वैदेशिक रोजगारीमा जाँदै छन् भन्ने थाहा पाएपछि नै वैदेशिक रोजगारीबाट फर्केका महिलाको उक्त समूह उनीहरूको घरमै पुगेर उनीहरूका अभिभावक तथा घरपरिवारका सदस्यलाई उनी विदेश जानुका कारण सोध्ने गरेको छ । कारण पत्ता लागेपछि कुन देशमा जाने , किन जाने र कसरी कोसँग भने सोधपुछ गर्ने गरेको उनीहरूले बताए ।
यस्तो सोधपुछमा दलाल मार्फत अवैधरुपमा जान लागेको भए व्यक्ति स्वयम्लाई तथा घरपरिवारलाई भनेर जानबाट रोक्ने गरेका छन् । ‘यत्तिले पनि नपुगे गाउँका अगुवालाई भनेर उनीहरूलाई सम्झाउने, दलाललाई पक्रन प्रहरीलाई सहयोग गर्ने गरेका छौं’ मधौलीयामा अभियान चलाएकी अभियानकर्ता तथा साथी शिक्षक चन्द्रा थापाले भनिन् ।
वैध तरिकाले जानेलाई पनि रोजगारीमा जाँदाका चूनौति र समस्याबारे सिकाउने र भरसक स्वदेशमै बसेर उद्यम गर्न प्रेरित गर्ने गरेको थापाको भनाइ छ । साथी शिक्षक धना पराजुलीले महिलालाई वैदेशिक रोजगारीमा जानु पुर्वनै सम्भावित चूनौति र सम्भावनाबारे सिकाउँदा विदेशको सट्टा स्वदेशमै श्रम गर्ने महिला बढेकोे बताइन् । शंकरनगर क्षेत्रमा सहयोगीको काम गरेकी उनले यसो गर्दा लहलहैमा जान खोज्ने रोकिन थालेको बताइन् ।
प्रकाशित मिति: २०७२ कात्तिक १५ गते अाईतवार
Comment Here!