लक्ष्मी दर्नाल
सुनसरी, कात्तिक १५ । धरान पानवारीकी क्यान्सर पीडित बालिका सुजाता थामीले उपचारको लागि कतारबाट सहयोग पाएकी छन् । वैदेशिक रोजगारको लागि कतार पुगेका सुनसरीबासीले सञ्चालन गरेको सुनसरी श्रृजनशील बचत तथा ऋण सहकारी संस्था र संस्थामा आवद्ध व्यक्तिहरूले सहयोग गरेका हुन् ।
सुनसरी श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाले १३ हजार ८ सय ४६ रुपैयाँ र सुनसरीका चार जना युवाले संकलन गरेको ३१ हजार ५ सय १० रुपैयाँ गरी ४५ हजार ३ सय ५६ रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग रकम संस्थाका कोषाध्यक्ष अरुणकुमार केसीले हस्तान्तरण गर्नुभएको थियो । वैदेशिक रोजगारको लागी कतार पुगेका धरान पानवारीका अरुण कुमार केसी, धीरज गौतम (जीवन), वरुण केसी र देवान न्यौपानेले कतारमा नै थामीको उपचारका लागि सहयोग संकलन गरेका थिए ।
दसैँ मनाउन छुट्टिमा घर आएका अरुण कुमार केसीले आफैले क्यान्सर पीडित बालिका सुजता थामीलाई सहयोग गर्ने आफ्नो इच्छा पुरा भएको बताउनु भयो । केसीले भन्नुभयो ‘थामीको उपचारको लागि म लगायत संस्था र विशेष गरी पानवारीकै साथीहरू धीरज गौतम, वरुण केसी र देवान न्यौपानेको सहयोग गरेका हुने ।’
क्यान्सर पीडित थामीले आफ्नो स्वास्थ्य स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको र जम्मा १४ पटक किमो थेरापी गर्नुपर्नेमा ४ वटा किमो थेरापी गरिसकिएको बताइन । थामीको उपचारमा सुरूदेखि नै सहयोग रकम संकलन गर्दै आउनुभएकी महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले अहिलेसम्म एक लाख ३० हजार ३ सय ५६ रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ कात्तिक १५ गते आइतवार
Comment Here!