पार्वती पाण्डे
कपिलवस्तु, कात्तिक १५ । अवसर पाएमा चुलो चौकोसँगै देश हाक्न महिलापछि नपर्ने कपिलवस्तुका महिला नेताहरूले बताएका छन् ।
गणतन्त्र नेपालको पहिलो महिला राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती संसदबाट निर्वाचित भएपछि जिल्लाका अगुवा महिलाले खुसी हुँदै यस्तो बताएका हुन ।
पहिलो पटक नेपालमा महिला राष्ट्राध्यक्ष र सभामुख भएकोमा अखिल नेपाल महिला संघ अत्यन्तै खुशी भएको अनेमसंघका केन्द्रिय सदस्य विमला घिमिरे बताउनु भयो । ‘राष्ट्राध्यक्ष भण्डारीलेनै महिला नेतृत्वमा पुग्नुपर्छ भन्ने मुद्धा उठाउनु भएको थियो , त्यही मुद्धा अहिले आएर पुरा भएको छ,’ उहाँले भन्नुभयो । गरिमामय पदमा पुग्नु भएका महिलाले सोही अनुसारको उदाहरणीय काम गरेर देखाउन नेता घिमिरेले आग्रह गर्नुभयो ।
उहाँले महिला इमान्दार र मेहनती हुने भएकाले जिम्मेवारीलाई राम्रोसंग बहन गर्न सक्ने क्षमता राख्ने तर्क गनुभयो । उहाँ भन्नुहुन्छ ‘महिलाले पुरुषलाई विश्वास गर्ने आफैलाई अविश्वास गर्ने परिपाटिले गर्दा पनि महिला पछाडि परेका हुन ।’ यसैगरी संघका जिल्ला अध्यक्ष मीना केसीले अव महिलाले आफैलाई विश्वास गर्ने र समान अवसर पाएमा महिला र पुरुष समान रुपले अगाडि बढ्न सक्ने बताउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो ‘सभामुख घर्तीले संसदमा बढी भन्दा बढी महिलाका आवाज बाहिर ल्याउने वातावरण तयार पार्नुपर्छ भने, राष्ट्राध्यक्ष भण्डारीले महिलाका सवाललाई विशेष ध्यान दिनुपर्छ ।’ राष्ट्राध्यक्ष र सभामुख महिला भएकोमा एमाओवादीका नेता सुमित्रा शर्माले खुसी व्यक्तगर्दै भन्नुभयो ‘महिलालाई अवसर दिए कुशलतापूर्वक देश चलाउन सक्ने क्षमता राख्छन् ।’
सबै पार्टीले महिलाको योगदानको कदरगर्दै अवसरका लागि सहयोग पुर्याएमा महिला नेतृत्वदायी पदमा पुग्ने शर्माले दाबी गर्नुभयो । राप्रपा नेपालका केन्द्रीय सदस्य विजय लक्ष्मी सिंहले महिलाले राष्ट्रको हितको लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने बताउनुभयो ।
सिंहले महिलाका समस्याहरू बुझेर महिला हक अधिकारका लागि काम उच्च पदमा पुगेकाहरूले काम गर्नुपर्ने आग्रह गर्नुभयो । नेपालको पहिलो महिला राष्ट्राध्यक्ष र सभामुख महिला हुनु गर्वको कुरा भएको महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुका अध्यक्ष मिना परियारको भनाइ छ । ‘महिलाले राष्ट्र हाँक्न सक्छन् भन्ने उदाहरण दिएका एमाले र एमाओवादीलाई आभार व्यक्त गर्दै अध्यक्ष परियारले भन्नुभयो महिला सक्षम हुँदै नेतृत्व सम्हाल्न तयार भएका छन ।’
प्रकाशित मिति १०७२ कात्तिक १५ गते आइतवार
Comment Here!